नेकपा (बहुमत) सहित तीन पार्टीले भोलि राष्ट्रिय नाचघरमा आयोजना गर्ने १३० औँ माओ दिवसको तयारी पूरा

नेकपा (बहुमत) सहित तीन पार्टीले भोलि राष्ट्रिय नाचघरमा आयोजना गर्ने १३० औँ माओ दिवसको तयारी पूरा

काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा मशालले भोलि अर्थात् पुस ११ गते १२ बजे काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा संयुक्त रूपमा आयोजना गरेको १३० औँ माओ दिवसको तयारी पूरा भएको छ ।
नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले तीनै पार्टीको संयुक्त र बेग्लाबेग्लै बसेका बैठकहरूले आआफ्ना पार्टी, जवस, मोर्चा, बुद्धिजीवी, आमजनसमुदाय, सञ्चारमाध्यमलगायत सरोकारवाला क्षेत्रलाई माओ दिवसमा दायित्वबोधसहित सक्रियता र रुचिपूर्वक सहभागी हुन आह्वान गर्ने निर्णय गरी सम्बन्धित क्षेत्रलाई सर्कुलर गरिसकेको जनाएको छ ।
कार्यक्रममा तीनै पार्टीका शीर्ष नेतृत्वलगायत बौद्धिक क्षेत्रका व्यक्तित्वहरूले विश्वसर्वहारा वर्गका महान् नेता एवम् चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओको योगदानका साथै बदलिँदो विश्वपरिस्थिति र नयाँ जनवादसहित वैज्ञानिक समाजवादी क्रान्तिको अपरिहार्यता विषयमा गहन मन्तव्य प्रस्तुत गर्ने जनाइएको छ ।
नेपालमा दस वर्षसम्म सञ्चालित जनयुद्ध र त्यसका उपलब्धिहरू पनि मुख्य नेतृत्वको आत्मसमर्पणसँगै गुमेको र मरणासन्न साम्राज्यवादले अन्तिम अवस्थामा पनि दलाल पुँजीवादी सत्ता, पार्टी र व्यक्तिहरूलाई दुरुपयोग गरेर नयाँ तरिकाले साम्राज्यवादी उत्पीडन लाद्ने षड्यन्त्र गरिरहेको समयमा साम्राज्यवादका विरुद्धको सङ्घर्ष र वैज्ञानिक समाजवादी क्रान्ति साथसाथै अघि बढाएर वैज्ञानिक समाजवाद स्थापना गर्न महान् माओका योगदानहरूले मार्गनिर्देशन गर्ने भएकाले माओ र माओवादको अपरिहार्यता बढ्दै गएको छ । यसै सन्दर्भमा नेपाका माओवादी कम्युनिस्ट पार्टीहरूले काठमाडौँमा केन्द्रीय स्तरमा र देशभर भव्य गोष्ठी, अन्तरक्रियालगायत सिर्जनात्मक कार्यक्रमसहित १३० औँ माओ दिवस मनाउने तयारी गरेका हुन् ।
संयुक्त रूपमा १३० औँ माओ दिवस मनाउन नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल र नेकपा मशालका नेता चिन्तामणि पौडेलको नेतृत्व रहेको १३० औँ माओ दिवस आयोजक समिति गठन गरिएको छ ।
प्राप्त समाचारअनुसार तीन पार्टीले केन्द्रीय रूपमा काठमाडौँमा र स्थानीय स्तरमा देशैभर माओका योगदान, माओवादको अपरिहार्यता, वैज्ञानिक समाजवाद र माओवादलगायत विविध विषयमा गोष्ठी, छलफल, अन्तरक्रियालगायत सिर्जनात्मक कार्यक्रम आयोजना गर्नेछन् ।
विश्वसर्वहारा वर्गका महान् नेता कमरेड माओ २६ डिसेम्बर १८९३ मा जन्मिएका थिए । माओको जन्मदिनमा संसारभरका मालेमावादीहरूले सिर्जनात्मक–वैचारिक कार्यक्रम गरी माओ दिवस मनाउने गर्छन् । नेकपा (बहुमत) लगायत क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालमा पनि माओ दिवस मनाउँदै आएका छन् । माओवादी आन्दोलनबाटै आएका संशोधनवादी, संसद्वादी र आत्मसमर्पणवादीहरूले भने साम्राज्यवाद र दलाल पुँजीवादी सत्ताको प्रभावका कारण माओ दिवसलाई आठेभक्ति र औपचारिकतामा सीमित गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :