दर्शनलाई दराजबाट खेत–खलिहानमा पुर्याउनुपर्छ : सुदर्शन

नेकपा (बहुमत) को केन्द्रीय स्कुलिङ सम्पन्न

दर्शनलाई दराजबाट खेत–खलिहानमा पुर्याउनुपर्छ : सुदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) केन्द्रीय स्कुलिङ तथा अनुसन्धान विभागको आयोजनामा काठमाडौँमा ५ दिनसम्म पार्टी स्कुलिङ सम्पन्न भएको छ । कार्यक्रमको अन्तिम दिन समापन समारोहमा सम्बोधन गर्दै स्कुलिङ विभागका इन्चार्ज तथा पार्टी प्रवक्ता सुदर्शनले दर्शनलाई साँच्चिकै दराजबाट खेत–खलिहानमा पु¥याउनुपर्ने बताए ।
पढेको कुरालाई व्यवहारमा खरो उत्रेर लागू गर्नुपर्ने प्रवक्ता सुदर्शनको भनाइ थियो । उनले भने, ‘हामीले राजनीतिक–विचारधारात्मक क्षेत्रमा विकास गर्न सकेनौँ भने निकै समस्या आउन सक्छ । पछि कसैले माक्र्सवाद भनेपछि सुन्नै नसक्ने अवस्था पनि आउन सक्छ । त्यसैले हाम्रो पङ्क्तिबाटै विकास गर्दै जानुपर्छ । हामीले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका विषयमा सामान्य ट्र्याक खनेर रूपरेखा मात्र देखाएका छौँ । हामी पार्टी सदस्यदेखि नेतृत्वसम्मले एउटै लयमा बोल्नुपर्छ । यसलाई एउटै लयमा कसरी ल्याउने भन्ने विषयमा छलफल गरेर एकरूपतामा ल्याउनका लागि विचारधारात्मक तथा राजनीतिक रूपले पनि हामी सङ्गठित हुन आवश्यक छ ।’
दीक्षान्त समारोहमा सहभागीका तर्फबाट अनुभूति राख्दैै पार्टीको केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरोका संयोजक अशोक सुवेदीले हामीले पढेको माक्र्सवादले वैचारिक रक्तसञ्चार गराएको र यसलाई व्यवहारमा लिएर जाने कुरा नै महत्वपूर्ण हुने बताए । पार्टी स्कुलले नेतादेखि कार्यकर्तासम्म सबैको दिमागमा वैचारिक धार लगाएको उनको भनाइ थियो ।
स्कुलिङबारे प्रतिक्रिया राख्दै अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घका अध्यक्ष विनोद थापाले पार्टी स्कुलले नयाँ ऊर्जा थपेको बताए । उनले कम्युनिस्ट आन्दोलन सुधारवादी र सारसङ्ग्रहवादी समस्याले ग्रसित भएको बेला पार्टी स्कुलले वैचारिक ऊर्जा दिएको बताए । आफूलाई बाहिरी मात्र नभई ज्ञानको भित्री आँखाले पनि हेर्ने मौका स्कुलिङले प्रदान गरेको उनको भनाइ थियो ।
नेकपा (बहुमत) का दोलखा–सिन्धुपाल्चोक इन्चार्ज आकाशले स्कुलिङबाट आफूले नेपाल र विश्व कम्युनिस्ट आन्दोलनको अवस्थाका बारेमा बुझ्ने मौका पाएको बताए । उनले जीवन व्यवहारमा अध्ययन र अनुसन्धानको खाँचो रहेछ भन्ने कुरा पनि बुझेको अनुभूति राखे । स्कुलिङको समयावधि बढाउनुपर्ने उनको सुझाव थियो ।
नेकपा (बहुमत) का भक्तपुर इन्चार्ज रोजन रखालले भुत्ते भएको दिमागी हतियारमा पार्टी स्कुलले सान लगाएको बताए । यस्ता पार्टी स्कुलहरू बेलाबेला सञ्चालन गर्न आवश्यक रहेको भन्दै उनले यसलाई जनतामा लिएर जाने बताए ।
यस्तै पार्टीका धादिङ इन्चार्ज रामबहादुर श्रेष्ठले आफूहरूले पढेको कुरा व्यवहारमा लागू गर्ने कुरा नै मुख्य हुने बताए । यस्तै ५० वर्ष उमेर कटेकाहरूको स्कुलमा भर्ना भएपछिको पढाइबाट नयाँ अनुभव हासिल भएको भन्दै मान्छेले जीवनमा सिक्ने र सिकाउने कुरा सधैँ चलिरहने र यो सिकाइ महत्वपूर्ण भएको बताए ।
पुस २५ गते सुरु भई २९ गते सकिएको पार्टी स्कुलिङमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका विषयमा अध्ध्ययन–अध्यापन गरिएको थियो । पार्टी संयोजक कञ्चनले वैज्ञानिक समाजवाद, पार्टी स्कुलिङ विभागका प्रमुख सुदर्शनले दर्शन, पार्टी कार्यालय सदस्य गुणराज लोहनीले अर्थशास्त्र र रामचन्द्र बलामीले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास पढाएका थिए । नेकपा (बहुमत) बागमती उपत्यका ब्युरो, बागमती दक्षिण–पश्चिम ब्युरो, बागमती पूर्वी ब्युरो, प्रचार, प्रसार तथा प्रकाशन ब्युरो, विभिन्न जवस तथा मोर्चाबाट करिब ५० जनाले पार्टी स्कुलिङ लिएका थिए । पार्टीले देशभर स्कुलिङ सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :