गण्डक बाँध फुटाउने प्रयास

काठमाडौंः नारायणीको बाढीका कारण डुबानमा परेका सुस्ताबासीले गण्डक नहर दोस्रो पटक फुटाउने प्रयास गरेका छन् । हरेक वर्षजस्तै यसवर्ष पनि पश्चिम गण्डक नरहका कारण सुस्तालगायतका नेपाली बस्ती डुबानमा परेका छन् । नहरका कारण खेतबारी र बस्ती डुबानमा परेको भन्दै स्थानीय बासिन्दाले एकसातामा दोस्रो पटक नहरको बाँध फुटाउने प्रयास गरेका हुन् । स्थानीय प्रशासनले सो प्रयास रोक्दै आएको छ । सुस्ता–१ मा शुक्रबार दोस्रोपटक आक्रोसित सुस्ताबसीले सो प्रयास गरेका हुन् । उनीहरुले तीन फिट चौडा र चार फिट गहिरो खनेका थिए । प्रहरी प्रमुख र प्रजिअ सूचनालगत्तै घटनास्थल पुगेका थिए । नहरका कारण सुस्ता १ र २ वडा डुबानमा परेका छन् । नारायणी नदीमा पानीको सतह बढेपछि सुस्ता–१ का बरुवा, छिबनी, फेचुहा, रुपौलिया र सुस्ता–२ का सत्तपति, महलबारी डुबानमा पर्दा करिब १ हजार विघा धान, उखु तथा तरकारी बाली नष्ट भएको छ । एक साताअघि त्यस्तै घटना हुँदा नेपाल–भारत सरोकारवाला अधिकारीहरुबीच भएको बैठकले साइफन मर्मत गरी जमेको पानी निकाल्ने र बालीनालीको क्षतिपूर्ति दिने समझदारी भएको थियो । सातादिनभित्रै सो निर्णय लागु गर्ने भनेपनि निर्णय कार्यान्वयन नभएको भन्दै सुस्ताबासी आक्रोसित भएका हुन् ।

२०७४ भदौ १० गते २ः१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :