एउटा सुखद सन्देश

एउटा सुखद सन्देश

संसारभरका उत्पीडित जनता, श्रमिक–सर्वहारा वर्ग र उत्पीडित राष्ट्रहरू विद्रोह, क्रान्तिको माध्यमबाट साम्राज्यवादबाट मुक्ति चाहन्छन् । मालेमाले संसारका उत्पीडित जनता र सर्वहारा वर्गलाई मालेमावादी दार्शनिक, वैचारिक र राजनीतिक हतियार प्रदान गरेको छ । यही उद्देश्य पूरा गर्न संसारभरका मालेमावादीहरूले १३० औँ माओ दिवस उत्साहपूर्वक मनाएर क्रान्तिकारी जनसमुदायलाई एउटा सुखद सन्देश प्रवाह गरेका छन् ।
युक्रेनको मोहरा लगाएर छद्म रूपमा तेस्रो विश्वयुद्धको अभ्यास गरिरहेको अमेरिकी साम्राज्यवाद क्रमशः युक्रेनी जनतासँग हार्दै गएको देखिन्छ तर पनि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिका भ्रमण गरी रुसविरुद्ध हतियार र युद्धपोत भित्र्याउने सम्झौता गरेर आफ्नो युद्धपिपासु साम्राज्यवादप्रतिको बफादारी कायमै राखिरहेको समयमा साम्राज्यवादी सैन्य सङ्गठन नाटो युक्रेन ध्वस्त पार्न र संसारमा साम्राज्यवादी उत्पीडन लाद्दै क्रान्तिविरुद्ध मोर्चा कस्न कति सक्षम हुन्छ हेर्न बाँकी नै छ तर पनि कागजी बाघका रूपमा परिभाषित साम्राज्यवादी उद्दण्डताविरुद्ध उत्पीडित राष्ट्र र जनताको प्रतिरोधका लागि एक मात्र र अचुक अस्त्र मालेमावाद नै हो । यसको आवश्यकता र औचित्य अझ गहिरोसँग महसुस हुँदै गएको छ त्यही माओवादी दर्शनलाई आत्मसात गर्ने प्रतिबद्धतासहित नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) ले १३० औँ माओ दिवस संयुक्त रूपमा मनाएका छन् र विश्वकै उत्पीडित जनता र क्रान्तिकारीहरूलाई माओवाद अमर, अजेय छ र वैज्ञानिक समाजवादी क्रान्तिका लागि यो एक मात्र अचुक अस्त्र हो भन्ने सन्देश प्रवाह गरेका छन् । यसले अब क्रान्ति सम्भव छैन, आवश्यक छैन, अनिवार्य छैन भन्दै क्रमशः साम्राज्यवादको पाउमा लम्पसार पर्ने अवसरवाद, संशोधनवाद, संसदीय संशोधनवादी हर्कत र षड्यन्त्रविरुद्ध गतिलो बज्रमुक्का प्रहार गरेर नवीन र सुखद सन्देश दिएको छ ।
क्रान्तिकारीहरूले देशैभर संयुक्त रूपमा माओ दिवस मात्र मनाएका छैनन्, जनवादी क्रान्तिसहित वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न क्रान्तिकारीहरूबीच क्रान्तिकारी धु्रवीकरण र पार्टीएकता अनिवार्य सर्त भएको र अब निकट भविष्यमै क्रान्तिकारी मालेमावादी शक्तिबीच एकता हुने सन्देश पनि प्रवाह गरेका छन् । एकताका लागि सिद्धान्त र कार्यदिशामा एकरूपता हुनुपर्ने कुरा प्राथमिक सर्त त हो नै, देश, जनता र क्रान्तिका विरुद्ध दुस्मन वर्गबीच उता युक्रेनदेखि अमेरिकासम्म र यता देउवा–पुष्पकमल दाहाल हुँदै पुष्पकमल–राजेन्द्र लिङ्देनसम्म एक भइरहेको अवस्थामा क्रान्तिकारीहरूलाई गहन बहस र मन्थन गरेर सिद्धान्त र कार्यदिशामा एकरूपता ल्याई पार्टी एकता गर्न र क्रान्ति अघि बढाउन अब कुन कुराले बाधा पु¥याएको छ भन्ने सहज प्रश्नहरू उब्जिन सक्छन् । क्रान्तिकारी मालेमावादी सिद्धान्त, क्रान्तिकारी शक्तिहरूबीच एकता र धु्रवीकरण क्रान्तिको सर्त र आवश्यकता हो । त्यसैले क्रान्तिकारीहरूले देश, उत्पीडित जनता र वर्गलाई पार्टी एकता र क्रान्ति ठोस रूपमा आरम्भ गरेर अर्को सुखद सन्देश दिनु आवश्यक छ ।
क्रान्तिकारी आन्दोलन अर्थात् मालेमावादी आन्दोलन, उत्पीडित वर्ग र जनताका विरुद्ध विश्वराजनीतिक मञ्चमा जस्तै नेपालमा पनि नयाँनयाँ प्रतिक्रियावादी गठबन्धनहरू बने÷बनाइएका छन् । निकट विगतमा क्रान्तिकारी आन्दोलनका विरुद्ध एमाले–माके एकता, नेकपामाथि प्रतिबन्ध, तीनबुँदे सहमति, त्यसपछि फेरि काङ्ग्रेस–माके ‘अपवित्र’ गठबन्धन हुँदै अन्ततः रातारात माके–एमाले–राप्रपा–जनमत–स्वतन्त्र–मधेसवादीलगायत अनौठा, अप्ठ्यारा, रहस्यमय, जनविरोधी शक्तिहरूबीचको गठबन्धन गराएर प्रतिक्रियावादी तत्वहरूले नेपालको क्रान्तिकारी आन्दोलनविरुद्ध नयाँ शैलीको षड्यन्त्र आरम्भ गरेका छन् । दलाल पुँजीवादी संसदीय व्यवस्था साम्राज्यवादजस्तै धराशयी बनिसकेको छ । यो अर्को ‘अपवित्र’ र रहस्यमय गठबन्धन नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षा, विकास र मुक्तिका लागि जारी क्रान्तिकारी आन्दोलनका विरुद्धको योजनाबद्ध डिजाइन हो । नेपालका मालेमावादी शक्तिहरूबीच ध्रुवीकरण र एकताको सन्देशसँगै यो जनविरोधी, क्रान्तिविरोधी, दलाल पुँजीवादी सत्ताकेन्द्रित गठबन्धन पानीको फोकासरह फुट्नेमा कुनै सन्देह छैन । त्यसैले उत्पीडित वर्गको आवश्यकता पूर्ति गर्न र साम्राज्यवादी चकचकी र षड्यन्त्र अन्त्य गर्न क्रान्तिकारी ध्रुवीकरण अपरिहार्य बन्दै गएको छ । माओ दिवसले क्रान्तिकारी पार्टीहरूबीच एकता निकट बनाउने विषय अझै सुस्पष्ट बनाएको छ । यो अर्को सुखद सन्देश हो । यसले उत्पीडित वर्गलाई थप ऊर्जा प्रदान गरेको छ ।-सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :