सडकमा बृहत् अन्तरक्रिया

यही भदौ २९ गते नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) लगायत ९ पार्टी तथा संगठनको आयोजनामा काठमाडौं, रत्नपार्कस्थित शान्तिबाटिकामा सडकमै ‘प्रमको भारत भ्रमण र राष्ट्रियताको प्रश्न’ विषयक बृहत् अन्तरक्रिया सम्पन्न भएको छ । प्रम देउवाको भारत भ्रमणको क्रममा देउवा–मोदी ४६ बुँदे सहमतिको विरुद्धमा भएको सोही ‘सडक अन्तरक्रिया’ मा केही वक्ताका भनाइको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ – झनक श्रेष्ठ

दलालहरूको दरबार सिंहदरबारमा बम हान्नुपर्छ – धर्मेन्द्र बास्तोला, नेता, नेकपा
प्रम भारतसँग गरेका ४६ बुँदे सहमति राष्ट्रहितको विरुद्ध भएका कारण त्यसको विरोध गर्न हाम्रो पार्टीसँग यहाँ उभिएको छ । सार्वभौम राष्ट्रको सेनालाई घुमाउरो भाषामा भारतीय सेनाको हातमा राख्ने आपत्तिजनक सहमति गरेर देउवा फर्केका छन् । जनताले देउवा–मोदी सहमति खारेज गर्नुपर्छ । प्रमले कालापानी, लिपुलेकबाट भारतीय सेना हटाउने विषय उठान नै गरेनन् । देशको चाबी र सम्पत्ति भारतलाई सुम्पने चुनावमा जाँदा देशको विकास गर्छु भनेर जनतालाई मूर्ख बनाउने गरेका छन् । सानो देश भएर विकास नहुने होइन । युरोपमा साना देशहरू नै विकसित छन् । त्यसैले युरोपका देशहरूले सीमा अतिक्रमण गर्दैनन् । दलालहरूको दरबार सिंहदरबा मा बम हान्नुपर्छ । यी देश बेचुवाहरू हुन् । यिनीहरूलाई देशको माया छैन ।

माकेले निरन्तर राष्ट्रघात गरिरहेको छ –
रामसिंह श्रीस, नेकपा (क्रान्तिकारी माओवादी)
राजनीतिक समस्या मूल समस्या हो । विगतको राष्ट्रघात जनघातमा प्रम देउवाले पनि निरन्तरता दिएका छन् । २०७४ सालदेखि माओवादी केन्द्रले सरकारमा बसेर निरन्तर राष्ट्रघात गर्दै आएको छ । त्यसका विरुद्ध दृढतापूर्वक संघर्षमा जानुपर्छ । हाम्रो संघर्ष दलाल तत्वका विरुद्ध केन्द्रित हुनुपर्छ ।

देशभक्तहरू मिलेर लड्नुपर्छ  – रामप्रकाश पुरी, नेता, नेकपा (मसाल)
 
नेपाललाई भारतले उसको सुरक्षा एकाइको रूपमा हेरेको छ । यहाँका नेताहरू कुर्सी स्वार्थका लागि भारतसमक्ष लम्पसार गर्ने गरेका छन् । राणाहरूले कुर्सी स्वार्थकै लागि सन् १९५० को सन्धि गरेका थिए । कुर्सीकै लागि उनीहरूले गण्डक नहर सम्झौता, कोशी सम्झौता, माथिल्लो कर्णाली सम्झौता, अरूण तेस्रो सम्झौता गरेका छन् । भारतले सीमा क्षेत्रमा बनाएका बाँध र सडकका कारण नेपाल डुबिरहेको छ तर शासकहरू एक शब्द बोल्दैनन् । नागरिकता, संविधान हरेक विषयमा भारतले हस्तक्षेप गर्दै आएको छ । नेपालमा क्रान्तिकारी र देशभक्तहरू मिलेर अगाडि बढ्न आवश्यक छ ।

 

तिलाठीको भारतीय बाँध भत्काउनुपर्छ
– बुद्धिनारायण श्रेष्ठ, सीमाविद्
दक्षिण सीमानामा पूर्व र पश्चिम तीनैतिर भारततिर सीमा विवाद छ । भारतले नेपाल डुबाउने, चाहिएको जति पानी लग्ने, अरू छोड्ने गर्छ । तिलाठीमा बनाएको भारतीय बाँध सम्झौता खारेज गर्नुपर्छ । नेपाल डुबानमा परेको छ । त्यसलाई समाधान गर्ने भन्नुपर्नेमा एकआपसमा मिलेर काम गर्ने भनिएको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार पनि भारतले सिमानामा बनाएका बाँधहरू गैर–कानुनी छन् तर प्रम देउवाले भारतमा त्यो विषय उठाउन सकेनन् । सुस्तामा भारतले नेपालको १४९ वर्ग किलोमिटर जमिन अतिक्रमण गरेको छ । सरकारले आफ्नो जमिनको सुरक्षा गर्न सकेन ।

आम नागरिकलाई सैन्यकरण गर्नुपर्छ
– हिरण्यलाल श्रेष्ठ, परराष्ट्रविद्
नेपालमा अहिले अंगीकृत नागरिकहरूको हैकम चलेको छ । सुरक्षाको दृष्टिले पनि यो समस्याको विषय हो । हरेक प्रम भारत जाँदा अंगीकृतको पक्षमा बोलेर आउने गरेका छन् । नेपालमा जनसांख्यिक अतिक्रमण गर्ने, नेपाललाई नेपालभित्रै अल्पमत पार्ने र अन्ततः सिक्किम बनाउने रणनीति भारतको देखिन्छ । प्रम देउवाको भ्रमणले पनि त्यसैलाई मलजल गरेको छ । जनताले ‘पहाडिया, मधेसी भाइभाइ, सीमापारिका बाईबाई’ भनेका छन् । डुबान र अतिक्रमणका कारण सीमा क्षेत्रमा समस्या छ ।

तराई डुबानमा पर्दा मधेसी नेता भनिने, दावी गर्ने नेताहरू बोल्दैनन् । तिनीहरू कसरी मधेसी नेता हुन्छन् ? तिनीहरू त लैनचौरका नेता हुन् । जनताले उनीहरूलाई लैनचौरका नेता भन्छन् । प्रमले मोदीसँग गरेको सहमतिमा नेपाली सेना र भारतीय सेना मिलेर काम गर्ने भनेको डोक्लाम विवादमा नेपाल भारतको पक्षमा उभिन्छ भनेको हो । यो आपत्तिजनक छ । कालापानीमा भारतीय सेना छ । त्यो नेपालको भू–भागबाट भारतीय सेना हटाउनुपर्छ तर संयुक्त विज्ञप्तिमा त्यो पाइएन । मुद्दा नै छोडे जस्तो भयो । चीन र भारतको सम्बन्ध बिग्रनुमा विखण्डनकारी दलाई लामाको हात छ । त्यसप्रकारका विखण्डनकारी तत्वप्रति नेपाल सचेत रहनुपर्छ । देशभक्ति नभईकन देशको रक्षा हुन सक्दैन । देशको सुरक्षाको लागि १८ वर्षमाथिका सबै नागरिकलाई सैन्य तालिम दिनुपर्छ । त्यसले मात्र नेपालको बाह्य सुरक्षा सम्भव छ । नेपाली सेनाले मात्र नेपालको सुरक्षा सम्भव छैन । अब नेपालको सुरक्षाको लागि नेपालीले त्यसरी सोच्नुपर्छ । जनताको मत खरिद गर्न एमालेका बिष्णु पौडेलले २५ करोड, डा. बाबुराम भट्टराईले १५ करोड लिएका छन् ।

स्रोत : रातोखबर साप्ताहिक

०७४ भदौ २६ गते ७ :०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :