एमसीसी सम्झौता खारेज गर्न माग गर्दै काठमाडौँमा संयुक्त विरोध प्रदर्शन

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै काठमाडौँमा संयुक्त विरोध प्रदर्शन

काठमाडौँः एमसीसी सम्झौता खारेज गर्न माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित आठ वटा पार्टी र मोर्चाहरुले काठमाडौँमा संयुक्त विरोध प्रदर्शन गरेका छन् । माइतीघरबाट सुरु भएको र्‍याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीसहित नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (मसाल) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको सहभागिता रहेको थियो ।

एमसीसी संसद्‌बाट पारित गर्न नदिने चेतावनी दिँदै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल, नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कन्चन, मालेका महासचिव सिपी मैनाली, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल आहुतीले ¥यालिको नेतृत्व गरेका थिए ।

कार्यक्रममा बोल्दै नेकपाका सचिवालय सदस्य कन्चनले नेपालमा एमसीसी कुनै पनि हालतमा लागु गर्न नहुने बताए । एमसीसी अमेरिकाको सैन्य रणनीति अन्तरगतको बजेटबाट नेपालका लगानी गर्न लागिएका यसलाई विना सर्त फिर्ता पठाउनु पर्ने बताए ।

‘यो योजना अन्तरगत आउन लागिएको रकम अनुदान होइन, यो त अमेरिकाको लगानी हो । जुन इण्डो प्यासिफिक रणनीति अन्तरगतको बजेटबाट खर्च हुन्छ ।’ विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘सैन्य रणनीतिको बजेटले बन्न लागेको परियोजना विशुद्ध सहयोग हो भन्न सकिदैन । त्यसैले समयमै यसलाई फिर्ता पठायो भने देशको हितमा हुन्छ ।’

उनले अगाडि भने, ‘एमसीसी दलाल संसदीय व्यवस्था भित्रकै एउटा दलालीको रुप हो । जो नेपालमा बसेर अमेरिकाको दलाली गरिरहेका छन् । हामीले एमसीसीको मात्र विरोध गरेर हुँदैन, यो व्यवस्थाकै विरोध गर्नु पर्छ र वैज्ञानिक समाजवादको स्थापना लागि संघर्ष गर्नु पर्छ ।’

कार्यक्रममा बोल्दै नेकपा मालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी अनुदान नहुने दाबी गरे ।

उनले कुनै पनि अनुदान संसद्‌बाट पास गर्नु नपर्ने र एमसीसी प्रचार गरिएअनुसार अहिले नआएको समेत बताए । महासचिव मैनालीले एमसीसीमार्फत अमेरिकाले नेपाललाई सैन्य रणनीतिभित्र पारेर चीनसँग लड्नको लागि नेपाललाई अखडाको रुपमा प्रयोग गर्न चाहेको समेत बताए ।

उनले ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री गर्न नदिने बताए । ‘अमेरिका नेपाल आउने भनेको चीनसँग लड्नका लागि हो । उनीहरु लड्दा हाम्रो कुनै टाउको दुखाईको विषय हुँदैन । तर नेपालको भूमि प्रयोग गरेर अमेरिकालाई प्रहार गर्यो भने चीनले पनि त्यसको प्रतिवाद गर्छ ।’ उनले भने, ‘अमेरिकीहरु त बंकर खनेर कुन दुलोमा पसिसकेका हुन्छन् । त्यसको प्रत्यक्ष मारमा नेपाली जनता पर्छन् । तसर्थ, यसलाई समयमै रोक्न सके नेपाल र नेपालीको हित हुनेछ ।’

त्यस्तै, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एमसीसी नेपालीहरुका लागि एउटा धोका भएको बताए । उनले विकास निर्माणको नाममा आउने रकमको नाममा अमेरिकाले सुरक्षा रणनीति भित्र्याउन चाहेको आरोप लगाए । नेता गजुरेलले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताए ।

भए नेपाल रणभूमिमा परिणत हुने दाबी गरे । उनले अमेरिकाको पैसा खाएकाहरुले, आश्वासनमा बिकेकाहरुले नै एमसीसी पास गर्न खोजेको आरोप लगाए ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले संसदवादी दलमा पनि देशभक्त नेताहरु भएकोले सहजै एमसीसी पास हुन नसकेको बताए । उनले केही पार्टीहरु फुटबाट आएकोले आगामी चुनावलाई मध्यनजर गरेर एमसीसीको पक्षमा पहिले जति हौसिन छोडेको बताए ।

संयोजक दुलालले एमसीसी लागू भएको छैन भन्ने कुरा सत्य नभएको र एमसीए भन्ने संस्था बनेर ११ अर्ब बढी रकम खर्च गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :