केन्द्रीय समिति बैठकमा महासचिव विप्लवको जबाफ

‘क्रान्तिकारी विचार र भावनाको रक्षा हुने अपेक्षा’

केन्द्रीय समिति बैठकमा महासचिव विप्लवको जबाफ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको १२ औँ पूर्ण बैठक कपिलवस्तु शिवगढीस्थित पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा जारी छ । बैठकको नवौँ दिन आज दिउँसो २ बजे पार्टी महासचिव विप्लवले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि पार्टीका केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकार समितिका सदस्यहरूले राखेका सुझाव, जिज्ञासा र आशङ्काहरूको चित्तबुझ्दो र वैज्ञानिक विकल्पहरूसहितको जबाफ दिने कार्यक्रम रहेको जानकारी पार्टीको केन्द्रीय कार्यालय स्रोतले दिएको छ ।

‘दिउँसो २ बजे सुरु भएको बैठकमा महासचिव कमरेडले बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासा, सुझाव र प्रश्नमाथि प्रस्ट पार्ने कार्यक्रम छ’, बैठकमा सहभागी पार्टी केन्द्रीय सदस्य एवम् रातो खबर प्रकाशन गृहका निर्देशक वसन्त श्रेष्ठ ‘प्रज्वलन’ ले भने ।

महासचिव विप्लवले पार्टीको एकीकृत जनक्रान्ति र क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने क्रान्तिकारी कार्यदिशा, पार्टी नेता र जनताले क्रान्तिको चिन्ता गर्दै दिएका सुझाव, सल्लाह र आशङ्काहरूलाई सम्बोधन गर्ने र सबैको विचार र भावनालाई समेटेर क्रान्ति जारी राख्ने पक्षमा निर्णय हुने अपेक्षा गरिएको बैठकमा सहभागी स्रोतहरूले बताएका छन् ।

नौ दिनअघि गत शनिबार पार्टीको नवनिर्मित केन्द्रीय सम्पर्क कार्यालयमा सुरु भएको बैठकमा पार्टी केन्द्रीय सचिवालय सदस्य, पार्टी सल्लाहकार समितिका सदस्य र केन्द्रीय सदस्यहरूले महासचिव विप्लवद्वारा प्रस्तुत रानीतिक प्रतिवेदनमाथि गम्भीर बहस र छलफल गरेका छन् । महासचिवको प्रत्युत्तरपछि सम्भवतः आजै बैठक सकिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :