झन्डै पाँच लाख हिनामिना गर्ने पूर्वप्रधानाध्यापक यादवलाई उन्मुक्ति दिइए सङ्घर्ष गर्ने अखिल क्रान्तिकारीको चेतावनी

रूपन्देही : अखिल क्रान्तिकारी रूपन्देहीले ४ लाख ८० हजारभन्दा बढी रकम हिनामिना गरी स्वीकार गरिसकेका रूपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ पिपरहियास्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कन्हईप्रसाद यादवलाई उन्मुक्ति दिइए सङ्घर्ष गर्ने चेतावनी दिएको छ । अखिल क्रान्तिकारी रूपन्देहीका संयोजक पारस राहादी मगरले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी शिक्षक यादव र उनलाई संरक्षण गर्ने निकायको गलत र घृणित कृत्यको घोर भत्र्सना गर्दै उनले हिनामिना गरेको रकम तत्काल असुल गर्न र भ्रष्ट र अपारदर्शी यादवलाई संरक्षण नगर्न चेतावनी दिएका छन् ।

संयोजक पारसले जारी गरेको विज्ञप्तिमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ पिपरहियास्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कन्हईप्रसाद यादवले विद्यालयमा आर्थिक वर्ष २०७६/०७७ को हिसाब हिनामिना गरेपछि उनका नाममा सामाजिक लेखापरीक्षण गर्दा विभिन्न शीर्षकमा ४ लाख ८० हजार १ सय ८० रुपैयाँ २० पैसा बेरुजू आएको, विद्यालय व्यवस्थापन समितिले उक्त रकम फिर्ता गर्न कागज गराए पनि रकम फिर्ता नगरेपछि फिर्ता नगर्दासम्म तत्कालीन प्रअ यादवलाई विद्यालयमा हाजिर नगराउने गरी निलम्बन गरेको र हालसम्म पनि यादवले उक्त रकम विद्यालयलाई फिर्ता नगरेको उल्लेख छ ।

विज्ञप्तिमा यादवलाई सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालको हस्ताक्षर भएको पत्र मिति २०७९/३/१२ गते नगरपालिकाबाट २०७८ कात्तिक २५ गतेदेखि २०७९ जेठ १७ गतेसम्मको हाजिरी प्रमाणित गरी सेवासुविधासमेत उपलब्ध गराउन विद्यालयलाई अनुरोध गरेको पत्र सार्वजनिक भएको पनि जनाइएको छ ।

त्यसैगरी यादवको कर्तुत नगरपालिकालाई जानकारी हुँदाहुँदै पनि उनलाई कारबाही गर्नुको सट्टा विद्यालयमा उपस्थित नै नभएको व्यक्तिलाई नगरपालिकामा संरक्षण गरी हाजिरी गराउने, विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि विद्यालयमा हाजिरी प्रमाणित पठाई सेवासुविधा उपलब्ध गराउने, प्रअले आर्थिक हिनामिना गरेको स्वीकार गरेको प्रमाण हुँदा पनि उनकै संरक्षण गरेको भन्दै विज्ञप्तिमा आक्रोश व्यक्त गरिएको छ ।

विज्ञप्तिमा शिक्षक यादव र उनलाई संरक्षण गर्ने निकायको यसप्रकारको गलत र घृणित कृत्यको घोर भत्र्सना गर्दै यादवले हिनामिना गरेको रकम तत्काल असुल गर्न र यसप्रकारले भ्रष्ट र अपारदर्शी यादवलाई संरक्षण नगर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गरिएको छ । त्यसैगरी अन्यथा भएको खण्डमा सशक्त सङ्घर्ष गर्ने र सङ्घर्षबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय नै हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :