सरकारी न्याय महँगो र अपत्यारिलो भएपछि नेकपा गुहार्दै पीडितहरू

नेकपाले दिलायो पीडितलाई न्याय

दाङ : राजा राम शाहले इतिहासमा ‘न्याय नपाए गोर्खा जानू’ भनेझैँ पछिल्लो समय दाङमा पीडितहरू ‘न्याय नपाए नेपाल कम्युनिस्ट पार्टीमा जानू’ भन्न थालेका छन् ।

तुलसीपुरमा बस्ने एकजना पुरुष एक लाख पचास हजारमा ठगिए । विदेश पठाइदिन्छु भनेर एकजना पुरुषले पीडितसँग एक लाख पचास हजार रुपैयाँ लिएर भागेका रहेछन् । पीडितले नेपाल कम्युनिस्ट पार्टीमा मुद्दा दायर गरेनन् बरु मुद्दा दिन्छु भन्ने अभिव्यक्ति दिनेबित्तिक्कै पीडकले पीडितलाई एक लाख पचास हजार रुपैयाँ फिर्ता गरेको पीडितले बताए ।

यो एक प्रतिनिधिमूलक घटना मात्रै हो । नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लामा पुरानो सत्ताबाट न्याय नपाएका, न्यायिक समितिदेखि प्रहरी कार्यालयसम्मले मिलाउन नसकेका सयौँ मुद्दामा पीडितलाई न्याय दिलाएको पीडित आफैँ बताउँछन् ।

तुलसीपुर निवासी अर्का एकजना कसैको लहैलहैमा लागेर आफ्नो सबै जग्गा ठगका नाममा पास गरिदिए । कानुनसम्मत पीडितले सबै सम्पत्ति ठगलाई सुम्पिए । त्यसपछि पीडितले नेपाल कम्युनिस्ट पार्टीमा निवेदन दिए । पीडितको निवेदन बुझेपछि नेकपा दाङले मुद्दाको प्रक्रिया अघि बढायो र केही समयपछि साँच्चिकै पीडित ठगिएको प्रमाणित भएपछि पार्टीले पीडितका नाममा पुनः जग्गा पास गराइदियो ।

आफ्नो गुमेको सबै चीज प्राप्त भएपछि ती पीडितले न्याय प्राप्तिको लामो सास फेरे । उनी भन्छन्, ‘न्याय खोज्न थुप्रै ठाउँ भौँतारिएँ । न्याय त विप्लव पार्टीले दिलाउने रहेछ ।’ पार्टीको नामसमेत स्पष्ट भन्न नसक्ने ती व्यक्तिले आफूले पुनर्जीवन पाएको महसुस गरेको बताए ।

मिटरब्याजी, जग्गासम्बन्धी विवाद, आर्थिक लेनदेन, ठगी, जालसाजी, मेनपावरका नाममा ठगी गर्नेलगायत सयौँ मुद्दा पार्टीमा आउने गरेको नेकपा दाङले जनाएको छ ।

मुद्दाको प्रकृतिअनुसार छानबिन, छलफल गरी मुद्दा मिलाई पीडितलाई न्याय दिने गरेको नेकपा दाङका एक नेताले बताए । पार्टीले गरेको निर्णयबाट दुवै पक्ष सन्तुष्ट हुने गरेको उनको भनाइ थियो ।

पुरानो सत्तामा न्याय महँगो भएको, निष्पक्ष स्वतन्त्र रूपले फैसला नहुने तथा विभिन्न आर्थिक प्रलोभनमा पारी सत्ता र शक्तिको पहुँचमा न्याय सम्पादित हुने भएकाले पीडितहरू आफ्नो पार्टीमा न्यायको आशासहित आउने गरेको नेकपा दाङले जनाएको छ ।

पीडित पक्षले मुद्दाको निवेदन दिँदैमा ऊ पीडित हुन्छ भन्ने हुँदैन, बरु मुद्दाको वास्तविक यथार्थ गहिराइमा पुगेर आफूहरूले निर्णय गर्ने गरेको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :