राज्यसम्पत्तिको दोहन बन्द गर्न माग गर्दै युवा जनस्वयम्सेवकद्वारा मागपत्र पेस

राज्यसम्पत्तिको दोहन बन्द गर्न माग गर्दै युवा जनस्वयम्सेवकद्वारा मागपत्र पेस

रुकुम पश्चिम : वर्तमानको अन्योलपूर्ण तथा सङ्कटपूर्ण परिस्थितिको फाइदा लिएर दलाल, भ्रष्ट, माफिया, तस्कर, सूदखोर र मिटरब्याजीहरूले राज्यसम्पत्तिको दोहन गरिरहेको विषयलाई लिएर युवा जनस्वयम्सेवक नेपाल रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालय रुकुमलाई मागपत्र बुझाउँदै जिल्लामा भएका समस्याहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्गठनले जिल्लामा भएका विकृति, विसङ्गति र अपराधमा संलग्न पात्र र प्रवृत्तिका विरुद्ध निर्मम सङ्घर्ष अगाडि बढाउन खोजिरहेको भन्दै युवा जनस्वयम्सेवक नेपालले यसको नियन्त्रण र निरूपण सम्बन्धित निकायले नै गर्नुपर्ने बताएको छ ।

युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय सदस्य तथा रुकुम संयोजक शिव रसाइलीले मङ्गलबार मागपत्र पेस गर्दै जिल्लामा सञ्चालित लघुवित्तीय संस्थाले मनपरी ब्याज असुल गरिरहेकाले लघुवित्तीय संस्थाको ब्याजलाई वैज्ञानिक र वस्तुवादी तवरले निर्धारण गरी कार्यान्वयन गर्न माग गरेका छन् । मिटरब्याजमार्फत केही सीमित व्यापारीहरूले चरम आर्थिक शोषण गरिरहेको गुनासो आइरहेकाले अनुसन्धान गरी कारबाही गर्नुपर्ने मागपत्रमा उल्लेख छ । यस्तै जिल्लामा लागूपदार्थ उत्पादन, बिक्रीवितरण र प्रयोगको अवस्था असामान्य रहेको भन्दै यसको रोकथाम र न्यूनीकरणमा जोड दिन माग गरिएको छ ।

जिल्ला प्रशासनलाई बुझाइएको उक्त मागपत्रमा असारे विकासका नाममा चरम भ्रष्टाचार, अनियमितता र घुसपैठ हुँदै आएकाले असार मसान्तमा भुक्तानी भएका सबै आयोजनाहरूको अनुगमन र अनुसन्धान गर्नुपर्ने र बजारमा व्याप्त महँगी, कालोबजारी र गुणस्तरहीन खाद्यवस्तुको बिक्रीमा रोकथाम तथा नियन्त्रण गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :