हजार माइलको लामो बाटो हिँड्दाहिँड्दै बलिदान गर्ने प्रिय कमरेड सरिताको सम्झनामा

हजार माइलको लामो बाटो हिँड्दाहिँड्दै बलिदान गर्ने प्रिय कमरेड सरिताको सम्झनामा

प्रिय साथी सरिता
मिठो सम्झना
मोबाइलमा यति बेला सानो भोल्युममा ‘सलाम तिमीलाई…’ गीत बजिरहेको छ । हिजोआज यस्ता गीत मोबाइलमा मात्र सुन्न पाइन्छ किनभने जनवादी कलाकार विगतबाट बिछोडिएका छन् । कलाकार कारिन्दाजस्ता भएका छन् । अझै भनुँ भोट माग्ने भजनमण्डलीजस्ता भएका छन् किनकि नेता फेरिए, नीति फेरियो र दुःख थपिए ।
ठीक यति नै बेला एक झोक्का सम्झना बोकेर आएको छ मङ्सिर २४ ! निकै पीडा दिएको यो दिन न चाहेर भुल्न सकिन्छ, न त पूर्णतः सम्झन हिम्मत जुट्छ । आज १८ वर्ष पुगेछ सुन्दर सपनाको गोरेटोमा हिँड्दै गर्दा तपाईंलाई सदाका लागि गुमाएको । यी १८ वर्ष कसरी बिते, लेख्ने सक्षमता र सामथ्र्य मसँग छैन अनि केरकार गरेका कयौँ न तीता न मीठा उतारचढावसँगै यो समय घुम्दै मङ्सिर २४ मै आइपुग्यो ।
हुनत सदाझैँ प्रत्येक वर्ष पृथ्वीको समयचक्रअनुसार थुप्रै मङ्सिर २४ नआएका भने पक्कै होइनन् । यो बीचको समयमा तपाईंलाई सम्झिने फुर्सद थिएन भनौँ वा सम्झिँदाका क्षणहरूलाई कोर्ने मनमा आँट जुटेन । जेजस्तो भए पनि यो समय, बिछोडका वर्षहरू जसरी बिते, कठोर सङ्घर्ष, अत्यारिलो यो समय आफैँलाई अनगिन्ती चोटले डामेर प्रसवमा रेटिएर बितेको छ । भनौँ सुन्नेका लागि कथा बन्ला, देख्नेका लागि दृश्य बन्ला । हेर्नेका लागि दुःखान्त नाटक बन्ला । महसुस गर्नेका लागि एक अकाट्य वास्तविकता !
प्रिय साथी
दूरीले केही मिटर पर जन्मेकी तपाईं र म हामीलाई जनयुद्धको रणमैदानले निकै नजिकबाट चिनायो । हामी त्यो समयसम्म अपरिचित थियौँ जति बेलासम्म हामीले भूमिगत जीवनको थालनी गरेनौँ पारिवारिक चिनजान, मर्दापर्दाको छरछिमेकी हामीलाई अफसोच, जनयुद्धले परिचित गरायो ! यसका पछाडिका थुप्रै कारण थिए । उमेर अवस्थाले निकै सानो भए पनि हामीलाई कुन शक्ति र हिम्मतले त्यो बाटोमा डोहो¥याएर लगेको थियो,े थाहा छैन । जुन बाटो हामीले रोजेका थियौँ त्यो वीरताको गौरवशाली गाथा कोर्ने रक्तबीजहरू हिँडिरहेको महान् बाटो थियोे । हामी १२÷१३ वर्षकै उमेरमा आमाको काख, बाबाको माया, परिवारको साथ र समाजको सञ्जालबाट टाढा रहन पुग्यौँ ।
मलाई २२ वर्षअघिको क्षण अहिले पनि ऐनाझैँ आँखैअगाडि उभिन्छ, मस्तिष्कमा मौलाइरहन्छ– जब हामीले जीवनमरणको लडाइँमा सामूहिक हामफाल्ने निर्णय रोज्यौँ । हो, हामी कस्तो समाजमा हुर्किंदै थियौँ, हेक्का थिएन हामीलाई किनकि हामी त हाम्रै बा–आमाले नपत्याउने बच्चा थियौँ । हाम्रा दाजुभाइले नचिताउने हामी । हाम्रोजस्तो सामन्तवादी रूढिग्रस्त टुक्रे आर्थिक तथा सामाजिक सम्बन्धबाट निर्माण भएको समाजमा घर छोडेर हिँड्नु भनेको एक हिसाबले जीवनको अन्त्य रोज्नु, परिवारको प्रतिष्ठा मार्नु र संस्कार–रीतिरिबाजमाथि धावा बोल्नु थियो । छोरी भएर घरबाहिर निस्कनु र सामाजिक तथा राजनीतिक काममा लाग्नु भनेको अनिष्ट निम्त्याउनु मात्रै थिएन, हामी हुर्केको समाजका लागि सदैब पूर्वबाट खुल्ने क्षितिज पश्चिमतिरबाट उदाउनुजस्तै थियोे ।
वर्गीय उत्पीडनले थलापरेको हाम्रो समाज, भौगोलिक विकटता, राज्यको खोटपूर्ण दृष्टिकोण त छँदै थियो, त्यसैमाथि विभिन्न रूप र रङका जालसाजीपूर्ण अन्याय तथा उत्पीडनको जाँतोमुनि जोतिएका हामी छोरी, त्यसैमाथि अझै जातीयजस्तो कलङ्कित उत्पीडनविरुद्ध विद्रोह गरेकी तपाईं २१ औँ शताब्दीको स्पार्टाकसको एक उदाहरण बन्नुभयो जसलाई तपाईं आफैँले प्रमाणित गरिसक्नुभएको छ ।
प्रिय कमरेड
भर्खरझैँ लाग्छ– २०५९ साल माघको तत्कालीन नेकपा (माओवादी) पश्चिम केन्द्रीय कमान्डले तय गरेको ‘सङ्गठन सुदृढ तथा विस्तार’ अभियानको समय जहाँ हामी पहिलोपटक सुदूरका बस्तीहरूमा माओवादी विद्रोहलाई सुसङ्गठित गर्न कालीकोटबाट जाँदै थियौँ । दर्जनौँ कालीकोटका युवकयुवतीहरूको पङ्क्ति सुदूरपश्चिमका जिल्लाहरूमा विस्तार हुँदै गर्दा हामीलाई तत्कालीन राज्यसत्ताको मुख्य शक्ति केन्द्रित सुदूरपश्चिमाञ्चलको मुख्य हेडक्वार्टर दिपायल पर्ने डोटी जिल्लामा खटाइएको थियो । समग्र यात्रा एउटै, काम गर्ने मोर्चा एउटै भए पनि कालीकोट छँदा भूगोल भने थोरै फरक थियोे । तत्कालीन स्युना गाविसमा मैले काम गर्दै गर्दा तपाईं मेहलमुडीमा । हाम्रो भेट महिला सङ्गठनको जिल्ला तथा एरिया कमिटीका बैठक तथा पार्टीका प्रशिक्षणहरूमा मात्रै हुन्थ्यो । यसपटक भने अभियानका क्रममा हामी सँगै कालीकोटबाट डोटी जाँदै थियौँ । पुसको हिउँ र चिसो छिचोल्दै दुदुली लेक पार गरेर अछामको रामारोशन पुग्दा त्यति बेला पार्टीले सेती–महाकाली स्वायत्त जनसरकार घोषणाको बृहत् तयारी गरिरहेको थियो । कालीकोटका हजारौँ जनताका बीच हामी अभियानकर्मी रामारोशन पुगेका थियौँ ।
राजनीतिक, साङ्गठनिक तथा फौजी उच्चतासहित तत्कालीन पश्चिम कमान्ड इन्चार्ज पोष्टबहादुर बोगटी ‘दिवाकर’ र डेपुटी कमान्डर तथा सेती–महाकाली ब्युरो इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ को उपस्थितिमा तीन दिन चलेको उक्त कार्यक्रमले लेखराज भट्टको नेतृत्वमा सेती–महाकालीमा पहिलोपटक जनसरकार घोषणा ग¥र्या । अफसोच ! त्यही कार्यक्रममा हामीले हाम्रो प्रिय दिज्यू गुमाएको घोषणा सुन्न बाध्य भयौँ । म मञ्जु दिदीको सहादतको घटनाले निकै समयसम्म विक्षिप्त भएँ । मैले बोकेका दिज्यूका फोटोदेखि मलाई सम्झाउने, बुझाउने र समाल्ने सबै जिम्मेवारी तपाईंको थियोे । घोत्लिएर सोच्दा अहिले नै हो कि जस्तो लाग्छ । दिदी गुमाउनु पर्दाको भावविह्लतासहित हामी डोटी पुग्यौँ । हाम्रो टिम कमरेड धीरेन्द्राको नेतृत्वमा थियो । अभियानकै क्रममा असोज महिनाको गराजु हत्याकाण्ड जहाँ कमरेड पुकार, विमला र म सँगै भाग्दै गर्दा मभन्दा केही अगाडि हिँडेको पुकारको सहादत हुन पुग्यो । विमला स्थानीय हुनाले त्यहीँका जनताले छोरी भनेर बचाएका थिए ।
त्यो घटनापछि करिब ५ दिन पार्टी सम्पर्क हुन नसक्दा मलाई शाही नेपाली सेनाले मारिसकेको प्रचारका बीच ५ औँ दिनको सम्पर्कपछि जिल्ला कार्यालयमा तपाईंसहित कमरेड पम्फा भुसाल र कमरेड श्रवणसहित भेट्न पाउँदाको खुसीको क्षण अहिले पनि आलै छ । भीषण वर्गसङ्घर्षको अनवरत यात्रा जारी रहँदा अभियानको समय सकिएसँगै करिब ८ महिनाको डोटी बसाइपछि सँगै गएका कालीकोटका साथीहरू कालीकोट सिपखानाका सचिन, सरललगायत अभियानका क्रममा आधा दर्जनभन्दा बढीलाई यिनै हातले डोटीकै माटोमुनि पुरेर हामी कालीकोट फर्किएका थियौँ ।
केही समयपछि सेती–महाकालीले तपाईंलगायत कमरेडलाई मागेछ । तपाईंलगायत कमरेडहरू डोटीको अस्थायी कार्यक्षेत्र लिएर वसन्त यामसँगै कर्णालीबाट सेती–महाकाली जाँदा तत्कालीन मेहलमुडीबाट बिदाइका हातहरू मिलाउँदाको न्यास्रोपन पनि अहिले नै होलाजस्तो ठान्दैछु । गोरो, अग्लो जिउडाल, सधैँजसो कालो कुर्तामा हिँड्ने तपाईंका पाइला धामीगाउँको पार्टी कार्यालयबाट फूलमाला र अबिरले बिदाइ दिँदै गर्दा बिछोडको वियोगमा बगेका आँसु खसेको चिसोपन कहाँ बिर्सिन सकिन्थ्यो र ! आजको दिन मनमा अनेकौँ प्रश्नमाथि प्रश्नका चाङहरू थुप्रिरहेका छन् । लाग्छ, यो मन आफ्नै हो वा होइन ।
हाम्रो समाजले नपत्याएका हामीलाई आफ्नो गाउँठाउँ छोडेर अपरिचितको कुन नयाँ भूगोललाई आफ्नो बनाएर वर्गसङ्घर्षको उठान गर्ने जिम्मेवारी सामान्य होइन नै । अझ कथित सामन्ती, ब्राह्मणवादी, तथाकथित उपल्लो–तल्लो अमानवीय जातीय विभाजनको जगबाट विद्रोह गरेको मान्छेलाई कति कठिन थियो होला, सजिलै अनुमान गर्न सकिन्छ । प्रिय साथी ! तपाईं त्यो योद्धा हो, तपाईं त्यो बिरुवा हो जुन ढुङ्गामा फाल्दा पनि सजिलै उम्रिनसक्नु तपाईंको विशेष क्षमता र सक्षमता थियोे । मैले चिनेजानेका, बुझेका कमरेड, साथीसँगीमध्ये सबैभन्दा शालीन, भद्र र मिलनसार त्यो विशिष्ट गुण तपाईंमा थियोे जो सबैसँग हुन सक्दैन ।
प्रिय साथी
१८ वर्षको यो अवधिमा देश, देशको राजनीति तत्कालीन माओवादी आन्दोलन, उद्देश्य, एजेन्डा र उपलब्धिलाई नियाल्दा एउटा भयानक युद्ध मोर्चाको पराजयबाट विक्षिप्त र विभाजित मन लिएर हिँडेको एक सिपाहीझैँ ठान्छु आफूलाई । अनि सम्झिन मन लाग्छ– तपाईंजस्ता नेपाली आमाका १७ हजार सपूतलाई जसले सपनाको संसार बोकेर जीवनको कुर्बानी गरे, देशका नाममा, जनताका नाममा अनि निःशब्द हुन पुग्छु । पूर्णविराम लाग्न खोज्छ । कलम रोकिन्छ हातको । गति अड्किन्छ । मनभरि आँधीको वेग बनी बर्सिने शब्दहरू रोकिन्छन् । एउटै प्रश्न आउँछ– के महान् जनयुद्धको लक्ष्य थियोे संसदीय व्यवस्था ? के सहिदको सपना थियोे बुर्जुवा गणतन्त्र ? के कल्पना थियोे तपाईंजस्ता वीराङ्गनाहरूले लडेर प्राप्त गरेको सत्तामा शेरबहादुर, केपी, राजेन्द्र, रवि, बालेनहरूको राज ? अनि यही वैचारिक मतभिन्नता र विचलनको माओवादी वंशभित्र विभाजनको डढेलो १८ औँ समूह तथा पार्टीमा विभाजित हुन पुगेको तितो सत्यलाई सहिदसामु पस्किन बाध्य हुनु आफैँमा ठूलो लडाइँ जितेसरह ठान्दैछु । सत्य तितो हुन्छ । हो प्रिय साथी, हामी हिँडेको बाटो हाम्रा तत्कालीन अग्रज कमान्डरहरूले छोडिसके । सट्टामा बुर्जुवा गणतन्त्र छ देशमा जहाँ जनयुद्ध दवाउन सत्तासीन शेरबहादुरहरूको राजकाज छ । जसले टाउकाको मूल्य तोके, जहाँ तपाईं–हामी हजारौँ हजार माइलको बाटो हिँड्दै, खुट्टा खियाउँदै गणतन्त्रका लागि युद्धमैदानमा होमिँदा युरोपका गल्लीहरूमा, अमेरिकाका गल्लीहरूमा जीवनको भिख माग्दै र डलरको हिसाब थाप्दै हिँडेका रवीन्द्र, रविहरूको राज छ, जहाँ हप्तौँ भोकै लानाका लेकहरूमा, सिस्नेका भिरहरूमा, जलजलाका पहाडहरूमा, टप्पाका लेकहरूमा, अन्नपूर्ण–धौलागिरिका फेदहरूमा हिउँसँग खाली खुट्टा लड्दै कयौँ अनिँदा रात कटाउने योद्धा होइन, उत्तरआधुनिकतावादी संस्कृतिका खिचडी ¥यापर बालेन, कथित सुन्दरीको ताज भिरेका सुनिताहरूको शासन छ अनि यही पेरिफेरीमा कहिले कथित चुनावको मञ्चन हुन्छ त कहिले संसद् र सदनमा गन्थन । यही आडमा कहिले लिपुलेक बेचिन्छ त कहिले सुस्ता, कहिले एमसीसी जस्ता देशद्रोही सम्झौता हुन्छन् त कहिले बिप्पा ।
तथाकथित निर्वाचनको आडमा भोटलाई निर्विकल्प बनाएर जनतामाथि जबर्जस्ती कथित संसदीय शासनको बाध्यकारी भोट लादिन्छ । भोट नहालौँ, यही व्यवस्थाले दिने वृद्धाभत्ता गुम्ने डर, बिधुवा भत्ता नपाउने उर्दी, बाटो नबन्ने धम्की, अस्पतालमा उपचार नपाउने त्रास, सुत्केरी भत्ता जान्छ वा बालपोषण र जागिर जान्छ कि घराबर गुम्छ, घरको छोरा पराई हुने डर छ। बुढेसकालको सहारा नगुमोस् भनेर, परिवारमा थोरै भए पनि एकताको आस बोकेर यस्तैयस्तै बाध्यताको विष पिएर हाम्रा बाआमाले पनि हरेकपल्ट स्वस्तिक छाप लगाएकै छन् कहिले कमरेड भन्नेलाई त कहिले काङ्ग्रेस भन्नेलाई ।
प्रिय साथी, तपाईंलाई थाहा छ, हिजो महिला मुक्तिका लामालामा प्रशिक्षण दिनेहरू आज छोरो पाउने रहरमा श्रीमती थपिरहेका छन् । त्यति मात्र होइन, गाउँले श्रीमती र सहरवाली साथी राख्ने तहमा झरिसकेका छन् । हिजो जातीय उत्पीडनका विरुद्ध बारुद भर्नेहरू आज जनै फेर्ने भैसकेका छन । हिजो नेताको सुरक्षामा खट्ने जनमुक्ति सेना आज खाडीमा गोठालो र चौकीदार गर्न बाध्य छ । अनि कलाकार दोहोरी साँझहरूमा सेवा–श्रम नगरे भोकै मर्नुपर्ने अवस्थामा छन् । हो, यस्तै घिनलाग्दा दृश्य र बढ्दै गरेको आक्रोशका बीचबाट विद्रोहबाट विच्छेद भएकी छैन र हुने पनि छैन । माओवादी जनयुद्धको बीभत्स विघटनको आहालबाट बल्लतल्ल तैरिँदै प्रतिक्रान्तिको धाईआमा बनिसकेको पुस्तासँग लड्दै क्रान्तिकारी मैदानबाट प्रिय कमरेडलाई हार्दिक सलामसहित भावपूर्ण श्रद्धाञ्जली ! ती बाबाआमा जसले कोख रित्तो बनाएर आफ्नो प्रिय सन्तानलाई देश र जनताका लागि समर्पित गर्नुभयो विशेष स्मरणसहित श्रद्धाञ्जली बाबा सज्जन दर्जीप्रति अनि उच्च सम्मान महान् आमा अनि परिवारप्रति ।

(नोट : २०६१ साल मङ्सिर २४ गते डोटी जिल्लाको सदरमुकाम सिलगढीनजिकै गिरीचौकामा तत्कालीन शाही नेपाली सेनाको विद्युतीय धरापमा परी उच्च सहादत प्राप्त गर्ने महान् सहिद भैपुरा दर्जी ‘सरिता’ को सम्झनामा ।)

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :