दुई विद्यार्थी संगठनले भने ‘देशलाई आर्थिक संकटमा पार्ने संसदीय चुनाव अवज्ञा गर्नुपर्दछ’

दुई विद्यार्थी संगठनले भने ‘देशलाई आर्थिक संकटमा पार्ने संसदीय चुनाव अवज्ञा गर्नुपर्दछ’

काठमाडौँ : आउदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई दुई विद्यार्थी संगठनहरुले अवज्ञा तथा बहिस्कार गर्ने निर्णय गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले संसदीय चुनाव जनतालाई धोका मात्र हुने भएको निस्कर्ष सहित बहिस्कार गर्ने निर्णय गरेका हुन् । काठमाडौँको संवाद डबलीमा शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी दुबै संगठनका नेताहरुले चुनाव अबज्ञा तथा बहिस्कारको लागि संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।
पत्रकार सम्मेलनमा नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले चुनावले नेपाली जनताको हित नगर्ने बरु देशलाई आर्थिक संकटमा पार्ने भन्दै त्यसलाई अबज्ञा गर्ने निर्णय गरेको जानकारी दिए । अध्यक्ष राइले हरेक चुनाव पछाडी नेपालमा मुल्यबृद्धि हुने र देशलाई आर्थिक संकटमा पार्ने गरेको भन्दै देशलाई संकटमा पार्ने चुनावमा भाग लिनु भनेको देशलाई झन् गरिबीको रेखा मुनि पार्ने लाइसेन्स दिनु जस्तै हुने भन्दै आम नागरिकलाई चुनावमा भाग नलिन आग्रह समेत गरे । उनले ‘नो भोट अगेन’ को नारा लिएर जनतामा जान युवा तथा विद्यार्थीलाई आग्रह गरे । उनले विद्यार्थीलाई चाहिने पाठ्यपुस्तक छाप्न कागज नभएको बहाना बनाउने तर चुनाव सम्बन्धि सामाग्री भने भटाभट छापी रहेकाले विद्यार्थीको भबिष्यमाथि खेलबाड गर्ने जनक शिक्षा सामाग्रीका हाकिम क्रान्तिकारीको निशानामा रहेको बताएका छन् । यस्तै उनले ब्याचलर पहिलो बर्षको परिक्षा सकिएको दुइ बर्ष पुगिसक्दा पनि रिजल्ट सार्बजनिक नगरिएकाले परिक्षा नियन्त्रक समेत क्रान्तिकारीको निशानामा पर्ने बताए ।
त्यसैगरी क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले चुनावले मुलुकको निकास र सम्वृद्धि नहुने भएकाले आम विद्यार्थी र नागरिकले यो चुनावको बहिष्कार र अवज्ञा गर्नुपर्ने बताए । चुनावमा बिजयी भएर जानेहरुले देशलाई लुट्ने बाहेक अरु केही नगर्ने दाबी गर्दै गजुरेलले चुनावमा भोट माग्न आउनेहरुलाई पत्तासाप हुने गरि लखेट्नुपर्ने बताए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :