सहिदको सालिक बनाउने र सहिद परिवारलाई नियमित सहयोग गर्ने निर्णय गर्दै नेकपा (बहुमत) रामेछापको बैठक/प्रशिक्षण सम्पन्न

सहिदको सालिक बनाउने र सहिद परिवारलाई नियमित सहयोग गर्ने निर्णय गर्दै नेकपा (बहुमत) रामेछापको बैठक/प्रशिक्षण सम्पन्न

सिर्जनानगर (मन्थली) : नेकपा (बहुमत) रामेछापको प्रथम बैठक तथा राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न भएको छ । मन्थली सिर्जनानगरस्थित हित–जून स्मृति भवनको प्रेक्षालयमा बिहीबार सम्पन्न बैठकले एकीकृत जनक्रान्तिका सहिद रामकुमार श्रेष्ठलगायत जनयुद्धमा सालुमा सामूहिक बलिदान गर्ने सातजना सहिदको सालिक बनाउने प्रक्रिया सुरु गर्ने, सहिद परिवारलाई नियमित न्यूनतम् आर्थिक सहयोग गर्ने, राष्ट्रघाती एमसीसी सम्झौता, एनसेलको ठगी, महँगी, भ्रष्टाचारविरुद्ध जिल्लाभर सङ्घर्ष सञ्चालन गर्ने, सङ्गठन विस्तार अभियान चलाउनेलगायत निर्णय गरेको छ ।

बैठकले रामेछाप जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास तयार पार्ने, छुवाछूत, महिला हिंसा, सामाजिक विकृति–विसङ्गतिविरुद्ध सङ्घर्ष गर्ने, भ्रष्टाचार, कालोबजारी, कमिसनखोरीको अनुगमन र निगरानी गर्दै भ्रष्टाचारीलाई जनकारबाही गर्ने, नियमित श्रम गर्ने, निरन्तर उत्पादनमा जोडिने र श्रम संस्कृतिको विकास गर्ने निर्णय पनि गरेको छ । बैठकले जनयुद्धका महान् सहिदको बलिदानीसँग जोडिएको जनपुष्प साप्ताहिकलाई नियमित प्रकाशनसँग जोड्ने, जिल्लाका सहिद, बेपत्ता योद्धा र घाइते–अपाङ्ग योद्धाहरूको तथ्याङ्क सङ्कलन गरी प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सुशीलालाई अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी रामेछापको संयोजक, शिखालाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी रामेछापको संयोजक र विद्रोहीलाई अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घ रामेछापको संयोजकको जिम्मा दिने निर्णय गरेको छ ।

बैठकमा विद्रोही, शिखा, सुशीला, प्रज्वल, ज्वाला, आकाश, विनोद, पुष्पलगायत जिल्ला नेताले अनुभूतिपरक रिपोर्टिङ प्रस्तुत गरेका थिए । उजिरको संयोजकत्वमा पार्टीको ९ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरिएको जनाइएको छ ।

बैठकपछि आयोजित राजनीतिक–वैचारिक प्रशिक्षणमा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् रामेछाप–सिन्धुली–दोलखा जिल्ला इन्चार्ज विनय शर्माले प्रमुख अतिथिका रूपमा ऐतिहासिक जिल्ला रामेछापको कम्युनिस्ट आन्दोलनको इतिहास उठाएर क्रान्ति सम्पन्न गर्न प्रतिक्रियावादी, दलाल पुँजीवादी सत्ता र कम्युनिस्ट नाउँका संसद्‌वादी संशोधनवादीका विरुद्ध सशक्त रूपमा प्रतिरोध गर्नुपर्ने बताए । पार्टीको विशेष राष्ट्रिय भेला र पूर्ण बैठकबाट पारित पार्टी दस्ताबेजको व्याख्या गर्दै शर्माले प्रचण्डजस्तै विप्लव–प्रकाण्ड समूह पनि दलाल पुँजीवादको रक्षा गर्ने गलत बाटोमा हिँडेकाले उनीहरूलाई कारबाही गर्दै पार्टी पुनर्गठन गर्नुपरेको बताए ।

केन्द्रदेखि रामेछापसम्म पनि विचार, राजनीति र पार्टी/सङ्गठनको बहुमत आफूतिरै भएकाले सङ्घर्ष सञ्चालन गर्न आफूहरूलाई कुनै अलमल नभएको पनि उनले प्रस्ट पारे ।

विशिष्ट अतिथि नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पार्टीको केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरोका संयोजक अशोक सुवेदीले लालहरू (पुष्पलाल–गङ्गालाल–कृष्णलाल) को जिल्ला रामेछाप अब नयाँ कार्यदिशा र कार्यक्रमसँगै लालकिल्ला बन्ने अपेक्षा व्यक्त गरे । एकीकृत जनक्रान्तिको कार्यदिशालाई तत्कालीन महासचिव विप्लवले गोलमटोल बनाउँदै दलाल पुँजीवादी व्यवस्थाको चुनावमा लगेर समाप्त पारेकैले क्रान्तिकारीहरूले विद्रोह गरेर वैज्ञानिक समाजवादको नयाँ कार्यदिशा तय गरेर अघि बढ्नु परेको स्पष्ट पार्दै उनले कम्युनिस्ट पार्टीको रक्तरञ्जित झन्डा र गौरवशाली इतिहासलाई कसैले पनि व्यक्तिगत स्वार्थसिद्ध गर्ने साधन बनाउन नहुने बताए । उनले रामेछाप जिल्लाको समग्र राजनीतिक र कम्युनिस्ट पार्टीको इतिहास पनि राखेका थिए ।

नेकपा (बहुमत) केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरोका सदस्य एवम् रातो खबरका व्यवस्थापक झनक श्रेष्ठले क्रान्तिकारीहरूले उचित समयमा विद्रोहको झन्डा उचालेर क्रान्तिलाई बचाएको र अब यसलाई सफलतासम्म पुर्याउनुपर्ने बताए । नेकपा (बहुमत) निकट जनपत्रकार सङ्गठन काभ्रेका संयोजक नकुलले क्रान्तिकारीहरूको जिल्ला रामेछापले सहिदहरुको सम्मान गर्ने र सहिद परिवारलाई सहयोग गर्ने निर्णय गरेर अरू जिल्लालाई पनि राम्रो उदाहरण प्रस्तुत गरेको बताए । बैठकमा जिल्लाका अग्रज कम्युनिस्ट नेता पुष्पराज पौडेलले बैठकलाई दिएको शुभकामना सन्देश सुनाइएको थियो । बैठक नेकपा (बहुमत) रामेछापका संयोजक उजिरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :