भेनेजुयलामा अमेरिकी उद्दण्डता

सन् २०१६ अप्रिल २५ मा रियल स्टेटका कारोबारी तथा सम्भावित रिपब्लिकन पार्टीका अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पले दक्षिणी अमेरिकी क्षेत्र अर्थात् मेक्सीको सीमामा ५० मिटरको पर्खाल निर्माण गर्ने घोषणा गरे । त्यस्तै सन् २०१६ नोभेम्बर ८ मा विश्वकै खर्बपतिमा स्थान बनाउन सफल घरजग्गा कारोबारी समग्रमा भन्नुपर्दा दलाल पुँजीपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीको उम्मेद्वार (राष्ट्रपति) हिलारी क्लिन्टनलाई परास्त गरे । यहीवर्ष अर्थात सन् २०१७ मे २३ तारिखमा ट्रम्पले अर्को विवादस्पद तथा उत्तेजनापूर्ण अभिव्यक्ति दिए । त्यो थियो, उत्तरकोरियामाथि अमेरिकाले आणविक तथा सैन्य हमला गर्ने । त्यस्तै ट्रम्पले अर्को अर्थहीन अभिव्यक्ति दिएका छन्, यही अगस्ट ९ तारिखका दिन ल्याटिन अमेरिकी देश भेनेजुयलामाथि सैन्य आक्रमण गर्ने चेतावनी दिए । माथिका सबै घटना जसले विश्वभरी सन्सनी फैलाए । ट्रम्पका अभिव्यक्ति सधैँ विवादित र खोक्रा हुने गरेका छन् । हुन त दलाल पुँजीपति चरित्र ट्रम्पका प्रत्येक अभिव्यक्तिमा प्रष्ट देखिन्छ । संसारमा सन्सनी फैलाउने ट्रम्पका माथिका भनाइहरू क्रमबद्ध रूपमा देखापर्नु दलाल पुँजीवादमा आएको संकटको उपज हो । अमेरिका तथा युरोपको बजारमा आएको सन् २००८ को महासंकटका अवशेषहरू अझै बाँकी नै छन् । त्यो संकट कहिलेकाहीँ कतै पश्चिमा पुँजी बजारमा देखापर्ने जस्तो देखिन्छ, तब तब दलाल पुँजीपतिहरू आफ्नो संकट टार्न (ढाकछोप गर्न अफवाहको साहरा लिने गर्दछन् । यो आरोप मात्र होइन यथार्थ हो । जर्मनीमा वित्तीय संकट पर्दा शरणार्थी समस्याको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चर्चा हुने गर्दछ । अमेरिकामा बेरोजगारी बढेपछि ट्रम्पले त्यसबाट बच्न भन्दै अमेरिका–मेक्सिको क्षेत्रमा पर्खाल लगाउने घोषणा गरेकोबाहेक अरू केही होइन । यो दलाल पुँजीवादको प्रवृत्ति नै हो भन्दा फरक नपर्ला । राजनीतिक अर्थशास्त्रमा दलाल पुँजीवादको अर्थ अनुत्पादक क्षेत्रमा संकेन्द्रीकरण गरेको पुँजी वा पुनउत्पादन गर्न नसक्ने पुँजी हो । अमेरिकाको पुँजीको प्रकृति दलाल पुँजी हो । अन्तर्र ाष्ट्रिय मुद्राकोष, विश्व बैंक, हतियारको व्यापार, वित्तीय पुँजीमा अमेरिकी अर्थतन्त्र टिकेको छ ।

आफ्नो क्षेत्रमा आएको आर्थिक संकट टार्न अमेरिकाले युद्धको सहारा लिने गरेको छ । हालका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्येक राजनीतिक निर्णय विगतको अमेरिकी शासकहरूको विरासतको निरन्तरताबाहेक अरू केही होइन । ट्रम्पले मात्र होइन सन् १९४५ यता सबै अमेरिकी राष्ट्र प्रमुखहरूले कमजोर राष्ट्रमाथि थिचोमिचो गर्दै आएका छन् । अमेरिकाले निरन्तर राजनीतिक, आर्थिक, सांस्कृतिक हस्तक्षेप विश्वभरि फैलाउँदै आएको छ । अमेरिकी हस्तक्षेपका बाबजुद आफ्नो स्वाभिमानलाई बचाउन सफल ल्याटिन अमेरिकी देशभित्र भेनेजुयला पनि एक हो । भेनेजुयलाको आर्थिक समृद्धिबाट त्रसित ट्रम्पले सो देशको आन्तरिक मामिलामा विशेषगरी ह्युगो चावेजको मृत्युपछि नेतृत्वको सापेक्षित कमजोरीको फाइदा उठाएर आफ्नो कठपुतली खडा गरेर प्रचुर प्राकृतिक स्रोत तथा साधन कब्जा गर्न खोजिरहेको छ । त्यसो त अमेरिकाको भेजेजुयलासँग उतार–चढावपूर्ण सम्बन्ध रहँदै आएको छ ।

भेनेजुयला ल्याटिन अमेरिकी देश हो । त्यसको दक्षिण ब्राजिल, पश्चिममा कोलम्बिया रहेको छ । यो देश प्रचुर मात्रामा प्राकृतिक स्रोत तथा साधनले भरि पूर्ण रहेकोले यो देशको स्रोत साधनमाथि पोर्चुगल, जर्मनी, इटालीदेखि हाल आएर साम्राज्यवादी देश अमेरिकाले आँखा गाडिरहेको छ । सन् १५२२– १८११ सम्म पोर्चुगिज साम्राज्यवादले यो देशलाई उपनिवेश बनायो । सन् १८२१ मा सो देशको भूगोल स्वतन्त्र जस्तो देखिए पनि सन् १८३० मा मात्र पूर्ण स्वतन्त्रता पायो । सन् १९५८ मा प्रजातान्त्रिक सरकार बन्यो र आधुनिक भेनेजुयलाको आधार बन्यो ।

दोश्रो विश्वयुद्धपछि शित युद्धको समयमा समाजवादी धारको प्रभाव रोक्न पुँजीवादले हायेक, फ्रिडम्यान र किन्स जस्ता पात्रहरूका धारणा अवलम्बन मात्र गरेन । समाजवादी अर्थतन्त्रका सकारात्मक पक्षको चोरीसमेत ग¥यो । त्यतिले मात्र नपुग्ने भएपछि बहुराष्ट्रिय निगम तथा गैर–सरकारी संस्था र अन्तर्राष्ट्रिय गैससका अवधारणा ल्याए पुँजीवादीहरूले । त्यस्तै पुँजीवादीहरूले आफ्नो प्रभावलाई कसिलो पार्न ७० को दशकमा सुरु गरी अर्थात् ८० को दशकमा विश्वभरि बहुराष्ट्रिय निगम (विश्व बैंक र विश्व मुद्राकोषले संरचनागत समायोजन कार्यक्रम अगाडि सारे । संरचनगत समायोजन कार्यक्रमले तेस्रो विश्वका देशको अर्थतन्त्र र पुर्ण रूपले कब्जामा लिई ध्वस्त पार्न सफल भए । संरचनागत समायोजन कार्यक्रमले ल्याटिन अमेरिकी तथा दक्षिण अमेरिकी देश कोलोम्बिया, भेनेजुयला, ब्राजिल जस्ता देशको अर्थचन्त्रमा ठूलो मन्दी देखाप¥यो । अन्तर्राष्ट्रिय मुद्राकोषले अगाडि बढाएको नवउदारवादी अर्थतन्त्रको अवधारणाको कारण नै भेनेजुयलामा सन् १९८०–१९९५ सम्म ६६ प्रतिशत गरिबी बढ्न पुगेको थियो । २०४६ पछि नवउदारवादको प्रवेश नेपालमा भित्रिएपछि राज्यको स्वामित्वका उद्योग सबै टाट पल्टिए । त्यसैगरी ल्याटिन अमेरिकाको अर्थतन्त्र नवउदारवादी अर्थ नीतिले भेनेजुयलालगायतका अन्य देशको अर्थतन्त्र गल्र्यामगुर्लुम जग भत्किएको पर्खालजस्तै भत्काइएको थियो ।

भेनेजुयलामा पुँजीवादी संकट आएपछि जनता वैकल्पिक व्यवस्थाको खोजी गर्न थाले । त्यसैकारण सन् १९८२ मा बोलिभियन क्रान्तिकारी आन्दोलन २०० को प्रयास भयो । परन्तु, त्यो सफल हुन सकेन । सन् १९८९ र १९९२ मा पनि सत्ता कब्जाको प्रयास भयो । नवउदारवादको विकल्पमा नयाँ अर्थव्यवस्था स्थापना गर्न ह्युगो चावेजले भेनेजुयलामा महत्वपूर्ण योगदान गरे । सन् १९८० बाट भेनेजुयलामा अमेरिकी कम्पनी तथा उत्पादनले आफ्नो प्रभाव बढाइसकेको अवस्थामा सन् १९८९ सम्म आइपुग्दा भेनेजुयला ठूलो संकटमा थियो तर प्रथम निर्वाचित राष्ट्रपतिका रूपमा ह्युगो चावेज आए । उनी क्रान्तिकारी नेता चेग्वेभाराबाट प्रभावित थिए । त्यस्तै सन् २००० मा अमेरिकी नियन्त्रणमा रहेको तेल खानी मुक्त गराए । सबै अमेरिकी तेल कम्पनीलाई सरकारीकरण गरे । त्यसपछि अमेरिका भेनेजुयला सम्बन्ध चिसिँदै गयो । तेलको कम्पनी सरकारीकरण गरेपछि भेनेजुयलाको अर्थतन्त्रमा नाटकीय रूपमा सुधार आयो । करमा निकै वृद्धि भयो । चावेजले निजीकरणलाई निषेध गरेको भन्दै अमेरिका झन् आगो भयो । चावेजको अर्थनीतिले अमेरिकाले आफूलाई दुईवटा ठूला चुनौती थपेको महसुस ग¥यो । पहिलो, पुँजीवादलाई भेनेजुयलाले वैचारिक टक्कर दिएको ठान्यो । दोस्रो, भेनेजुयलाको समृद्धि आफ्नो प्रतिकूल हुने आँकलन ग¥यो किनकि ह्युगो चावेजले एकातर्फ अमेरिकाले करिब १९८५ देखि नाकाबन्दी (आर्थिक) गरेको देश क्युवा र सो देशका नायक फिडेल क्यास्ट्रोसँग सम्बन्ध अघि बढाएका थिए भने अर्कातर्फ तेल उत्पादक देशहरूसँगको सम्बन्ध सुधारेका थिए । ह्युगो चावेजले सन् २००० मा अमेरिकी साम्राज्यवादी नीतिका विरुद्ध र आफ्नो देश इराकको तेल तथा कोइलामा अमेरिकाले हस्तक्षेप गर्न खोज्दा अवरोध ठानिएका इराकी धार्मिक नेता सद्दाम हुसेनलाई भेटेका थिए ।

अर्कातिर भेनेजुयलाले शिक्षा, स्वास्थ्य, रोजगारी, पेन्सन र खानेपानीमा ठूलो लगानी ग¥यो । त्यसपछि अमेरिका र सो देशका राष्ट्रपति जर्ज डब्लुबुस झन् चिढिए । हुँदाहुँदै बुस र चावेजको व्यक्तिगत सम्बन्ध पनि बिग्रिँदै गयो । सन् २००० मा वासिङ्टनले ह्युगो चावेजको सरकार ढाल्न एउटा गोप्य योजना बनाएको सिआईए प्रतिवेदन बाहिर चुहिएको थियो । सो प्रतिवेदनमा भनिएको थियो कि चावेज सरकार फाल्न अप्रिल पहिले सैन्य कु योजना बनेको थियो तर त्यो असफल भयो । त्यसो त चावेजले आफू राष्ट्रपति बनेको एक महिनादेखि अहिले (सन् २००२) सम्म पनि अमेरिकाले बर्खास्त गर्न प्रयास गरिरहेको बताएका थिए ।

सन् १९९८ देखि २००८ सम्म ह्युगो चावेजले भेनेजुयलालाई आर्थिक रूपमा कायापलट गरि देखाए । चावेज राष्ट्रपति निर्वाचित हुनुअघि भेनेजुयला संकटपूर्ण स्थितिमा थियो । सो समय ४५ प्रतिशत गरिबी रहेको भेनेजुयला सन् २००८ मा आउँदा गरिबी झरेर २५ प्रतिशत मात्र बाँकी रहेको थियो । डाटोस प्रतिवेदनअनुसार ह्युगो चावेजको कार्यकालमा १३७ प्रतिशत आर्थिक बृद्धि (सन् २००३ देखि २००८ सम्ममा) बढेको थियो । हाल आएर सो देशको प्रतिव्यक्ति आ १५,६०० अमेरिकी डलर पुगेको छ । ह्युगो चावेज एक दृढ तथा दीर्घकालीन रूपले समस्याको समाधान गर्न सक्ने कुशल नेतृत्व थिए । चावेजको समाजवादी नीतिबाट अमेरिकी शास्त्रीय सिद्धान्तका व्याख्याकारहरू त्रसित बनेका थिए । चावेजले कहिल्यै पनि अमेरिकी साम्राज्यवादका अगाडि घुँडा टेकेनन् र आफ्नो देशलाई स्वाभिमान बनाइछाडे तर चावेज विरुद्ध सिआईए तथा कथित मानवअधिकारीहरू निरन्तर हमला गर्न खोजे पनि कहिल्यै सफल हुन सकेनन् । चावेज अमेरिकी साम्राज्यवादी नीतिका कट्टर विरोधी थिए । उनले संयुक्त राष्ट्र संघको जनरल एसेम्बलीमा जर्ज डब्लु बुसले बोलेको माइक अशुद्ध भएको भनेका थिए । त्यसैक्रममा उनले अगाडि भनेको थिए– जर्ज डब्लु बुसले सुकिलाहरूको प्रजातन्त्रलाई बढवा दिएको र बमको प्रजातन्त्र चलाउँदै आएको र त्यसलाई प्रश्रय दिएको बताएका थिए ।

सन् २०११ मा ल्याटिन अमेरिकाका महान् तथा समाजवादी नेता ह्युगो चावेजलाई क्यान्सरले आक्रमण ग¥यो । श्रमजीवी जनताका पक्षमा लड्दा लड्दै सन २०१३ मार्च ५ मा दिवङ्गत भए उनी । चावेजको उत्तराधिकारीको रूपमा निकोलस माडुरो आए । उनी सत्तामा आएपछि साम्राज्यवादी अमेरिका झन् आक्रामक भएर अगाडि आयो । प्रत्यक्ष रूपमा देखिने गरी भेनेजुयलाको राजनीतिमा अनावश्यकरूपले हस्तक्षेप गर्न खोजेपनि अहिलेसम्म अमेरिकी साम्राज्यवाद सफल नभए पनि क्यास्ट्रोको निधनपछि निक्कै सक्रिय भएको पछिल्ला भेनेजुयलाका राजनीतिक घटनाक्रमले बताउँछन् । सबभन्दा पछिल्लो (अगस्त २०१७) निर्वाचनमा अमेरिकी साम्राज्यवादीको कठपुतली दक्षिणपन्थी राजनीतिक दलले निर्वाचनमा हुलदंगा गर्दा करिब १०० बढिको मृत्यु भएको थियो तर निर्वाचन उच्च बहुमतले विजयी भएको भेनेजुयलाका संचारमाध्यमले जनाएका थिए । निकोलस माडुरो पछि नहटेपछि ट्रम्प प्रशासन रेविजले ग्रस्त स्याल बन्न पुगेको छ । यसमा मुख्यरूपले सन्की राष्ट्रपति ट्रम्प अगाडि देखिएका छन् । उनले मंगलबार अवैधानिक रूपमा भेनेजुयलाको टापुमा आफ्ना सैन्य एयरक्राफ्ट उतारेका छन् । यसअघि उनले भेनेजुयलामाथि सैन्य आक्रमणको चेतावनी दिएका थिए । उनको आक्रमण गर्ने धम्कीलाई भेनेजुयलाका रक्षमन्त्री भ्लामिदेर पाड्रिनोले ट्रम्पको पागलपन भनेका छन् । साथै, उनले अमेरिकाको सैन्य उक्साहट अवैधानिक रहेको, आफ्नो देशलाई बिना जानकारी नै सैन्य उपस्थिति जनाएका भन्दै ट्रम्पको कदमको भत्र्सना गरेका छन । त्यस्तै, न्युओर्क टाइम्स र डोनाल्ड ट्रम्पले भेनेजुयलाको तेलको बहिस्कार गर्नुपर्ने बताएका छन् । ट्रम्पको विवादास्पद धारणाको ल्याटिन अमेरिकी देश पेरुलेसमेत भत्र्सना गरेको छ ।

निष्कर्ष

निकोलस माडुरोको सामु दईवटा विकल्प हुनेछन् । पहिलो, ह्युगो चावेजले जस्तै नडगमगाई अगाडि बढ्नु । दोस्रो, अमेरिकी साम्राज्यवादका अगाडि बुँडा टेक्नु । यसमा कुनै शंका छैन कि माडुरोको लागि पहिलो विकल्प नै अन्तिम र वस्तुवादी हुनेछ । त्यसका लागि ल्याटिन अमेरिका तथा आफ्नै देशभित्र भएका प्रगतिशील शक्ति र वामपन्थीसँग मोर्चाबन्दी र साम्राज्यवादको कडा प्रतिवाद गर्नु नै उचित निर्णय हुनेछ । सन् २००२ मा चावेजले अमेरिकालाई शिक्षा दिएजस्तै माडुरो सफल हुन्छन् या हुँदैनन् । निकोलस माडुरोको अग्निपरीक्षा हुन भने बाँकी नै छ । जसरी चावेजले भेनेजुयलाको अर्थतन्त्रलाई क्रान्तिकारी सुधार गरी अमेरिकी उत्पादनको बजारलाई स्वाधीन अर्थतन्त्रमा रूपान्तरण गरी अमेरिकी साम्राज्यवादलाई कडा टक्कर दिएका थिए । माडुरोले पनि त्यसलाई निरन्तरता दिन सक्नुपर्दछ । यसरी सरसर्ती हेर्दा ट्रम्पको उक्साहट कहिले कोरिया, कहिले इरान त कहिले भेनेजुयलामाथि सैन्य आक्रमण गर्ने कुराले अमेरिकाको शक्तिमा आएको क्षयीकरणको ज्वलन्त उदाहरण हो । समग्रमा अन्तर्राष्ट्रिय शक्ति सन्तुलन तीब्ररूपमा बढिरहेको छ । आज ट्रम्पको अभिव्यक्तिले विश्व बहुधु्रबमा विभाजित भइसकेको प्रस्ट हुँदै आएको छ ।

२०७४ भदौ ९ गते ८ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :