बकर इदमा रमझम

काठमाडौैं :  शनिबार बागबजारको मुखैमा रहेको जामेमस्जिद वरपर ठूलो भीड थियो । मुस्लिम समुदायहरुले नमाज पढेर फर्केपछि अंकमाल गर्दै  शुभकामना आदानप्रदान गर्दै थिए । सबैको मुहारमा  खुसी देखिन्थ्यो । मासु, फलफूल, किराना, सेवई पशलमा भीड लागेको थियो । हलाल गरेका मासु पशलमा लामो लाम देखिन्थ्यो । देशका अन्य मस्जिद आसपासको दृष्य  पनि त्यसभन्दा फरक थिएन । शनिबारदेखि मुस्लिम समुदायको सबैभन्दा ठूलो चाड बकर इद पर्व शुरु भएको छ । यसलाई गरिबको पक्षमा भएको प्राचीन घटनापछि मनाउन थालिएको मौलानाहरुको दाबि छ ।  हुनेखानेले गरिबको लागि केही छुट्याउनै पर्ने बाध्यकारी  व्यवस्था यो पर्वमा छ । आजदेखि हिजारी संवत् शुरु हुन्छ । ४ हजार वर्षअघि हजरत इब्राहिमले अल्लाहको   लागि कुर्बानी अर्थात बलिदान गरेका थिए । 

किवदन्तीअनुसार हजरत इब्राहिमले सपनामा परमेश्वरले ‘सबैभन्दा प्रियवस्तु मलाई चढाऊ’ भन्दा छोरालाई बलि दिएकोे देखेपछि भोलिपल्ट विपनामा छोरालाई छुरा हान्दा केही नभई भेंडा मरेको भन्ने घटनाको सम्झना स्वरुप यो पर्व मनाउन थालिएको हो । मुस्लिम समुदाय यो पर्वमा विहानै नुहाएर मस्जिदमा नमाज पढेर शुभकामना आदानप्रदान गर्दछन् । खाने कुरा ३ भाग लगाउँछन्  ।  एक भाग अतिथि सत्कार, एक भाग गरिबलाई दिन्छन् र    एक भाग आफूहरु खान्छन् । सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । 

२०७४ भदौ १४  : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :