सर्लाहीमा नेकपा (बहुमत) को राष्ट्रिय जागरण अभियान व्यापक बन्दै

सर्लाहीमा नेकपा (बहुमत) को राष्ट्रिय जागरण अभियान व्यापक बन्दै

सर्लाही : नेकपा बहुमत) सर्लाहीले अभियान तीव्र बनाएको छ । अभियानमा सङ्गठन निर्माण, वाल पेन्टिङ र पर्चा वितरण भइरहेको सर्लाहीबाट प्राप्त समाचारमा उल्लेख छ ।

अभियानकै क्रममा बागमती नगरपालिका वडा नम्बर ३ जिरिमायाटोलमा विष्णुमाया अध्यक्ष रहने गरी अखिल नेपाल महिला सङ्गठनको ११ सदस्यीय एकाइ समिति गठन गरिएको छ । बागमती ३ मै सजिताको अध्यक्षतामा अनेरास्ववियु (क्रान्तिकारी) को ५ सदस्यीय एकाइ समिति गठन गरिएको छ ।

त्यसैगरी बागमती १० शङ्करपुरमा अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घको एकाइ समिति गठन भएको छ । रामएकवल राय अध्यक्ष रहने गरी १५ सदस्यीय एकाइ समिति गठन गरिएको हो । त्यसैगरी बागमती १० मा तिलीमायादेवी सहनी अध्यक्ष रहेको १५ सदस्यीय एकाइ समिति गठन गरिएको छ ।

अभियानमा दलाल संसदीय प्रणालीको भन्डाफोर, एमसीसी, एसपीपी, राष्ट्रघाती सम्झौताहरूको भन्डाफोर स्थानीय तहहरूमा भएको बेथितिको भन्डाफोर गरिएको छ । अभियान टोलीको नेतृत्व पार्टी केन्द्रीय सचिवालय सदस्य तथा मधेस प्रदेश इन्चार्ज नयनले गरिरहेका छन् ।

बागमती १० को भेलामा सुमन, सर्लाही जिल्ला इन्चार्ज निर्माण, अर्जुन र महिला सङ्गठनकी केन्द्रीय कोषाध्यक्ष सन्जुले सम्बोधन गरेका थिए । सम्बोधनमा अर्जुनले मधेसमा सुकुमबासी समस्या जटिल रहेको बताए । यसको समाधानका लागि सबै राजनीतिक दलले साथ दिनुपर्ने उनको भनाइ थियो ।

जिल्ला इन्चार्ज निर्माणले कुमार पौडेलका हत्याराहरूलाई सरकारले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरे । सम्पूर्ण सुकुमबासीले कुमार पौडेलको हत्याका कारण वास्तविक सुकुमबासी उत्पीडनमा परेको भनेर दुःख व्यक्त गरेको र देशैभरिका वास्तविक सुकमबासीले लालपुर्जा प्राप्त नगरेसम्म सहिद कुमारको सपना पूरा नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :