राष्ट्रघाती दलाल जन्माउने संसदीय चुनाव अवज्ञा/बहिष्कार गर्नैपर्छ : चार दल

राष्ट्रघाती दलाल जन्माउने संसदीय चुनाव अवज्ञा/बहिष्कार गर्नैपर्छ : चार दल

चितवन : नेकपा (बहुमत) का संयोजक कञ्चनले दलाल पुँजीवादी व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चुनाव अवज्ञा/बहिष्कार गर्नुपर्ने बताएका छन् ।

दलाल पुँजीवादी व्यवस्था रहँदासम्म जतिसुकै प्रधानमन्त्री, मन्त्री र माननीय बने/बनाए पनि त्यसले अस्थिरता, लूट, भ्रष्टाचार, राष्ट्रघात, जनघातबाहेक केही नदिएको र अब पनि केही नदिने संयोजक कञ्चनले बताए । दलाल पुँजीवादीहरूले ओम्नी, एनसेल, वाइडबडी, ललिता निवासकाण्डलगायत भ्रष्टाचार र घोटालाका हजारौँ काण्ड गराएर प्राकृतिक सम्पदा, राष्ट्रिय सम्पत्ति दोहन गर्दै देश र जनतालाई कङ्गाल बनाएकाले यो व्यवस्थाको अन्त्य गर्नुपर्ने र त्यसका लागि संसदीय चुनाव अवज्ञा गर्नुपर्ने धारणा पनि नेता कञ्चनले राखे ।

वैज्ञानिक समाजवादमा हरेक जनताको सम्पत्ति, स्वास्थ्य र सामाजिक सम्पदाको सुरक्षा हुने भएकाले जनताले देश र व्यवस्थाप्रति गर्व र अपनत्वबोध गर्ने नेकपा (बहुमत) का संयोजक कञ्चनले बताए । वैज्ञानिक समाजवादले मात्र देश र जनताको हित गर्ने उनको भनाइ थियो । संसदीय व्यवस्थाको अन्त्य गरी पचास प्रतिशत जनताको मतबाट प्रत्यक्ष निर्वाचित हुने कार्यकारी प्रमुख निर्वाचन भएमा देशको प्रगति हुने र राष्ट्रियताको रक्षा हुने उनले बताए । दलाल पुँजीपति वर्गलाई चयन गर्ने र दलालबाट शोषित हुने संसदीय पुँजीवादी व्यवस्था अन्त्य भएपछि मात्र राष्ट्रियताको पनि रक्षा हुने उनको भनाइ थियो । संसदीय व्यवस्था विकासविरोधी, जनविरोधी, राष्ट्रियताविरोधी भएका प्रमाण र उदाहरणहरू प्रस्तुत गर्दै संयोजक कञ्चनले यो व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न देशभक्त, क्रान्तिकारी, स्वाभिमानी जनता र शक्तिहरू सडक आन्दोलनमा उत्रिनुपर्ने पनि बताए ।

नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेलले संसदीय व्यवस्थाले गराउने चुनावले राष्ट्रघात, जनघात, भ्रष्टाचार गर्ने दलालहरूलाई त्यसको लाइसेन्स उपलब्ध गराउने भएकाले यसको सशक्त रूपले बहिष्कार/अवज्ञा गर्नुपर्ने बताए । आमजनताले समर्थन गरेको र राष्ट्रको हित गर्ने निर्वाचन भएकाले २०६४ सालको संविधानसभाको निर्वाचनमा माओवादी पार्टीले भाग लिएको स्मरण गराउँदै नेता गजुरेलले संविधान लेख्नका लागि गरिएको संविधानसभा विघटन गरेर नक्कली संविधानसभा खडा गरी जनताको त्याग, शौर्य र बलिदानको समाप्ति र प्रतिक्रान्तिकारी बुख्याँचा खडा गराइएकाले संसदीय चुनाव बहिष्कार गरी वैज्ञानिक समाजवादी क्रान्तिमा लामबद्ध हुनुको कुनै विकल्प नरहेको नेता गजुरेलले बताए ।

कार्यक्रममा नेकपा मसालका विमल शर्मा र माओवादी कम्युनिस्ट पार्टीका महासचिव आरएन पालले पनि संसदीय निर्वाचन अवज्ञा/बहिष्कार गर्नुपर्ने कारण प्रस्तुत गरेका थिए ।

निर्वाचन अवज्ञा/बहिष्कार कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) चितवनका इन्चार्ज विकासले, सञ्चालन नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा चितवन जिल्ला संयोजक दुर्गाप्रसाद सुवेदीले र स्वागत मन्तव्य नेकपा मसाल चितवनका प्रवक्ता कमल गिरीले गरेका थिए ।

हजारभन्दा बढी नेता, कार्यकर्ता, शुभचिन्तकका बीचमा सम्पन्न अवज्ञासभाले जनतामा संसदीय व्यवस्थाप्रति घृणा र वैज्ञानिक समाजवादप्रति आशा र विश्वास जगाएको सहभागीहरूले बताएका थिए ।

चार पार्टीले असोज २३ गते चितवनबाट सुरु गरेको अवज्ञा/बहिष्कार सभा देशव्यापी सम्पन्न हुने र कात्तिक २३ गते काठमाडौँमा विशाल सभा आयोजना गरेपछि नयाँ चरणको कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :