निर्वाचनमा सहभागी भएर देश बेच्ने दलालहरू छान्नु हुँदैन : चार दल

बुटवलमा निर्वाचन अवज्ञा सभा भव्य रूपमा सम्पन्न

निर्वाचनमा सहभागी भएर देश बेच्ने दलालहरू छान्नु हुँदैन : चार दल

बुटवल : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालको चारदलीय मोेर्चाले बुटवलमा निर्वाचन बहिष्कार/अवज्ञा सभा भव्य रूपमा सम्पन्न गरेको छ । शुक्रबार आयोजित अवज्ञा सभामा चार कम्युनिस्ट दलका नेताहरूले दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध सडकमा आउन जनतालाई आह्वान गरे । उनीहरूले निर्वाचनमा सहभागी भएर राष्ट्रघाती दलालहरू चयन गर्नु नहुने र वैज्ञानिक समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने पनि बताए ।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले भने, ‘यो व्यवस्थामा हुने चुनावले भ्रष्टाचारी, कालोबजारी, शैक्षिक माफिया, राष्ट्रघाती, जनघाती र विदेशी दलालहरूलाई जिताउने भएकाले सबै जनताले यो चुनावको अवज्ञा गर्नुपर्ने बताए । ‘हामीले यो चुनाव अवज्ञा गर्ने नीति लिएका छौँ । हामी देशमा राजनीतिक स्थिरता, समृद्धि, सामाजिक रूपान्तरण, शान्ति र स्वाधीनताका लागि स्वाधीन संयुक्त सरकार निर्माण गर्दै नयाँ जनवादसहितको वैज्ञानिक समाजवाद स्थापना गर्न सङ्घर्ष गरिरहेका छौँ’, संयोजक कञ्चनले भने ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेलले भने, ‘दलाल संसदीय व्यवस्थाको अवसान सुरु भइसकेको छ । दलालहरूलाई भोट दिएर राष्ट्रघात–जनघातमा समावेश नहुन जनतालाई आह्वान गर्दछौँ ।’

गजुरेलले अगाडि भने, ‘दलालहरूलाई भोट दिएर देशबेचुवाहरूको मतियार बन्नु हुँदैन । त्यसैले भोट दिन गएर दलालहरूको देश बेच्ने लाइसेन्स नवीकरण नगरौँ । वर्तमान अवस्थामा देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको छ । संसदीय व्यवस्थाले जनतालाई केही पनि दिन सकेको छैन । हामी सबै मिलेर जनगणतन्त्रका लागि सङ्र्घष गर्नुपर्छ । केही मान्छेहरू फेरिएर हुँदैन, यो व्यवस्था नै बदल्नुपर्छ ।’

नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले भने, ‘निर्वाचनलाई सक्रिय बहिष्कार गरेर दलाल संसदीय व्यवस्थालाई धक्का दिनुपर्छ । यो चुनावमा भोट हालेर कसैलाई जिताउनु भनेको देशमा समृद्धि ल्याउनु होइन, देशलाई अझ बरबाद पार्नु हो ।’ नेता नेपालीले देशमा क्रान्तिकारी ध्रुवीकरणको आवश्यकता रहेको औँल्याउँदै ४ पार्टीको बहिष्कार आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिए ।

माओवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव रामनारायण पालले भने, ‘व्यवस्थाको नाउँ फेरिए पनि जनताको अवस्था उस्तै छ । वैज्ञानिक समाजवादका आधार तयार गर्न संसदीय निर्वाचन बहिष्कार गर्नु आवश्यक छ ।’

अवज्ञा सभा नेकपा (बहुमत) रूपन्देहीका इन्चार्ज प्रवेशको अध्यक्षता, क्रान्तिकारी माओवादीका रूपन्देही संयोजक विनोद मरासिनीको स्वागत र नेकपा (मशाल) का नेता दीपक पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

बुटवल बसपार्कबाट जनर्यालीसहित सुरु भएको जुलुस बीपीचोकमा पुगेर अवज्ञा सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :