म एउटा यात्री हुँ

म एउटा यात्री हुँ

हो, म एउटा यात्री हुँ
अँध्यारो साउनको रातमा उज्यालो
त्यो जूनलाई खोज्ने ।
मरुभूमिको बालुवामा पानीको
त्यो मुहान खोज्ने ।
अप्ठ्यारोमा फुलेको सुन्दर
त्यो फूललाई रोज्ने सहयात्री हुँ म ।

हो, म एउटा यात्री हुँ
निभेको खरानीमा आगोका
ती झिल्का जोगाउन खोज्ने ।
मर्न थालेको जनताको सपना
बचाउन खोज्ने ।
पुँजीवादको जाल फिँजिएको देशमा
क्रान्तिको बाटो रोज्ने सहयात्री हुँ म ।

हो, म एउटा यात्री हुँ
निराशाले छाएको कालो बादलभित्र
आशाका ती पलहरू खोज्ने ।
दलालको फन्दामा परेका ती
शोषितलाई बचाउन खोज्ने ।
भ्रष्टाचारको खेती भएको देशमा
न्यायको युद्ध रोज्ने सहयात्री हुँ म ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :