तत्कालीन कार्यनीतिलाई कार्यदिशा अनुरुप हेर्नुपर्छ : विप्लव

तत्कालीन कार्यनीतिलाई कार्यदिशा अनुरुप हेर्नुपर्छ : विप्लव

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आसन्न स्थानीय चुनावबारे पार्टीले अगाडि सारेको कार्यनीतिलाई एकीकृत जनक्रान्तिको कार्यदिशा अनुरुप हेर्नुपर्ने बताएका छन् । पार्टीको मुखपत्र रातोखबरमा आफ्नो आलेखमार्फत महासचिव विप्लवले यस्तो कुरा बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको १२ औँ बैठकले लिएका केही महत्त्वपूर्ण र दूरगामी निर्णयबारे विभिन्न बुझाइ र क्रियाप्रतिक्रियाहरु उत्पन्न भैरहेको बेला पार्टीका निर्णयलाई प्रष्ट गर्ने उद्देश्यले ऐतिहासिक १२ औँ पूर्ण बैठक र मुख्य पाँच विषय शिर्षकमा तयार गरिएको आलेखमा पार्टीले स्थानीय चुनावबारे लिएको कार्यनीति किन आवश्यक पर्यो त भन्नेबारे प्रष्ट पार्दै उनले लेखेका छन्-“हामीले कुनै पनि कार्यनीतिलाई अन्य तरिकाले नभएर एकीकृत जनक्रान्तिको कार्यदिशा अनुरुप हेर्नु पर्दछ, हामी सरकारसङ्ग भएको तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्न चाहन्छौँ, देशभक्त र क्रान्तिकारी शक्तिलाई गोलबद्द गर्दै संसदिय व्यवस्थाको भण्डाफोर गर्न चाहन्छौँ, प्रतिबन्धले टुटाएको पार्टीको संगठनात्मक कडिलाई पुनः जोड्न, परिचालन गर्न र फैलाउन चाहन्छौँ, जहाँ जनताको प्रत्यक्ष साथ र सहयोग छ, ती ठाउँहरुलाई काङ्ग्रेस, एमाले र माकेको हातमा नछोडेर पार्टीकै वरिपरि गोलबन्द गर्न चाहन्छौँ र शहर र गाउँ, मजदुर, किसान र नयाँ श्रमिक वर्गलाई एकताबद्ध गर्दै संघर्ष गर्न चाहन्छौँ । अन्य कुनै पनि कार्यनीतिले उल्लेखित आवश्यकतालाई पूर्ति गर्न सक्तैनन् ।”

पार्टीले विद्यमान संसदिय दलाल व्यवस्थालाई अस्विकार गर्दै वैज्ञानिक समाजवादका लागि संघर्ष गरिरहेको बेला चुनावी कार्यनीतिलाई सैद्धान्तिक र व्यवहारिक दुबै रुपमा कसरी बुझ्ने भन्नेबारे -“सिद्धान्तत: संसदिय व्यवस्था श्रमिक वर्गको व्यवस्था नभएर दलाल पुजीपति वर्गको व्यवस्था हो । यो व्यवस्था भित्र हुने चुनावहरु यहि व्यवस्थालाई रक्षा गर्न बनाइएका साधन र विधि मात्रै हुन्, तर चुनाव एक मात्र साधन भने होइन, यसका अनेक साधनहरु । क्रान्तिकारी कम्युनिस्टहरुले संसदिय व्यवस्थाका चुनावहरुलाई रणनीतिका रुपमा होइन कार्यनीतिको मामला ठान्छन्, कार्यनीति भनेको अस्थायी, क्षणिक, परिस्थितिजन्य र तत्कालिक हुन्छ, तत्काल कस्तो कार्यनीति प्रयोग गर्दा सापेक्ष रुपले जनताका विरोधी शक्ति विरुद्ध लड्न सजिलो, प्रभावकारी र फाइदाजनक हुन्छ, त्यही गर्ने कुरा हो ।वर्गसंघर्ष र राजनीति संघर्षको ठोस वस्तुस्थिति अनुरुप बहिस्कार, सशक्त बहिस्कार र उपयोग दुवै हुँदै आएका छन् महासचिव विप्लवले उल्लेख गरेका छन् ।

क्रान्तिकारी आन्दोलनको विकास, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र क्रान्तिकारी शक्तिको मुल्यांकनको आधारमा प्रतिक्रियावादी व्यवस्था अन्तर्गत हुने चुनावबारे के गर्दा सहि र बुद्दिमानी हुन्छ त्यो गर्न सकिन्छ, चुनावमा जादैमा संसदिय भासमा फसिहाल्ने र बहिस्कार गर्दैमा लोकप्रिय र क्रान्ति भैहाल्छ भन्ने कुरा होइन, मुख्य कुरा पार्टी र नेतृत्वले कसरी सोच्छ र उ कत्तिको इमान्दार छ भन्ने कुरा हो भन्दै फेरि महासचिव विप्लवले भनेका छन्-“यो प्रयोगमा जुन पार्टी र नेतृत्व वास्तविक रुपमा इमानदार र क्रान्तिकारी छन्, ती जे गर्दा पनि सफल देखिएका छन् भने जो इमानदार, वस्तुवादी र क्रान्तिकारी छैनन्, ती जे गर्दा पनि जनताबाट अलगथलग र असफल भएका छन् ।”
स्मरण रहोस् रसियन क्रान्तिको सन्दर्भमा लेनिनले दुमाको प्रयोग र बहिस्कार दुवै गरेका थिए तर उनी क्रान्तिकारी र महान सावित भएरै छाडे, २०४८ मा तत्कालीन एकता केन्द्र मसालले संसदको प्रयोग गरेरै जनयुद्धको तयारी गरेको थियो भने पन्चायतकाल र पछि ज्ञानेन्द्रले संकटकाल लगाएपछि आयोजना गरेको स्थानीय तहको चुनाव काङ्ग्रेस, एमालेले समेत बहिकार गरेका थिए, तर काङ्ग्रेस र एमालेहरु यो व्यवस्था विरोधी र क्रान्तिकारी हुन सकेनन् ।

पार्टीले चुनावबारे आगाडि सारेको कार्यनीति अनुसार स्वतन्त्र, देशभक्त र एमसीसी विरोधीलाई सहयोग मात्रै गर्ने हो वा सहभागी पनि गराउने भन्नेबारे प्रष्ट पार्न १२ औं बैठकद्वारा पारित प्रस्तावबाट एक अंश उधृद गर्दै विप्लवले भने, “पार्टी दर्ता गरेर चुनाव उपयोग नगर्ने तर एमसीसी र राष्ट्रघात विरोधीहरुलाई सहभागी गराउने र सहयोग गर्ने नीति लिनु उपयुक्त हुनेछ ।”

सोभियत संघको विघटन र पूर्वी युरोपमा भएको समाजवादी सत्तामा भएको प्रतिक्रान्तिपछि विश्व एकध्रुवीय र अमेरिकीकरण भएको छ भनेर कैयौं समाजवादी, कम्युनिस्ट पार्टी र थुप्रै विद्वानहरुले विश्लेषण गर्दै बल प्रयोगको बाटो असम्भव छ भनि रहेको बेला आफ्नो पार्टीले विगत ६ वर्ष पहिलेदेखि नै आजको विश्व परिस्थितिको मुल्यांकन फरक ढङ्गले गर्दै समाजवादी क्रान्तिका लागि अनुकुलता थपिदै गएको र त्यो विश्लेषण आजको युक्रेन संकटसम्म आइपुग्दा सही सावित हुँदै गएको तर्फ संकेत गर्दै महासचिव विप्लवले यसरी लेखेका छन्, “भूमण्डलीकृत पुजीवाद युक्रेन युद्धसङ्गै दुई वा बहुध्रुवमा विभाजित हुन पुगेको छ । ६ वर्ष अघि अब विश्व अमेरिकी एक ध्रुवमा नरहेको र बहुध्रुवीय बन्दै गएकोले समाजवादी साम्यवादी क्रान्तिका लागि यसले अनुकुलता थप्ने भनेर गरेको विश्लेषण सही सावित गरेको छ ।”

महासचिव विप्लवले पार्टीको नवौं महाधिवेशन आगामी मङ्सिर भित्र गर्ने र महाधिवेशनले पार्टीले वर्गसंघर्ष, राजनीतिक संघर्ष र वैचारिक संघर्षमा जुन नयाँ खोज गरेको छ, तिनलाई सुव्यवस्थित, सुदृढ र सुस्पष्ट पार्दै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा निर्वाह गरेका कैयौँ भूमिकाका बिचबाट दूरगामी निर्णयहरु संश्लेषण गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :