सहिद रामवृक्षको स्मरण गर्दै र सडकको फोहोर उठाउँदै नेकपा (बहुमत) पूर्वी ब्युरोले सुरु गर्यो दुईमहिने अभियान

सहिद रामवृक्षको स्मरण गर्दै र सडकको फोहोर उठाउँदै नेकपा (बहुमत) पूर्वी ब्युरोले सुरु गर्यो दुईमहिने अभियान

विराटनगर : नेकपा (बहुमत) को पूर्वी ब्युरोले पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवस मनाउँदै सडकको फोहोर उठाएर आरम्भ गरेको छ । पार्टीले १ नम्बर प्रदेशको राजधानी बिराटनगरको महेन्द्रचोकमा सरसफाइ गर्नुका साथै सहिद यादवको स्मृति दिवस मनाएर अभियान उद्घाटन गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सदस्य एवम् पूर्वी ब्युरो इन्चार्ज निर्मलले अभियानको झन्डा/ब्यानर, अपिल तथा सरसफाइ सामग्री अभियान टोली सहप्रमुख नरेशलाई हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

अभियान टोलीले महेन्द्रचोक, ट्राफिकचोकलगायत ठाउँमा सरसफाइ गर्नुका साथै ७ वटा डस्टबिनसमेत राखेको छ ।

महान् सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसर पारेर बिहीबार उद्घाटित अभियान दुई महिनासम्म सञ्चालन हुने र यसले व्यापक सङ्गठनात्मक आधार तयार गरी समाजवादी क्रान्तिको आधारलाई विकसित गर्ने लक्ष्य लिएको पार्टीका धनकुटा जिल्ला इन्चार्ज निश्चलले बताए ।

सरसफाइपछि आयोजित कोणसभामा सम्बोधनका क्रममा अभियान सहसंयोजक तथा मोरङ इन्चार्ज नरेशले सहिद रामवृक्ष यादवको योगदानको चर्चा गर्दै अभियानको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले नेकपा (बहुमत) पुनर्गठनको आवश्यकता र औचित्यबारे पनि बोलेका थिए ।

पार्टीका झापा इन्चार्ज मनीषको सञ्चालनमा भएको अभियान उद्घाटनपछिको कोणसभामा पार्टी नेताहरू सागर, पार्वती, विद्यार्थी नेता निराजनलगायत सयौँ पार्टी कार्यकर्ता, समर्थक र शुभचिन्तकको सहभागिता थियो ।

उक्त सरसफाइ कार्यक्रमपछि स्थानीय व्यवसायीहरूले सडकको फोहोर मात्र नभएर राजनीति र व्यवस्थाभित्रको फोहोरलाई बढारेर जनताको वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन नेकपा (बहुमत) सफल रहोस् भन्ने शुभेच्छासहित आफूहरू पनि स्वतस्फूर्त अभियानमा सहभागी भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :