सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा रूपन्देहीमा सिर्जना चौतारीको शुभाराम्भ

सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा रूपन्देहीमा सिर्जना चौतारीको शुभाराम्भ

बुटवल: बुटवलमा सिर्जना चौतारीको औपचारिक शृङ्खला शुभारम्भ भएको छ ।

२४ औं सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको सिर्जना चौतारी कार्यक्रममा २५ जना स्रष्टाहरूले कविता, गीत, मुक्तकलगायत सिर्जनाहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ लेखक एवं माक्र्सवादी सौन्दर्य चिन्तक दिल साहनीले सांस्कृतिक आन्दोलनले सही राजनीतिक आन्दोलनलाई सेवा गर्नुपर्ने भन्दै सांस्कृतिक रुपान्तरण नभएसम्म राजनीतिक आन्दोलन सफल नहुने बताए । उनले सांस्कृतिक प्रतिरोध दिवस क्रान्तिकारीहरुका लागी महत्वपूर्ण दिवस भएको भन्दै निरन्तर क्रान्तिमार्फत् सहिदका सपना पुरा गर्नुपर्ने बताए । उनले समाज वर्गीय भएकोले साहित्य कला पनि वर्गीय हुने भन्दै जनयुद्धको मूल्यबोधमाथि प्रतिक्रियावादीहरुले अपमान गरिरहेको बताए । उनले साहित्य कलाले जनताको सेवा गर्नुपर्ने भन्दै साहित्यकार र कलाकारहरुले क्रान्तिको सेवा गर्नुपर्ने बताए । उनले साहित्य कला रूप र विचारको संयोजन भएको भन्दै जनताको स्तरअनुसार कला साहित्य सिर्जना गर्नुपर्ने बताए । उनले सिर्जना चौतारी स्रष्टाहरूको सिर्जना माझ्ने थलो बन्नुपर्ने बताए ।
नेकपाका जिल्ला सदस्य नवीन थारूले लेखक साहित्यकार र संस्कृतिकर्मीहरुले कलामार्फत् क्रान्तिको सेवा गर्नुपर्ने भन्दै सांस्कृतिक रुपान्तरणविना समाज परिवर्तन असम्भव हुने बताए । नेता थारूले पार्टी निरन्तर क्रान्तिको पक्षमा रहेको बताउदै प्रतिक्रियावादीहरूको भ्रम र षड्यन्त्रलाई खारेज गर्नुपर्ने बताए ।
अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल लेखक सङ्घका महासचिव खोमा तरामु मगरले दलाल पुँजीवादी संस्कृति र सांस्कृतिक उपभोक्तावादको विरुद्ध एकीकृत सांस्कृतिक आन्दोलन जरूरी भएको बताए । उनले साहित्य, कला, गीत, सङ्गीत तथा बौद्धिक गतिविधिका माध्यमबाट सांस्कृतिक रुपान्तरण गर्ने उद्देश्यले सिर्जना चौतारीको मासिक शृङ्खला सुरु गरिएको बताए । 

कार्यक्रममा ज्ञानु केसी, खोमा तरामु मगर, पारस राहादी मगर, साया किरण, इन्दु वली, रूपसिंह विश्वकर्मा, देवराज देउकी, जयकिसन, नयन अर्याल, प्रविन न्यौपानेलगायतले कविता, मुक्तकलगायत सिर्जनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जनकलाकार रेश्मी बुढा मगर, आत्मा पौडेल, देवराज देउकी, जयकिसनलगायत सङ्ग्रामी सांस्कृतिक परिवारले गीत प्रस्तुत गरेको थियो ।

सङ्ग्रामी सांस्कृतिक परिवारका अध्यक्ष एवं कलाकार आत्मा पौडेलको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता महासङ्घका जिल्ला अध्यक्ष बिहानी मगरले गरेका थिए । सिर्जना चौतारी हरेक महिनाको पहिलो शनिवार नियमित शृङ्खलाको रूपमा सञ्चालन हुने अध्यक्ष बिहानी मगरले बताए ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हरेक वर्ष सांस्कृतिक प्रतिरोध दिवस मनाउदै आएको छ । एक वर्ष अगाडि बुटवलको ट्राफिक चोकमा प्रतिरोध दिवस मनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :