विद्यार्थीमाथि खेलबाड गर्दै परीक्षा बोर्ड

राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले पनि पूर्वजहरूकै पदचाप पछ्याउलान् ?

विद्यार्थीमाथि खेलबाड गर्दै परीक्षा बोर्ड

काठमाडौँ : सन् १९८९ मा शिक्षा ऐन पारित भएपछि नेपालमा उच्च माध्यमिक शिक्षा परिषद् स्थापना भएको थियो । त्यसलाई अहिले राष्ट्रिय परीक्षा बोर्डमा परिवर्तन गरिएको छ । अहिलेको बोर्डले २०७८ को कक्षा १२ को परीक्षा विश्लेषण गरेको थियो । उक्त विश्लेषणअनुसार ३ लाख ७४ हजार १५ जना कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । परीक्षामा उत्कृष्ट नतिजा सधैँजसो राजधानीभित्रका विद्यालयहरूले हासिल गर्दछन् । त्यसमा पनि उनै स्कुलहरूले गर्दछन् जो पहिला पनि हुने गर्दथे । यस्तो परिणाम सम्भव हुन्छ कि हुँदैन ? कसैले हुँदैन भने ऊ गलत छ किनकि यस्तै भैराखेको छ । राष्ट्रिय परीक्षा बोर्डले निकालेको परीक्षाको परिणामले त्यही भन्दछ । गोल्डन गेट, ट्रिनिटी, केएमसी, पिनाकल, प्रसादी, भीएस निकेतन, नोबेल, ह्वाइट हाउस, मेगाजस्ता काठमाडौँ उपत्यकाभित्रका पहिलेका कलेज र अहिले माध्यमिक विद्यालयहरूका सबै विद्यार्थी सबै उत्तीर्ण मात्र होइन, राम्रो ग्रेडमा उत्तीर्ण हुन्छन् । यसैगरी २ वटा विद्यालय यही सञ्चालमा बाँधिएका छन् ।
कसरी सबै उत्तीर्ण हुन्छन् ?
उल्लिखित निजी विद्यालयहरूले राष्ट्रिय परीक्षा बोर्डमा दादगिरी नै चलाउँछन् । नीतिगत रूपमा जेजस्तो प्रावधान भएको भए पनि यहाँका संस्थापकहरूले प्रश्नपत्र बनाउँछन् । प्रश्न मोडरेट गर्छन् । उनीहरूकै कलेजमा परीक्षाकेन्द्र राख्छन् र उनीहरूले चाहेको परीक्षकले कापी जाँच गर्छन् । यस्ता घटना सार्वजनिक भैराख्छन् तर अहिलेसम्म कसैका बारेमा छानबिन हुँदैन । कसैलाई कारबाही भएको छैन ।
२०६९÷०७० को प्रश्नपत्र नै बेचिएको खबर आएको थियो । दुर्गा अर्यालले प्रश्नपत्र बेचेको भनेर किटानीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा किटानी जाहेरी परेको छ तर अहिलेसम्म त्यसको कुनै छानबिन भएको छैन ।
कति बलिया ?
उच्चशिक्षा परिषद् हुँदाखेरि नै यो संस्था चर्चामा रहेको थियो । चर्चामा हुनुमा प्लस टु सम्बन्धन दिँदा ठूलो आर्थिक चलखेल, कर्मचारी नियुक्ति र बढुवा रहने गरेका थिए । यसको स्थापनाकालदेखि नै यो संस्था विवादमा रहेको थियो । २०५२ सालदेखि २०५६ सालसम्म डाक्टर तीर्थराज खनियाँ उपाध्यक्ष बनेका थिए । उनी आएपछि अनियमितताले छलाङ नै मा¥यो । उनले आफ्नो अनुकूलताका नारायण कोइरालालाई भित्र्याएका थिए । त्यही समयमा हालका सदस्यसचिव २०५३ सालमा महालेखाको खरिदारको जागिर छाडेर अधिकृतमा नियुक्त भएका थिए । पहिला सम्बन्ध शाखामा रहेका दुर्गाले महालेखामा काम गर्दा पैसा कसरी कमाउने भन्ने ज्ञान प्राप्त गरेका थिए । त्यो ज्ञानको भरपूर उपयोग सम्बन्ध शाखामा गरेको उनीमाथि आरोप छ ।
उनी केही समयपछि परीक्षा नियन्त्रण शाखामा सरुवा भएका थिए । त्यसपछि उनीमाथि आरोपहरू थपिँदै गए । २०५३ सालदेखि अहिलेसम्म दुर्गा पहिला सम्बन्ध, त्यसपछि परीक्षा उपनियन्त्रक अनि नियन्त्रक भए । केही समयका लागि उनी प्रशासनमा गए । त्यसपछि सदस्यसचिवमा नियुक्त भए । सदस्यसचिव भएको पनि ६ वर्ष पुगिसकेको छ । उनको कार्यकालमा जो शिक्षामन्त्री भए पनि उनका अनुकूल बने । पूर्वमन्त्री पद्मा अर्याल जो गृहजिल्लाकी हुन्, दुर्गा दिदीको साइनो लगाउने गर्छन् । अर्यालले विगतका सबैजसो शिक्षामन्त्रीसँग पैसाका आधारमा राम्रो सम्बन्ध बनाइराखे । माओवादीका शिक्षामन्त्रीहरू दीनानाथ शर्मा, गिरिराजमणि पोख्रेल, काङ्ग्रेसबाट बनेका शिक्षामन्त्रीहरू चित्रलेखा यादव, गोपालमान श्रेष्ठसँग राम्रो सम्बन्ध छ । पछिल्ला शिक्षामन्त्री देवेन्द्र पौडलसँग पहुँच पुगेको थिएन । दीनानाथकी छोरी कल्पनामार्फत सम्बन्ध कायम गरेका थिए । पछि त यस्तोसम्म हुन्थ्यो– देवेन्द्र पौडलकी श्रीमती सीधै परीक्षा बोर्डमा नै उनलाई भेट्न पुग्थिन् ।
दुर्गा अर्यालको आन्तरिक बढुवा पनि अवैध रहेको सर्वोच्च अदालतले फैसला गरेको हो । अधिकृतबाट उपसचिवमा उनी बढुवा हुँदा त्यसका विरुद्ध परेको मुद्दा नम्बर ८२३ लाई सर्वोच्चले २०६४ सालमा खारेज गरिदिएको थियो ।
कसरी हुन्छ आर्थिक लेनदेन ?
प्रश्नपत्रबाट सुरु भएको सेटिङ परीक्षा केन्द्र र प्रश्नपत्र जाँच हुँदै अन्त्यमा समपरीक्षण एकछत्र हुने गरेको छ । यही गरेबापत निश्चित तर नियमित रकम परीक्षा बोर्डका केही मान्छेको हातमा पुग्छ । त्यसैबाट मन्त्री पोसिँदै आएका छन् । अहिलेसम्म कुनै पनि मन्त्री चोखो रहेको छैन । परीक्षा नियन्त्रक वा सदस्यसचिवहरूका लागि सम्बन्धित निजी विद्यालयहरूले सेयर दिन्छन् । दुर्गा अर्यालले आफ्ना नातागोताका नाममा सेयर राखेका छन् जसको भरपर्दो प्रमाण रातो खबरमा सुरक्षित छ ।
पहिला परीक्षा बोर्डका कार्यकारीहरू नियुक्त हुँदा राजनीतिक पृष्ठभूमि खोजिन्थ्यो तर पछिल्लोक्रममा पैसा अगाडि आउने गरेको छ । शिक्षामन्त्रीलाई ५५ लाख भारु दिएर सदस्यसचिव नियुक्त भएका तथ्यहरू रहेका छन् । सदस्यसचिव मात्र होइन, उपाध्यक्ष, सदस्यसचिव र परीक्षा नियन्त्रक हुन ठूलै थैली पेस गर्नुपर्छ । त्यसको व्यवस्थापन धनी सम्धी र ठूलो निजी विद्यालयका मालिकले गरेका छन् ।
अब भन्नुस् परीक्षामा हुने यस्तो चलखेलले कक्षा १२ का लगभग ४ लाख विद्यार्थीको भविष्य कता पुगिराखेको छ ? नयाँ पार्टीका रूपमा एकाएक नेपाली राजनीतिमा देखापरेको राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले पनि उनका पूर्वजहरूकै पदचाप पछ्याउनेछन् भन्नेका शङ्का नगर्दा ठीकै होला ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :