अखिल (क्रान्तिकारी) द्वारा बुटवलका विद्यालयमा तालाबन्दी

अखिल (क्रान्तिकारी) द्वारा बुटवलका विद्यालयमा तालाबन्दी

बुटवल  : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले बुटवलका सामुदायिक र संस्थागत विद्यालयहरूमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

अखिल (क्रान्तिकारी) रूपन्देहीले विभिन्न शैक्षिक मागहरू समेटेर यसअघि रूपन्देहीका स्थानीय शिक्षा शाखाहरूमा ५ बुँदे मागपत्र बुझाएको थियो । त्यसलगत्तै केही सामुदायिक तथा संस्थागत विद्यालयहरूमा समेत मागपत्र बुझाएको थियो । मागप्रति गम्भीरता नदेखाएका कारण बुटवलका कालिका मानवज्ञान मावि, कान्ति मावि, नवीन औद्योगिक कदरबहादुर मावि र न्यु होराइजन इङ्लिस बोर्डिङ स्कुलका लेखा शाखाहरूमा अनिश्चितकालीन तालाबन्दी गरेको जनाइएको छ ।

अखिल (क्रान्तिकारी) ले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली २०७७’ मा व्यवस्था गरिएबमोजिम सार्वजनिक विद्यालयहरूले माध्यमिक तहसम्म विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा तथा पाठ्यपुस्तकवापतको शुल्क लिन नपाइने व्यवस्था जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्ने, संस्थागत विद्यालयहरूले मनोमानी लिइरहेको चर्काे शुल्क नियन्त्रण गर्दै आमगरिखाने अभिभावकले तिर्न सक्ने शुल्क निर्धारण गर्नुपर्ने, सामुदायिक विद्यालयहरूले अभिभावक सहयोगका नाममा लिने चर्काे शुल्कका कारण आधारभूत वर्गका विद्यार्थी विद्यालयको पहुँचबाट कट्दै गइरहेको अवस्था अन्त्य गर्नुपर्ने, सम्बन्धित स्थानीय तहभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा दिइने, ऐनमा व्यवस्था भएबमोजिमको छात्रवृत्ति पारदर्शिताका लागि सम्बन्धित विद्यालयबाट छात्रवृत्ति पाउने विद्यार्थीको सूची सङ्कलन र छानबिन गरी स्थानीय शिक्षा शाखाले नै सूची प्रकाशन गर्नुपर्ने, विद्यालयमा हजारौँ विद्यार्थीको चाप हुने, कुनै विद्यालयमा विद्यार्थी अति न्यून हुने अवस्था अन्त्यका लागि एउटै स्थानीय तहभित्रका विद्यालयहरूको समान स्तरोन्नतिका लागि कार्यक्रम बनाउनुपर्ने, सबै सामुदायिक विद्यालयमा आवश्यक शिक्षक दरबन्दी र पूर्वाधारको व्यवस्था गर्नुपर्नेलगायत विभिन्न विषय समेटेर स्थानीय शिक्षा शाखा र विद्यालयहरूमा मागपत्र बुझाएको तर त्यस विषयमा सरोकारवालाले कुनै सुनुवाइ नगरेको र मागप्रति आलटाल गरेकाले अनिश्चितकालीन तालाबन्दी गरेर दबाब दिन बाध्य भएको अखिल (क्रान्तिकारी) रूपन्देही संयोजक पारस राहादीमगरले बताए ।

आफूहरूले राखेका मागहरू आमविद्यार्थी, अभिभावक तथा सरोकारवाला सबैको सरोकारको विषय भएकाले यस आन्दोलनमा सबैले साझा ऐक्यबद्धता जनाई आन्दोलनलाई निष्कर्षमा पुर्याउन सबैमा अपिल गरिएको पनि संयोजक पारसले बताए ।

संयोजक पारसले भने, ‘यो सबैको सरोकारको विषय हो । यो शिक्षालाई राज्यले सम्पूर्ण तरिकाले आफ्नो दायित्वमा लिनुपर्छ । त्यसका लागि विद्यार्थी, अभिभावक, शिक्षक सबैले राज्यलाई दबाब दिनुपर्छ । यो आन्दोलन सबैको सरोकारको विषय भएकाले कोही पन्छिन मिल्दैन । हाम्रो सङ्गठनले आन्दोलनको उठान र नेतृत्व गरेको छ र गर्छ ।’

चरणबद्ध रूपमा आन्दोलन गरिरहेको अखिल (क्रान्तिकारी) ले तालाबन्दीपछि पनि सम्बन्धित निकायले सुनुवाइ नगरे थप कडा सङ्घर्षमा जानेसमेत क्रान्तिकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :