क्रान्तिको नयाँ झण्डा

– लिला राना मगर

बगिरहेको नदीजस्तै
किन बगिरहन्छ यो देशमा
विचारको अविरल नदी ?

सुन्दर सपनाहरू बोकेर
निस्किएका योद्दाहरू
मरुभुमिमा गिट्टी चालिरहेछन् यतिखेर
देशको भुगोलभित्र खुलेयाम गरिरहेछन्
लेण्डुपेहरू देश बेच्ने घृणित व्यापार
र साटिरहेछन् सहिदका बलिदान बेचेर
केवल सत्ता र कुर्सी

बजाउँदै प्रतिक्रान्तिका
पुरातन खैँजडी र बाजा
गाएका छन् भ्रमका कथित नाराहरू
के थाहा दलाल रक्तपिपासुहरूलाई !
घर नफर्किएका वेपत्ता
क्रान्तिमा ढलेका योद्धाहरूको शोकमा
देश डुबिरहेको बेला
देश जित्न निस्किएका जिउँदा योद्धाहरू
जलिरहेछन् खाडीको आगोमा

ओ खलनायक !
किन दुख्दैन तिम्रो छाती ?
हजारौँ सहिदको रगतले
भिजेको अपार मातृभुमिमा
किन रोप्दैछौ फेरि नयाँ युद्धको बीऊ ?

याद गर, जिउँदो छ क्रान्तियोद्धा
तिम्रो भ्रमका काला पर्दाहरू च्यात्दै
बोकिरहेछ मुक्तियुद्धको रातो झण्डा
गरिरहेछ जनक्रान्तिको नयाँ आब्हान
र उठेको छ मालेमावादको नयाँ झण्डा

आफ्नै देशको दुर्दान्त अनुहार देखेर
एकचोटी निस्कनु छ मलाई बोकेर
विचारको बन्दुक
ढाल्नुछ देश बेच्ने लेण्डुपहरूको घोडा
ओ साथी ! कति पिउँछौं
जिन्दगीमा अपमानको घुट्की ?
बोकेको छु म यतिखेर
नयाँ क्रान्तिको अग्लो झण्डा
के तिमी पनि तयार छौ ?

२०७४ भदौ १९ गते ३ः५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :