१५ दिनभित्र अनिवार्य सबै तहको नतिजा सार्वजनिक गर्न त्रिविलाई अखिल क्रान्तिकारीको चेतावनी

१५ दिनभित्र अनिवार्य सबै तहको नतिजा सार्वजनिक गर्न त्रिविलाई अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अखिल क्रान्तिकारी त्रिवि विशेष समितिले परीक्षा लिइएको १५ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक नगरिएको भन्दै १५ दिनभित्र सबै तहको परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई चेतावनी दिएको छ । अखिल क्रान्तिकारी त्रिवि विशेष समितिका इन्चार्ज गोविन्द बिष्टले सोमबार परीक्षा नियन्त्रकलाई मागपत्र प्रस्तुत गर्दै समयसीमाभित्र परीक्षाको नतिजा सार्वजनिक नगरिए सङ्गठन आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।

मागपत्रमा २०७८ साल साउनमा परीक्षा भएको स्नातक तह प्रथम वर्षका सबै सङ्कायको परीक्षाफल पन्ध्र महिना बितिसक्दासमेत प्रकाशित नभएको, विद्यार्थी प्रथम वर्षको नतिजाबिनै तेस्रो वर्ष अध्ययन गर्न बाध्य बनेको, पुसमा परीक्षा भएको स्नातक तह चौथो वर्षका सबै सङ्कायको नतिजा, फागुनमा परीक्षा भएको प्रथम वर्षको नतिजा, चैतमा परीक्षा भएको तेस्रो वर्षको नतिजा र स्नातकोत्तर तहको सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षाहरुको समेत समयमै नतिजा सार्वजनिक नहुँदा विद्यार्थीमा निराशा उत्पन्न हुने, युवा जनशक्ति बिदेसिन बाध्य हुने र त्रिभुवन विश्वविद्यालयलाई थप धराशायी बनाउने काम भएको उल्लेख छ । मागपत्रमा बिष्टले यस किसिमका कार्यले कतै रक्षक नै भक्षक भइरहेको त छैन भन्ने गम्भीर आशङ्का उत्पन्न गराएको उल्लेख गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु, परीक्षा नियन्त्रकलाई सम्बोधन गर्दै प्रस्तुत गरिएको मागपत्रको पूर्ण विवरण यसप्रकार रहेको छ :

‘त्याग, समर्पण र बलिदानको पर्याय नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको मूल प्रवाह हाम्रो गौरवशाली विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) राष्ट्रियता, जनतन्त्र, जनजीविकासँगै शिक्षा क्षेत्रको आमूल रूपान्तरणका लागि निरन्तर सङ्घर्षरत रहेको विषय छर्लङ्गै छ । पछिल्लो समय सङ्कटको भुमरीमा फस्दै गएको नेपालको शैक्षिक जगत्को नेतृत्वदायी निकाय त्रिभुवन विश्वविद्यालयले वार्षिक कार्यतालिकाअनुसार परीक्षाफल प्रकाशित नगरी लाखौँ विद्यार्थीको भविष्य अन्योलग्रस्त बनाएको घटनाप्रति हाम्रो सङ्गठन गम्भीर बनेको छ ।

२०७८ साउनमा परीक्षा भएको स्नातक तह प्रथम वर्षका सबै सङ्कायको परीक्षाफल पन्ध्र महिना बितिसक्दासमेत प्रकाशित भएको छैन जो विद्यार्थी प्रथम वर्षको नतिजाबिनै तेस्रो वर्ष अध्ययन गर्न बाध्य छन् । पुसमा परीक्षा भएको स्नातक तह चौथो वर्षका सबै सङ्कायको नतिजा, फागुनमा परीक्षा भएको प्रथम वर्षको नतिजा, चैतमा परीक्षा भएको तेस्रो वर्षको नतिजा र स्नातकोत्तर तहको सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षाको समेत समयमै नतिजा सार्वजनिक भइरहेको छैन । तीन महिनामै प्रकाशित गर्नुपर्ने स्नातक र स्नातकोत्तर तहका सबै सङ्कायको नतिजा प्रकाशनमा भएको अस्वाभाविक ढिलासुस्तीले विद्यार्थीमा नैराश्य उत्पन्न गराउने, युवा जनशक्तिलाई बिदेसिन बाध्य पार्ने र त्रिभुवन विश्वविद्यालयलाई थप धराशायी बनाउने काम भइरहेको छ जसले कतै रक्षक नै भक्षक भइरहेको त छैन ? गम्भीर आशङ्का उत्पन्न गराएको छ ।

राजनीतिक दलको भागबण्डाको सोपान चढेर त्रिभुवन विश्वविद्यालय छिर्ने अनि जनताले सकिनसकी तिरेको करबाट जम्मा भएको राष्ट्रिय ढुकुटी ढुटो पारेर त्रिभुवन विश्वविद्यालय धराशायी बनाउने र लाखौँ विद्यार्थीको भविष्य बर्बादीतिर धकेल्ने हर्कत हाम्रो सङ्गठनलाई किमार्थ स्वीकार्य छैन । हाम्रो सङ्गठन नतिजा प्रकाशित हुन बाँकी सबै तह र सङ्कायको परीक्षाफल १५ दिनभित्र अनिवार्य सार्वजनिक गर्न त्रिविसँग जोडदार माग गर्दछ । अन्यथा चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरी कडा सङ्घर्ष गर्न सङ्गठन बाध्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :