कोरियाली नेता किम जोङ इलको स्मृति दिवसमा काठमाडौँमा विशेष कार्यक्रम

कोरियाली नेता किम जोङ इलको स्मृति दिवसमा काठमाडौँमा विशेष कार्यक्रम

काठमाडौँ : नेपालका लागि जनगणतन्त्र कोरियाका राजदूत जो यङ मानले समाजवाद मनपराउने नेपाली जनतालाई धन्यवाद दिँदै कोरियाली नेता किम जोङ इलले विश्वका न्यायप्रेमी जनताको स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताका लागि पनि धेरै काम गरेको बताएका छन् ।
कोरियाली नेता किम जोङ इलको ११ औँ स्मृति दिवसका सन्दर्भमा कोरियाली दूतावासले आयोजना गरेको कार्यक्रममा राजदूत जोले नेता किम जोङ इलले विश्वक्रान्ति र स्वतन्त्रताका लागि पु¥याएको योगदानलाई मार्सल किम जोङ उनले अघि बढाउँदै आएको र स्वतन्त्रताप्रेमी नेपाली जनताको पनि साथ र शुभेच्छा रहेको बताए ।
नेपाल–कोरिया लेखक/पत्रकार मञ्च, नेपाल–कोरिया मैत्री सङ्घलगायत नेपालमा क्रियाशील कोरियाका हितैषी संस्थाका प्रतिनिधिहरूलाई कोरियाको विकास र उन्नतिका लागि प्रदान गरेको सद्भावका लागि धन्यवाद तथा आभार प्रकट गर्दै राजदूत जोले स्वतन्त्रता र न्यायका लागि विश्वकै न्यायप्रेमी जनतासँग सहकार्य गर्दै अघि बढ्न जनगणतन्त्र कोरिया इच्छुक रहेको पनि बताए ।
नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्षसमेत रहेका नेकपा मालेका महासचिव सीपी मैनालीले कोरियाली राष्ट्रपति किम इल सुङले प्रतिपादन गरेको जुछे विचारलाई नेता किम जोङ उनले राम्रोसँग लागू गरेको र आज पनि कोरिया त्यही स्वतन्त्रता, न्याय र आत्मनिर्भरताको बाटोमा हिँडिरहेको बताए ।
नेता किम जोङ इलको समयमा नेपाल–कोरिया मैत्री माथि उठेको स्मरण गराउँदै नेता मैनालीले किमले अघि सारेको विचारले मुक्तिका पक्षधर नेपालीलाई पनि बाटो देखाइरहेको र आगामी दिनमा पनि नेपाली र कोरियाली जनताको एकता अझ प्रगाढ भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।
नेपाल–कोरिया लेखक/पत्रकार मञ्चका अध्यक्ष अशोक सुवेदीले साम्राज्यवादी–दलाल पुँजीवादी उत्पीडन र कहरले पिल्सिएको नेपाल र नेपाली जनताका लागि जुछे विचार, किम जोङ इल प्रतिपादित सङ्गुन विचार निकै ठूलो सहयोगी बन्ने धारणा राखे ।
नेपालमा हालसम्म जति पनि विद्रोह, युद्ध र क्रान्ति भए, ती सबै मुख्य नेतृत्वको आत्मसमर्पण, दलाली र गद्दारीका कारण असफल भएका उदाहरणहरू प्रस्तुत गर्दै उनले मालेमावादी विचारसहित सबै जनता सशस्त्र र क्षमतावान् भएमा जनतालाई कसैले पनि धोका दिन सक्तैन भन्ने ज्यूँदो साक्षी जनगणतन्त्र कोरिया भएकाले त्यहाँबाट नेपालका क्रान्तिकारीहरूले पनि पाठ सिक्नुपर्ने बताए ।
विचारसहितको सेना र ‘आर्मी फस्र्ट पोलिसी’ ले नै जनगणतन्त्र कोरियालाई मौलिक किसिमको समाजवाद रक्षा गर्दै साम्राज्यवादलाई चुनौती दिने ठाउँसम्म पु¥याएको उनको भनाइ थियो । संसारका सम्पूर्ण उत्पीडित राष्ट्र र जनताले कोरियाली समाजवादबाट सिक्नुपर्ने पनि उनले बताए ।
कार्यक्रममा नेपाल–कोरिया मैत्री सङ्घका महासचिव फणिन्द्रराज पन्त, नेपाल–कोरिया लेखक/पत्रकार मञ्चकी उपाध्यक्ष अम्बिका चन्द, मञ्चका ज्येष्ठ सदस्य ढुण्डीराज अधिकारी, कोरिया निकट विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, कोरियाली दूतावासका कर्मचारीलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :