नेकपाले सप्तरीका बाढी पीडितलाई राहत वितरण गर्‍यो


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, जनकपुर ब्युरोको आयोजनामा सप्तरीका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । सप्तरीका विभिन्न ठाउँमा बाढिमा परी ज्यान गुमाउने पाँच जनाका परिवारहलाई जनही दश हजारको दरले नगद वितरण गरिएको हो । शुक्रबार राजविराजको जेसिस भवनको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त नगद रकम वितरण गरिएको हो । यसैगरी बाढी पीडित अन्य परिवारलाई पनि रु ४ हजारको दरले राहत वितरण गरिएको छ ।

 

सप्तरीको कृष्णश्रवन, खिन्तमस्त, महादेव गाउँपालिका अन्तर्गतका बाढी पीडित परिवारहरुलाई राहत रकम वितरण गरिएको हो । बाढी पीडित परिवारलाई वितरण गरिएको राहत रकम जम्मा १ लाख ५० हजार रहेको छ । राहत वितरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, केन्द्रीय सल्लाहकार समितिका सदस्य रामलखन महत्तो, र बैकल्पीक केन्द्रीय सदस्य देवनारायण शाहको उपस्थिति रहेको थियो ।

 

राहत रकम नेकपा निकट नेपाली जनप्रगतिशील मोर्चा वेल्जीयम र जर्मनले सहयोग गरेको हो । मोर्चाले पठाएको बाँकी रकम सप्तरीका अन्य ठाउँहरुमा पनि वितरण गर्ने कार्यक्रम रहेको जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलले जानकारी दिनुभएको छ ।

२०७४ भदौ १६ गते  ५  :०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :