विभिन्न पार्टीका विद्रोहीहरू नेकपा (बहुमत) मा सम्मिलित

विभिन्न पार्टीका विद्रोहीहरू नेकपा (बहुमत) मा सम्मिलित

काठमाडौँ : नेकपा (बहुमत) मा विभिन्न पार्टीका विद्रोही क्रान्तिकारीहरू सम्मिलित हुने क्रम बढेको छ । काठमाडौँमा बुधबार आयोजित पार्टी सम्मिलन कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्यदेखि केन्द्रीय समितिसम्मका युवा नेताहरू नेकपा (बहुमत) मा सम्मिलित भएका हुन् ।

नेकपा (बहुमत) ले आयोजना गरेको पार्टी सम्मिलन कार्यक्रममा प्रमुख अतिथि पार्टी संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य सागर लिम्बु, उक्त पार्टीका केन्द्रीय सदस्यहरू बद्रीकुमार चौलागाईं, सकल लिम्बु, बद्री चौलागाईं, सविन दाहाल, आतिश मिश्र, निश्चल परियारका साथै पुराना वामपन्थी नेता रामचन्द्र बलामीलाई पार्टीमा समाहित गराएको घोषणा गर्दै ढाकाको खादा लगाइदिएर स्वागत र सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कञ्चनले संसदीय संशोधनवादी विप्लवहरूसँग विद्रोह गरेपछि आफूहरूले अब फुट र विभाजनको शृङ्खला अन्त्य भएको, क्रान्तिकारी ध्रुवीकरण र एकताअभियान सुरु भएको घोषणा गरेको प्रमाणित हुँदै गएको बताए । नेकपा (बहुमत) ले वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा निर्माण गरी अघि बढेपछि अन्योलमा रुमल्लिरहेको नेपालको कम्युनिस्ट आन्दोलनले गति र दिशा समातेको प्रस्ट पार्दै संयोजक कञ्चनले यसअघि नेपालमा प्रयोग गरिएका कार्यदिशा चिनियाँ क्रान्तिको कार्यदिशाबाट प्रभावित भएको पनि बताए ।

संयोजक कञ्चनले जनताको शक्तिमा बलपूर्वक दलाल पुँजीवादी सत्ता बदल्न वैज्ञानिक समाजवादी क्रान्तिको राजनीतिक कार्यदिशाका साथै जनसङ्घर्ष, जनविद्रोह र जनप्रतिरोधको सैन्य कार्यदिशा अघि बढाएको र यही कार्यदिशाको शृङ्खलाले सबै क्रान्तिकारी कम्युनिस्टहरूलाई नेकपा (बहुमत) मा ध्रुवीकृत हुन प्रेरित गरिरहेको पनि बताए ।

क्रान्ति सम्पन्न गर्न शक्तिशाली सङ्गठन निर्माण हुनुपर्ने र त्यसका लागि छरिएर रहेका क्रान्तिकारी शक्तिहरूबीच क्रान्तिकारी ध्रुवीकरण हुनुपर्ने प्रस्ट पार्दै प्रमुख अतिथि कञ्चनले आफूहरू अत्यधिक लचकताका साथ पार्टीएकताका लागि तयार भएको पनि बताए । मुलुकमा क्रान्तिकारी माओवादी शक्ति, संसद्वादी, दक्षिणपन्थी, प्रतिक्रियावादी शक्ति र संसदीय प्रणालीभित्रका ढुलमुल शक्ति रहेको संश्लेषण प्रस्तुत गर्दै नेता कञ्चनले मुलुकमा विद्यमान राष्ट्रियता, जनतन्त्र, जनजीविका, भ्रष्टाचार, वित्तीय शोषणलगायत विकृति–विसङ्गतिविरुद्ध आफ्नो पार्टीले निरन्तर सङ्घर्ष अघि बढाउने र देशभक्त, क्रान्तिकारी तथा जनतान्त्रिक शक्तिहरूलाई गोलबद्ध पार्दै लैजाने पनि स्पष्ट पारे ।

नेकपा (बहुमत) का केन्द्रीय सचिवालय सदस्य एवम् बागमती ब्युरो इन्चार्ज शरद रसाइलीले सञ्चालन गरेको सम्मिलन कार्यक्रममा सम्मिलितहरूमध्ये स्वतन्त्र वामपन्थी नेता रामचन्द्र बलामी, सागर लिम्बु, बद्रीकुमार चौलागाईंलगायतले आफूहरू अवसर खोज्न नभएर बलिदानका लागि नेकपा (बहुमत) मा समाहित भएको घोषणा गरेका थिए ।

कार्यक्रममा नेकपा (बहुमत) का कार्यालय सदस्यहरू, सचिवालय सदस्यहरू, नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू, जवस÷मोर्चाका पदाधिकारी तथा सदस्यहरूका साथै उल्लेख्य मात्रामा सञ्चारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :