राष्ट्रघाती एमसीसीविरूद्व रूपन्देहीमा जिल्ला प्रशासन कार्यालय घेराउ

राष्ट्रघाती एमसीसीविरूद्व रूपन्देहीमा जिल्ला प्रशासन कार्यालय घेराउ

भैरहवा : राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै नेकपासहित ५ कम्युनिस्ट पार्टी र दुई मोर्चाले भैरहवामा जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । संयुक्त मोर्चाको केन्द्रीय कार्यक्रम अन्तर्गत रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम गरिएको नेकपा केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज कृतिले बताए ।

घेराउ कार्यक्रमपछि कोणसभालाई सम्बोधन गर्दै नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले एमसीसी सम्झौता संसदमा टेबल गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै यसलाई संसदबाट पास नगर्न चेतावनी दिए । उनले अमेरिकी साम्राज्यवादका दलालहरूले एमसीसी पास गरे कार्यान्वयन हुन नदिने बताउँदै यसका विरुद्ध देशभक्तहरु एक हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदीले नेपालको सार्वभौमसत्ता र अर्थराजनीतिलाई नकारात्मक प्रभाव पार्ने गरि एमसीसी सम्झौता आएको भन्दै यसले नेपाली जनताको स्वतन्त्रता र स्वाधीनताविरुद्ध भएको बताए । उनले नेपालको प्राकृतिक स्रोत साधन कब्जा गर्ने र चीनलाई घेर्नका लागि एमसीसी आएको भन्दै यसलाई अस्वीकार गर्नुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका हिरालाल धामीले एमसीसी विद्युत र सडक बिस्तारको नाममा चीनविरूद्ध सैन्य बिस्तार गर्ने रणनीति भएको भन्दै यसको खारेजी अनिवार्य भएको बताए । नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्यायले एमसीसी देशमाथिको हस्तक्षेप भएको भन्दै सबै देशभक्त नेपालीहरू एक हुनुपर्ने बताए ।

कोणसभाको सञ्चालन देजमोका जिल्ला सदस्य राजु भुजेलले गरेका थिए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् रूपन्देही जिल्ला इन्चार्ज कृति, नेकपा मसालका चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमलगायत नेता एवम् संयुक्त सङ्घर्षमा सम्बद्ध नेता कार्यकर्ता र जनताको उपस्थिति रहेको थियो ।

केन्द्रीय कार्यक्रम अन्तर्गत रुपन्देहीमा सिडियो कार्यालय घेराउ गरेको हो । यसअघि रुपन्देहीमा संयुक्त वैठक बसी एमसीसी विरुद्धको सङ्घर्षलाई तीव्रता दिने निर्णय गरेको थियो । कार्यक्रम अन्तर्गत जिल्लामा फागुन १३ गते मुर्गिया, मणिग्राम, योगीकोटीमा कोणसभा गर्ने, फागुन १४ गते प्रचारात्मक कार्यक्रम गर्ने र १५ गते विरोध सभा गर्ने बताइएको छ । रूपन्देहीमा संयुक्त सङ्घर्षलाई तीब्रता दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :