कास्मिरमा मर्दै गोर्खा फौज

rat3
कुमाउ र गढवालको युद्धमा सन् १८१६ मा पक्राउ गरिएका गोर्खाली फौजलाई सुगौली सन्धिपछि बेलायतले नियमित भर्ती गर्दै आएको छ ।

गोर्खाली सेना युद्धबन्दीको निरन्तरता हो भनिरहनु पर्दैन । सन् १९४७ मा भारतबाट बेलायत पलायन हुँदा गोर्खा भर्तीलाई नेपाल, भारत, बेलायत सम्झौताअनुसार भारतीय गोर्खा फौज र ब्रिटिस गोर्खा फौज गरी दुई भागमा विभाजित गरियो । सम्झौताअनुसार गोर्खाली फौजलाई आन्तरिक सुरक्षामा मात्र प्रयोग गर्नुपर्छ । तेस्रो देशका विरुद्ध प्रयोग गर्नु भनेको नेपाल उपनिवेश भएको वा तेस्रो देशका विरुद्ध आक्रमणमा उत्रिएको अवस्था हो ।

त्यसैले गोर्खा फौजलाई ब्रिटिस र भारतले आन्तरिक सुरक्षाका मामिलामा मात्र प्रयोग गर्नसक्ने प्रावधान छ । तर ब्रिटिसले फोकल्यान्ड टापुको मुद्दालाई लिएर भएको युद्धमा अर्जेन्टिनामा गोर्खाली फौज प्रयोग गरेको थियो भने भारतले चीनसँगको सन् १९६२ को युद्ध र पाकिस्तानसँग कारगिलमा भएको युद्धमा गोर्खा फौज प्रयोग गरेको थियो । भारत–पाक सीमा र कास्मिर द्वन्द्वमा भारतले पटकपटक गोर्खा फौज प्रयोग गर्दै आएको छ । यसैक्रममा हालै भारत र पाकिस्तान द्वन्द्व पूर्ण युद्धमा धकेलिने अनुमान भैरहेको बेला भारतले पाकिस्तानका विरुद्ध भारतीय गोर्खा फौजलाई प्रयोग गर्ने निर्णय गरेको छ ।

उक्त दुःखद्, लज्जास्पद तथा गैरकानुनी निर्णय सार्वजनिक हुँदानहुँदा गोर्खा फौजमा कार्यरत धरानका विमल तामाङको मृत्यु भैसकेको छ । त्यसले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र कूटनीतिक क्षेत्रमा असन्तुलन पैदा गरेको छ । त्यसकारण नेकपा (माओवादी) ले गोर्खा भर्ती खारेज गर्न नेपाल सरकारसँग माग गरेको छ । उसले गोर्खा फौजलाई पाकिस्तानका विरुद्ध प्रयोग नगर्न माग गर्दै काठमाडौँ लैनचौरस्थित भारतीय दूतावासमार्फत भारत सरकारलाई ज्ञापनपत्र बुझाउन शुक्रबार १२ बजे काठमाडौँको शान्तिबाटिकाबाट विरोध जुलुस आयोजना गरेको थियो ।

जुलुस सुरु हुनासाथ प्रहरीले माओवादीका पीबीएम अनिल शर्मा ‘विरही’, युवा नेता केशव शर्मा, सूर्य भुजेल, टङ्क जोशी, आकाश शर्मा, दुर्गाप्रसाद अधिकारी, प्रकाश अधिकारी, धु्रव अधिकारी र रवि गोलेलाई गिरफ्तार गरेको थियो । त्यसैगरी सडकमा हिँडिरहेका सर्वसाधारण जनता धावा ग्याम्सो लामा, बालकृष्ण भट्ट, विष्णु के.सी., दिनेश रेग्मी र कृष्ण पाललाई पक्राउ गरेको थियो ।

उक्त गिरफ्तारीको विरोधमा माओवादी कार्यकर्ताले अपराह्न १ बजे असनबाट प्रदर्शन गर्दै क्षेत्रपाटी पुगेका थिए । क्षेत्रपाटीमा भएको सभालाई सो पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले सम्बोधनगरेका थिए । उता पोखरामा हवाई अड्डा नजिक हनुमान टोलमा माओवादी कार्यकर्ताले हावा भरिएका ठूला बेलुन प्रयोग गरेर कालोझन्डा प्रदर्शन गरेका थिए । प्रहरीले पोखराबाट नन्दलाल तिवारी, भीम चापागाईं, टीकाराम घिमिरे र बमबहादुर हितामगरलाई पक्राउ गरेको थियो ।

त्यसैगरी १७ गते प्रहरीले ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दायर गरेको छ । सरकारको त्यसप्रकारको राष्ट्रघाती रबैयाका विरुद्ध नेकपा (माओवादी) का स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले बिहीबार साँझ वक्तव्य जारी गर्दै सो घटनाको निन्दा गर्दै गोर्खा भर्ती खारेजीको माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :