जनतासँग चर्को ब्याज लिई उठीबास नलगाउन नेकपा (बहुमत) को चेतावनी

जनतासँग चर्को ब्याज लिई उठीबास नलगाउन नेकपा (बहुमत) को चेतावनी

सिन्धुपाल्चोक: नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सिन्धुपाल्चोकले जिल्लामा रहेका लघुवित्त तथा वित्तीय संस्थाले गरिब जनतालाई सुलभ सेवा दिने नाममा ऋण प्रवाह गरी चर्को ब्याजदर असुल गरेर उठीबास लगाएको भन्दै यसप्रकारका कार्य तत्काल बन्द नगरिए जनताले कारबाही गर्ने र त्यसको नेतृत्व पार्टीले गर्ने चेतावनी दिएको छ ।
पार्टीका जिल्ला इन्चार्ज विनयराज शर्मा र संयोजक प्रतीकले शनिबार विज्ञप्ति जारी गर्दै यस्ता क्रियाकलाप बेलैमा नसुधारे पीडित जनताको साथमा आफ्नो पार्टी रहने र जनताले गरेको कारबाहीको नेतृत्व पनि पार्टीले गर्ने चेतावनी दिएका हुन् ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आफ्नो स्थापना कालदेखि जनतन्त्र, जनजीविका, राष्ट्रियता, स्वाधीनताको पक्ष र समाजमा भएका सबैखाले विकृति, विसङ्गति, कालोबजारी, भ्रष्टाचार अन्त्यका लागि व्यापक सङ्घर्ष गर्दै आएको कुरा सबै जनसमुदायमा सर्वव्यापी हुँदाहुँदै पनि सिन्धुपाल्चोक जिल्लामा रहेका लघुवित्त तथा वित्तीय संस्थाले गरिब जनतालाई सुलभ सेवा दिने नाममा ऋण प्रवाह गरेर चर्को ब्याजदर असुल गरी जनतालाई उठीबास गराउने कार्य गरेकाले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘यस्ता क्रियाकलाप बेलैमा नसुधारे पीडित जनताको साथमा हाम्रो पार्टी हुनेछ । हाम्रो पार्टीको विज्ञप्तिलाई आधार मानी त्यस्तो क्रियाकलाप नगर्न आग्रह गरिन्छ । यो आग्रहलाई नमानी मनोमानी गरे पीडित जनताले कारबाही गर्दा स्वयम् जबाफदेही हुनेछ । यसको नेतृत्व हाम्रो पार्टीले गर्ने यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ ।’

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :