दलाल पुँजीवादी सत्ताविरुद्ध सङ्घर्ष गर्ने नेकपा (बहुमत) जाजरकोटको निर्णय

दलाल पुँजीवादी सत्ताविरुद्ध सङ्घर्ष गर्ने नेकपा (बहुमत) जाजरकोटको निर्णय

खलङ्गा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोटको प्रशिक्षण तथा बैठक दलाल पुँजीवादी सत्ताविरुद्ध निरन्तर सङ्घर्ष गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । असार ३ गतेदेखि सुरु भएको प्रशिक्षण तथा बैठक शनिबार सम्पन्न भएको हो ।

नेकपा (बहुमत) जाजरकोट जिल्ला संयोजक महानको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण एवम् बैठकमा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य एवम् बाँके–बर्दिया इन्चार्ज अनन्तको प्रमुख आतिथ्य थियो । कार्यक्रममा पार्टीका जिल्लाभरका सम्पूर्ण नेता–कार्यकर्ताको उत्साहजनक सहभागिता थियो ।

प्रशिक्षणपछि सम्पन्न बैठकले जाजरकोट जिल्लामा वित्तीय सस्थाले चलाएको लुटको धन्दा र आर्थिक आतङ्क अन्त्य गर्न जनसङ्घर्ष गर्ने, जिल्लाका विभिन्न क्षेत्रमा रहेको भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्ध सङ्घर्ष गर्ने, शैक्षिक क्षेत्रमा विभिन्न बहानामा उठाइएको चर्को शुल्क फिर्ता गर्न दबाब दिने, दैनिक उपभोग्य सामानमा भएको अत्यधिक मूल्य वृद्धिविरुद्ध सङ्घर्ष गर्ने, राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप, गरिबी, अभाव, असमानतालगायत सबैखाले विभेदमा फसाउने दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्ने र पार्टीको कार्यनीति जनतामाझ प्रस्ट पार्न जिल्लाव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

भेलामा नेकपा (माओवादी केन्द्र) परित्याग गरी जनयुद्धदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका कुसे गापा ९ निवासी बरुण, विश्व, विश्वासलगायत कयौँ नेता–कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :