एक्ले बहादुरले गर्ने क्रान्तिको मोडेल कस्तो हुन्छ ?

नेत्रविक्रम चन्दलाई पूर्वकार्यकर्ताको मार्मिक पत्र

एक्ले बहादुरले गर्ने क्रान्तिको मोडेल कस्तो हुन्छ ?

आदरणीय कमरेड नेत्रविक्रम चन्द

यति बेला म निकै भावुक र स्तब्ध छु । जुन रगत–पसिनाले तपाईं नेत्रविक्रम चन्दलाई विप्लव बनायौँ आज त्यही भन्न नपाउने अवस्थामा पुग्नुपर्दा आफैँप्रति समीक्षित छु । मैले तपाईंलाई आदरणीय कमरेड विप्लव भनेरै सम्बोधन गरौँला सोचेको थिएँ । फेरि वैधानिक बाटोमा आइसकेको व्यक्तिलाई अवैधानिक बनाउने षड्यन्त्र भयो भनेर केही कमरेडहरूले उजुरी गर्लान् कि भन्ने डरले विप्लव भन्न सकिनँ । यसर्थ अब तपाईंको नाममा धेरै खतरा मोल्न नसक्ने भएको छु । यसप्रति मैले निकै खिन्नता महसुस गरेको छु ।

लेखक : लोकेश विश्वकर्मा

आदरणीय कमरेड

मैले आजसम्म भित्रैदेखि श्रद्धा गर्ने सीमित पात्रमध्ये तपाईं शीर्ष स्थानमा नै हुनुहुन्थ्यो । तर आज त्यो बुझाइको रङ बिस्तारै धमिलो हुँदै खुइलिने खतराको सन्निकट छ । तपाईंका केही शैलीदेखि निकै प्रभावित छु, जस्तै तपाईं स्वास्थ्यको निकै ख्याल गर्नुहुन्छ । यसबाट म के बुझ्थेँ भने आफैँलाई माया नगर्ने नेतालाई जनताले पनि माया गर्दैन । तपाईं प्रायः भेटमा घरपरिवारको सन्चोबिसन्चोसम्म सोध्न भ्याउनुहुन्थ्यो । त्यसबाट बुझ्थेँ– मेरो कमान्डरले मेरो परिवारको जस्तै हजारौँ परिवारका बारेमा चासो र चिन्ता गर्छ । त्यसैले यो सही छ । तपाईंले आफैँले पसिना बगाएर केही फलाउनुहुन्छ । लाग्थ्यो कम्युनिस्ट श्रमसँग जोडिनैपर्छ भनेर एउटा सही सन्देश दिइरहनुभएको छ । सेतो कमिज लगाउँदा पनि सोच्थेँ कम्युनिस्ट नेता यस्तै निष्कङ्लक हुनुपर्छ जहाँ थोरै मात्र छिटाले पनि कुरूप देखिन्छ भन्ने आम सर्कुलर बुझ्थेँ । तपाईंको कालो पाइन्टको अर्थ हरपाइला वर्गवैरीका विरुद्ध रहस्य, शक्तिशाली भव्यता र परिष्कारको प्रतीक हो । अर्थात् सदैव विद्रोही मार्गमा रहिरहनेछ । कतिसम्म भने तपाईंका प्रत्येक कुरालाई आदर्शीकरण गर्ने कोसिसमा थाकेकै थिइनँ तर आज म तपाईंलाई हेर्दा थप थकितजस्तो हुन्छु । थाहा छैन यस्तो हुनुमा बढी दोषी तपाईं हो कि म आफैँ हुँ ?

आदरणीय कमरेड

प्रतिबन्धले जनतासँग छुटेको सम्बन्ध जोड्न निर्वाचनमा जाने कुराले मलाई त्यति छोएन जति कम्युनिस्ट पार्टी सजातीयहरूको एकत्वभन्दा पोलेको थियो । तीनबुँदे गर्दा त्यति दुःख मानेकै थिइनँ जति बेला जनमतसङ्ग्रहबाट समाजवाद ल्याउने सुन्दै गर्दा घाइते भएको थिएँ । प्रतिबन्ध फुकुवा भएकै केही दिनमा शिवगढी पुगेर आधा घन्टा भेट्दा जति आशावादी थिएँ त्यति निराश शिवगढी बैठकको चुनाबी एजेन्डाले बनायो ।

मैले विचारभन्दा बढी तपाईंको गति मन पराएको थिएँ । त्यो मेरो भावना रहेछ । आज विचार ब्युँझियो अनि बिस्तारै तपाईंलाई पढेँ, बुझेँ । फेरि पढेँ, फेरि बुझैँ अनि थाहा पाएँ– तपाईं कुनै कम्पनीको एक कुशल बजार प्रतिनिधिजस्तै कपाल नै नभएको मानिसलाई काइँयो बेच्ने कुशल व्यापारीजस्तो पाएँ, यो स्याम्पुले ६ महिना नुहाउनुस्, कपाल आउँछ अनि यो काइँयोले कोर्नुस् र तेल लगाउनुस् भन्दै बेच्ने क्षमतावान् प्रतिनिधिजस्तै । यो क्षमता सबैमा हुनै सक्दैन जुन तपाईंमा छ । तपाईंसग नभएको त्यही एक कुरा विचारप्रतिको इमानदारी र नेतृत्वका बारेमा अधिभूूतवादी बुझाइ र गराइ नै हो । अरू सबै कुराले तपाईं भरिपूर्ण नै हुनुहुन्छ ।

आदरणीय कमरेड

तपाईंले म र मजस्ताका बारेमा के–कसरी सोच्नुहुन्छ भन्ने त खास मेसो छैन तर म र मजस्ता धेरैले तपाईंलाई हेरेर चेलाई भुल्न खोज्दै थियाैँ । तपाईंलाई एक युगको एक नेता बनाउने कोसिस गर्दै गर्दा धेरै खप्की र षड्यन्त्रका सिकार भएकै हौँ । कहिलेकहीँ मलाई यस्तो लाग्छ– तपाईंलाई तपाईं हुनै दिएनन् । हुनत यो कुरा द्वन्द्वात्मक भौतिकवादसँग बाझिन्छ होला तर जेसुकैसँग बाझिए पनि केही महिना अगाडिसम्म तपाईंप्रतिको बुझाइ त्यस्तैखाले थियो । अर्थात् तपाइ ब्यारेल मात्र बन्नुभयो, भर्ने र पड्काउने कोही अर्कै थियो । कहीँ मेरो भावना सही छ भने एकपटक वरिपरि हेर्नुहोला ।

तपाईंप्रतिको अगाध प्रेममा म मात्र होइन, मजस्ता हजारौँ युवाहरू जोडिएका थिए । गण्डक बाँध थुन्दाखेरि विप्लव आऊ, बम पड्काऊ, एनसेलले ब्रह्मलुट गर्दा विप्लव आऊ… यस्तैयस्तै दर्जनौँपटक सक्नेले सडक, नक्सनेले सामाजिक सञ्जालबाटै भए पनि बोलेकै थिए । अर्थात् विप्लव नयाँ आशावाद बन्दै थिए । दुई वर्षको प्रतिबन्धको बेला तपाईंकै नाममा दुईपटक गिरफ्तारीमा परियो । विप्लवलाई भ्यालीको सूचना दिने तैँ होस् भन्दै हिरासतभित्र सबै तुच्छ व्यवहार गरियो । अझ तीतो भोगाइ त गिरफ्तार नहुँदासम्म हाम्रो पार्टीका होइनन्, तिनीहरूलाई नभेट्नू, स्टाटसमा लाइक–कमेन्टसमेत नगर्नू भन्दै बैठकमा उर्दी जारी गरेका एकजना मित्रले गिरफ्तार परेकै साँझ प्रहरीलाई फोन गरेर उहाँ हाम्रो भित्री टिमको मान्छे हो भन्नसम्म भ्याएछन् । यो विषयलाई समयसँगै बाहिर ल्याउँदै गरौँला । जेजस्ता हर्कत भए पनि म विचलित भएकै थिइनँ । मलाई लाग्छ, यस्तो भोगाइ भोगेर पनि तपाईं अर्थात् क्रान्तिप्रतिको बुझाइलाई कहिल्यै सेलाउन नदिन् कार्यकर्ता धेरै नै छन् ।

प्रतिबन्धको बीचमा फाट्टफुट्ट भिडन्त र फायरिङ भएका समाचारहरू आउँदा पहिलो सम्झना आउने अनुहार नै विप्लव थियो । प्युठान र अर्घाखाँचीको माथि सरकारी ड्रोन उडेको समाचारले निदाउनै कठिन हुन्थ्यो । हामी केही साथीहरू नियमितजस्तो भेट हुन्थ्यौँ । अनि काठमाडौँ आएको बेला केही जिल्लाका नेताहरूसँग भेटेर तपाईंका बारेमा कुरा गरिराख्थ्यौँ । कहिलेकहीँ त निकै चर्काचर्कीजस्तै हुन्थ्यो । त्यही समायमा तपाईं काठमाडौँ छिर्दै हुनुहुन्छ भन्ने खबर आयो, निकै उत्साहित थिएँ । सञ्चार माध्यमले विप्लवलाई लिन हेलिकोप्टर जाँदैछ भन्दा पनि रवीन्द्र अधिकारीको घटना झल्याँस्स सम्झिएर आधा मन भएको थिएँ । त्यस्तो भयो भने… भनेर । बरु भुइँको बाटो आए हुन्थ्यो भन्ने लाग्थ्यो । नभन्दै तपाईं त्यसरी आउँदै गरेको खबरले निकै ठूलो राहत मिलेको थियो । बिहानै सभागृहवरिपरि पुगेर व्यग्र प्रतीक्षामा थियौँ । तपाईं हात हल्लाउँदै आउँदा नयाँ रक्तसञ्चार भएको अनुभूति भएको थियो । तपाईं मञ्चमा आएदेखि ननिस्किँदासम्मका सबै हाउभाउ अहिले पनि ताजै छन् । तपाईंको नखुलेको अनुहार, अझ मनपर्ने प्रेमी छुटाएर अर्कैसँग विवाह गर्न लागेका जोडीको जस्तो उदास देखिथ्यो । सोचेँ– कामको चाप वा यात्राको थकानले यस्तो भएको होला… । केहीबेरमा तीनबुँदे सहमति पढेर सुनाइयो । म निकै झस्केँ । त्यहाँ कुमार, महान, प्रज्वल, दीपेन्द्र, रामकुमारहरू (जनक्रान्तिका सहिदहरू) का बारेमा वाक्य त के एक अक्षरसम्म नदेखेपछि मनमा चिसो पस्यो । यद्यपि त्यहाँ तपाईंले बोलेका धेरै विषयमा सहमत भए पनि दुईचार विषय अलिक गम्भीर प्रकृतिका थिए । जस्तो : सहिदहरूप्रतिको मौनता, जनमतसङ्ग्रह, ओलीसँग १२ वर्ष अगाडिको भेट अर्थात् ओलीको बयानमा जुन शब्द खर्चिनुभयो यसले अर्कै सङ्केत गरेको त्यही बेला बुझिसकेको थिएँ ।

तपाईंलाई नै भेटेर यसबारे बुझौँला भन्ने सोचेर तत्कालीन कार्यालय सचिव कमरेड असललाई फोन–म्यासेज गरेको थिएँ । तर चापले काठमाडौँमा भेट हुन सकेन । त्यसको लगत्तै तत्कालीन पाल्पा जिल्लाका इन्चार्ज कमरेड प्रवीणको पहलमा म शिवगढी नै पुगेर आधा घन्टा भेटेँ । मैले यति भनेको थिएँ– आदरणीय महासचिव, हामी जीवित छौँ । यस्तै सन्देश र केही सुझाव राखेको थिएँ मैले । त्यसमध्ये हामी सामूहिक भेट्न चाहन्छौँ भन्ने कुरा नै प्राथमिक र शीर्ष स्थानमा नै थियो । तपाईंले अब काठमाडौँ आउँदा भेट्ने सूची छ भनेपछि म भोलिपल्टै बिहान फर्किएको थिएँ जुन कुराले केही साथीहरू मसँग आगो नै हुनुभएको थियो, एक्लै भेट्यो भन्ने सवालमा जब कि हामी सामूहिक जानेबारे छलफलमा थियौँ । यद्यपि मैले फोनबाट सविस्तार भनेपछि साथीहरू विश्वस्त भएझैँ गर्दै हुनुहुन्थ्यो । हामी त्यो सामूहिक भेट एउटा पत्रका आधारमा गर्न चाहन्थ्याैँ ।

न्याय, मुक्ति, स्वाधीनता र समानतामा आधारित अर्थात् वैज्ञानिक समाजवाद स्थापनाको महान् उद्देश्यसहित स्थापित गौरवशाली पार्टीले नेपाल कम्युनिस्ट पार्टी नेपाली जनताको विश्वास र विश्वक्रान्तिको एक आशाको केन्द्रको बन्दै जाला भन्ने सोचेको थिएँ । पार्टी र नेतृत्वप्रतिको भरोसा झन्झन् कसिलो र प्रगाढ बन्दै जानेछ सोचेको थिएँ । एकीकृत जनक्रान्तिको कार्यदिशाले जनताका बीचमा साथ, सहयोग र समर्थनले दलाल राज्य व्यवस्था आतङ्कित मात्र होइन, त्यो व्यवस्थालाई धक्का नै देला भन्ने सोचेको थिएँ । तर दुर्भाग्य ! क्रान्तिकारीका विरुद्ध अन्तिम मूर्खता प्रदर्शन गर्ने साधनजस्तो बन्न पुग्यो । यो परिस्थितिको संवेदनशीलतालाई गहिरो गरी मनन गर्दै जिम्मेवारीबोधसहित वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि अन्तिमसम्म लड्ने प्रतिबद्धता झन् स्पातिलो बनाउन मद्दत गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु ।

क्रान्ति सहज र सरल मात्रै नभएर घुम्ती, भुमरी र विपत्तिसहित अगाडि बढ्दछ भन्ने विषयलाई हृदयङ्गम गर्नेमध्येकै हौँ हामी तर जनवादको जल छर्केर केन्द्रीयताको आवरणमा कर्म पूरा गर्ने कुराले मात्रै दुस्मनको कठालो समात्ने शक्ति पैदा गर्न सक्दैनथ्यो । त्यसैले हामीलाई आधा दशक बेरोजगारजस्तो बनाइयो ।

व्यक्तिगत जीवनलाई तिलाञ्जली दिँदै क्रान्तिलाई जीवन र पार्टीलाई नै अभिभावक मानेर २०÷२१ वर्ष बिताएकालाई न्यूनतम् छलफलसम्म नगरी झन्डै चार दर्जन नेताहरू गलहत्याउँदासमेत चुपचाप बस्ने हामी नै होइन र ? त्यसको एक मात्र उद्देश्य क्रान्तिप्रतिको प्रतिबद्धताबाहेक केही थिएन र होइन । त्यो बेला पार्टीको व्यवहारले खल्लो महसुस मात्रै गराएको थिएन, केही प्रश्नहरू पनि जन्माएको थियो । किन यस्तो भयो होला ? जहाँ हामी बाहिरिएका, खुल्न सकिरहेका थिएनौँ भने भित्रिएकाहरूमा पनि कुनै खुसीको धर्सो देखिँदैनथ्यो । यसको गम्भीरतापूर्वक समीक्षा गर्न कसले रोक्यो ?

पार्टीले जोडेका दर्जनौँ बिघा जमिन आन्दोलनमा लागेका पूर्वजनमुक्ति सेनालाई उत्पादनको जिम्मेवारी दिएर आफू फेरि क्रान्तिको केन्द्रमा उभिएर अभिवादन गर्नुहुनेछ जहाँ आदरणीय नेता कञ्चन र सुदर्शनले गला मिलाएर स्वागत अभिवादन गर्नुहुनेछ । त्यसैले फेरि खुला दिलले, इमानदारीपूर्वक क्रान्तिकारी चेतका साथ वैज्ञानिक समाजवादी क्रान्तिमा तपाईंसहित जान मन छ । बाँकी कुरा तपाईंको सोचाइको कुरा भयो । म कामना गर्दछु– हाम्रो रगतपसिनाले बनेको विप्लव हाम्रै आँखाअगाडि दलाल पुँजीवादी व्यवस्थाको कुर्सीमा गजक्क बसेको देख्न नपरोस् ।

त्यो बेला पार्टीबाट सङ्गठनलाई मार्गदर्शन गर्न आउने नेताको कलात्मक कमजोरी वा नियत मात्र होला भन्ने लागेको थियो तर आजसम्म आउँदा त्यहाँ तपाईंहरूकै रुचि नै रहेछ भन्ने लुकाउनै सक्नुभएन । जिम्मेवार बन्नुपर्ने नेताहरूलाई नै रत्तिभर जिम्मेवारीबोध नहुने र बैठक, भेला, सम्मेलनहरूमा चातुर्यपूर्वक खेल्ने मैदान बनाउनुलाई कम्युनिस्ट चरित्र नमान्नु हाम्रो कमजोरी हो र ?

जीवनमरणको विषय बनेर उभिएको नेपाली क्रान्तिका प्रबल सम्भावनाहरूमा भिन्न रङका प्रवृत्तिहरू भित्रिने वातावरण बन्नु खतराको सङ्केत हो भनेर दर्जनौँपटक नभनेको पनि त होइन नि । क्रान्तिको वैचारिक बलले हरेक षड्यन्त्रलाई ध्वस्त पार्दै वर्गप्रति घृणा र आक्रोश पैदा गरी विचार र नेतृत्वप्रतिको प्रतिबद्धतामा सम्झौता नगर्नु अपराध हुन्थ्यो र ?

किन त्यस्तो भयो ? विरोधीसँग लड्न दयामाया देखाउने तर आफ्नो भित्र छलफलसम्म गर्न पनि मन नपराउने कुरा सोचनीय थिएन र ? अझ त्यसमा पनि विभिन्न मनोगत तर्कहरू सिर्जना गरेर गलत सूचना दिने, विभिन्न प्रोपोगान्डा गर्ने कुराले क्रान्तिको सेवा गर्यो कि नोक्सान, आफैँ हिसाब गर्नुहोला ।

तत्कालीन अवस्थामा वैचारिक अन्तरसङ्घर्षमा फिल्डमा भोग्नुपरेको अपमान र उपेक्षाले अहिले पनि पोल्छ । सङ्गठनको जीवनमा देखिएको अराजकतावादी व्यक्तिवादले जुन स्तरबाट आन्दोलनलाई क्षति पुगेको थियो त्यसबाट बचाउन गम्भीरता र जिम्मेवार नेतृत्वसमक्ष गम्भीरतापूर्वक छलफलका लागि माग गर्दा तपाईं किन अनिच्छुक हुनुभयो ?

हामीले पटकपटक पत्र लेख्यौँ, न जबाफ आयो न क्रान्तिकारी पार्टी एकै ठाउँ रह्यो । अब त आफ्नो प्रश्नको जबाफ आफैँले दिन पर्ने बाध्यतामा छु ।

आदरणीय कमरेड

तपाईं कुनै बेला भोकको भोजन र प्यासको पानीजस्तै प्रिय हुनुहुन्थ्यो तर एकाएक तपाईंमा के सवार भयो, थाहा छैन । प्रतिबन्धपछि राष्ट्रिय सभागृहमा तपाईंको नखुलेको अनुहार हेरेर निकै सोच्न बाध्य पारेकै थियो । अझ भनूँ, तपाईं त्यहाँसम्म कसैको करकापमा आउनुभएको थियो । तर शिवगढी बैठकसम्म पुग्दा तपाईंलाई सम्झिए तनाव हुनेजस्तो भयो । आखिर यो किन भयो ? कसरी भयो ? यसको जबाफ तपाईंबाहेक अरूले दिनै सक्दैनथे तर परिस्थिति कस्तो बन्यो भने तमाम प्रश्नको जबाफ आज एकैचोटि समयले नै दिइसक्यो ।

आदरणीय कमरेड

म आज पनि तपाईंको व्यक्तित्वदेखि निकै नै प्रभावित छु तर माफ गर्नुहोला, तपाईंको विचारमा विश्वस्त हुन सक्ने ठाउँचाहिँ अब रहेन । केही दिनअघि चितवनमा आयोजित भेलामा तपाईंको उपस्थिति निकै ‘मिस’ गरेको थिएँ । मैले मात्र होइन, त्यहाँ उपस्थित धेरैले अव्यक्त रूपमा तपाईंको प्रतीक्षा गरेका थिए । तर सल्लाहकार समितिका अध्यक्ष असारे काकाले तपाईंलाई निष्कासनको घोषणा गर्दा ताली बजाउन बाध्य भएँ । यो इतिहासको अपरिहार्य आवश्यकता बनेको छ किनकि म आफ्नै बाले बोकेको राजनीतिक विचारसमेत लत्याएर स्कुले जीवनबाटै माओवादी भएको हुँ । त्यसैले तपाईं मेरा लागि जति प्रिय र मन खाने भए पनि विचार र दृष्टिकोणका अगाडि अरू विषय कमजोर बन्ने रहेछन् ।

आज म तपाईंले नेतृत्व गरेको पार्टी र सङ्गठनमा त छैन तर पनि तपाईंप्रतिको चासो र चिन्ता हराएको छैन । कतिसम्म भने स्थानीय निर्वाचनमा तपाईंहरू जानुभयो, यद्यपि त्यो मेरो रुचिको विषय त होइन तर पनि तपाईंले कति मत ल्याउनुहुन्छ, कसरी अघि बढ्नुहुन्छ भन्ने खोजिरहेकै छु । सोचेको थिएँ– केही लाख मत र केही गाउँ, नगरपालिकासहित संसदीय व्यवस्थामा पनि सम्मानित भएर रहनुहुनेछ… तर दुःखद् कुरा, परिणामले मेरो आशामा निकै चिसो पानी खन्याइदिएको छ । यद्यपि चुनावको परिणामलाई लिएर अरूले झै खिसीट्युरी गर्ने मुडमा म छैन किनकि प्रचण्ड, किरण र विप्लव सबैलाई बनाउन हाम्रो पनि रगतपसिना उत्तिकै बगेको छ । त्यसैले धोका पाए पनि माया लागिरहने एक एकोहोरो प्रेमीजस्तै भएको छु ।

आदरणीय कमरेड

आजको दिनमा मसँग केही जिज्ञासा र प्रश्नहरू छन्– के क्रान्ति सम्भव छैन र सकिँदैन ? कि सम्भव छ तर अहिले सकिँदैन ? कि त क्रान्ति सम्भव छ र सकिन्छ ? के दार्शनिक जगबिना कम्युनिस्ट आन्दोलन सम्भव छ ? के अब सङ्घर्ष सकिएकै हो ? के विचारको उच्चताभन्दा अरू केही प्रमुख हुन्छ ? के जनमतसङ्ग्रहबाट वैज्ञानिक समाजवाद आउँछ ? के कम्युनिस्ट पार्टी सजातीयहरूको पार्टी हो ? के कम्युनिस्ट पार्टी आन्दोलनमा बल प्रयोगको कुनै स्थान रहँदैन ? के क्रान्ति गर्न राज्यको सद्भभाव चाहिने हो ? कि क्रान्ति कुनै व्यक्तिबाहेकले गर्न सक्दैन ? के मुख्य नेताको जीवनभन्दा आन्दोलन कम महत्वपूर्ण हुन्छ ? जुन कार्यनीतिले रणनीतिलाई शून्यबराबर सेवा गर्दैन त्यसका लागि समय बर्बाद गर्नु खास अर्थ के हुन्छ ?

आदरणीय कमरेड

वार्ता र सहमति क्रान्तिको बृहत् स्तरको तयारी हो भन्ने बुझेको मलाई तपाईंकै आवास बनाउने कुराले निकै नराम्रोसँग घोचेको छ । हिजो तयारीका लागि भन्दै जनमुक्ति सेना ब्यारेकमा बर्सौं राखेर रुवाउँदै घर पठाएभन्दा फरक अर्को के हुन्छ होला र ? यस्तै सोचिरहेको छु । मेरो बुझाइमा एकीकृत जनक्रान्तिको प्रयोग अकर्मण्यतामा फस्यो । त्यसको दार्शनिक आधार सारसङ्ग्रहवादी भयो । अर्थात् एकीकृत जनक्रान्ति मनचिन्ते पोको भयो । तपाईं पटकपटक लेनिनको भनाइ उद्धृत गर्दै भन्नुहुन्थ्यो– काट्नुभन्दा अगाडि धेरैपटक नाप्नुपर्छ तर दुःख साथ भन्नुपर्छ कमरेड तपाईंले काट्ने गरी नाप्नुभएकै रहेनछ ।

विश्व कम्युनिस्ट सङ्घर्ष रक्षात्मक अवस्थामा रहेको देखिन्छ यद्यपि यो लामो आयुको भने छँदैछैन । यो अवस्थाका पछाडि पनि केही कारणहरू अवश्य होलान् जुन कुरा कम्युनिस्टहरूका लागि मात्र होइन, विश्वव्यापी व्यवस्थाका लागि ठूलो सैद्धान्तिक चुनौती हो । मालेमाको रचनात्मक विकासका नाममा बेग्लै नारा दिएर जनतालाई आकर्षित गर्न सकिन्छ भन्ने रोमान्टिक बुझाइका कारण कम्युनिस्टहरूमा उपभोक्तावाद तीव्र रूपमा मौलाएको छ । यसको हल भनेकै वैचारिक सङ्घर्ष हो ।

आदरणीय कमरेड

पुरानो उत्पादन सम्बन्धले खडा गरेका आधारहरूलाई भत्काउनेबारेमा सोच्दै–सोच्नुभएन । जसलाई कुल्चिनु पर्दथ्यो, त्यसैलाई अँगालो हाल्नुभयो । विगतका हरेक विचलनबाट पाठ सिक्नुपर्नेमा तपाईंले तरिका मात्र सिक्नुभएछ । मलाई लाग्छ, कोही पनि अपमानित भएर, सम्भावना नदेखेर व्यर्थै रगतपसिना पोख्न सक्दैन तर तपाईंलाई हार्दिक धन्यवाद नै छ किनकि क्रान्तिकारीलाई यहाँसम्म ल्याउने नेतृत्व गर्नुभयो ।

आदरणीय कमरेड

मलाई राम्रोसँग थाहा छ, तपाईं जुन पार्टीको महासचिव हुनुहुन्छ त्यहाँ तपाईंका विरुद्ध खासखुस गर्नेहरूको सङ्ख्या नै बढी छ । अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा नेताको खल्तीमा पैसा हालेर आफ्नो झोलामा रुपैयाँ भर्नेहरूको बिगबिगी सर्वत्र नै छ । तर यो लामो समय नटिकोस् । सङ्घर्षबाट थाक्नै हुँदैन । सुनेको छु, तपाईंसँगै भएका केन्द्रीय समितिका मध्ये १७ जनाले समीक्षाको माग गर्दै पत्र लेखेका छन् । उहाँहरूको बुझाइप्रति मेरो सम्मान नै छ । तर उहाँहरूको चिन्ता सम्बोधन हुनेमा म निकै कम आशावादी छु । सुभेच्छा छ, तपाईंले उहाँहरूलाई पनि म एक्लै गर्छु, तपाईंहरू निहुँ नखोज्नुस्, बरु जानुस् भन्नहुनेछैन । हुनत बजारमा हल्ला तपाईं एमालेमा जाँदै हुनुहुन्छ, प्रचण्डसग छलफलमा हुनुहुन्छ भन्ने सुनिन्छ । तर मलाई त्यो बहसतिर ध्यान दिनु नै छैन । तपाईं त एक्लै भए पनि आफैँ गर्छु भन्नुहुन्छ । कसरी त्यतिका ठूला भीडमा जान सक्नुहोला र ? तर मलाई थाहा छैन एक्ले बहादुरले गर्ने क्रान्तिको मोडेल कस्तो हुन्छ ? अर्थात् विचार होइन, सीमित स्वार्थ मिल्नेहरूले मात्रै गर्ने सङ्घर्ष कस्तो हुन्छ ? भएछ भने बिनापूर्वाग्रह समर्थन गर्ने नै छु ।

आदरणीय कमरेड

काठमाडौँबाट पश्चिम फर्केर तपाईंको प्रतीक्षा गरिरहेको छु । सोच्दैछु यो केही वर्षमा विचार, नेतृत्व, सङ्गठन र सङ्घर्षमा आएको ऋणात्मकतालाई गम्भीर समीक्षासहित नयाँ आधार खडा गर्नुहुनेछ । यो त केवल मेरो सोचाइ भयो । के गर्नुहुन्छ, तपाईंको कुरा भयो । अझ यस्तो लागिरहेको छ– शिवगढीमा बन्दै गरेको आवासमा सहिद परिवारको सामूहिक बसाइको व्यवस्थापन गर्नुहुनेछ । पार्टीले जोडेका दर्जनौँ बिघा जमिन आन्दोलनमा लागेका पूर्वजनमुक्ति सेनालाई उत्पादनको जिम्मेवारी दिएर आफू फेरि क्रान्तिको केन्द्रमा उभिएर अभिवादन गर्नुहुनेछ जहाँ आदरणीय नेता कञ्चन र सुदर्शनले गला मिलाएर स्वागत अभिवादन गर्नुहुनेछ । त्यसैले फेरि खुला दिलले, इमानदारीपूर्वक क्रान्तिकारी चेतका साथ वैज्ञानिक समाजवादी क्रान्तिमा तपाईंसहित जान मन छ । बाँकी कुरा तपाईंको सोचाइको कुरा भयो । म कामना गर्दछु– हाम्रो रगतपसिनाले बनेको विप्लव हाम्रै आँखाअगाडि दलाल पुँजीवादी व्यवस्थाको कुर्सीमा गजक्क बसेको देख्न नपरोस् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :