तीज पर्वलाई कसरी बुझ्ने ?

राज्यसत्ताको जन्मसँगै धर्म, संस्कार र संस्कृतिको जन्म भएको मानिन्छ । कुन वर्गको हातमा राज्यसत्ता छ, त्यो वर्गले आफ्नो पक्षपोषणको निम्ति आधार र उपरिसंरचनाको निर्माण गरिरहेको हुन्छ । यतिबेला सन्दर्भ तीज विशेषको छ । भन्ने गरिन्छ, तीज हिन्दु नारीहरूको महान चाड हो तर सामन्ती पितृसत्ताले लादेको शोषणको एउटा रूप हो । यसले हिन्दू धार्मिक समुदायका महिलाहरूमा ठूलो असमानता ल्याइदिएको छ । महिलाहरूमा तीनखाले वर्ग देखिन्छ– एक, उच्च वर्ग, दुई, मध्यम वर्ग र तीन, आधारभूत वर्ग । यी समग्रमा एउटै उत्पीडनका सिकार भएका छन् । जनविरोधी आयातीत सांस्कृतिक दौडमा छन् । यथार्थताको पहिचान गर्ने कुरा धेरै टाढाको विषय बनेको छ । जसको चर्चा तल गर्न खोजिएको छ : तीजलाई कसरी बुझ्ने ? हिन्दूधर्ममा आधारित पौराणिक मान्यताअनुसार परापूर्वकालमा हिमालय पर्वतकी छोरी पार्वतीलाई इच्छा विपरीत बाबुआमाले विष्णुसँग विवाह गरिदिन खोज्दा पार्वतीले विद्रोह गरिन् । उनलाई साथीहरूले अनकण्टार जंगलमा लुकाए । पार्वतीले महादेव पति पाउँ भनी शिवको आकृति बनाई पूजा आराधना गरी तपस्या गरेकी थिइन् । पछि शिव प्रकट भई तथास्तु भनी वरदान दिए भन्ने पौराणिक कथन छ ।

धार्मिक मान्यताअनुसार तीन दिनसम्म पानी पनि नखाई निराहार व्रत बस्नुपर्ने, अविवाहित महिलाले राम्रो श्रीमान् पाऊँ भन्ने र विवाहितले श्रीमान्को दीर्घायुको लागि व्रत बस्नुपर्ने चलन छ । सामन्ती पितृसत्ताले महिलालाई आफ्नो मालिक आफैं बन्न नदिने, उसलाई दासमा परिणत गरिरहने शोषणको चरम रूप तीज हो । पहिला–पहिला महिलाहरू दुःखसुःख आदान–प्रदान गर्ने, भावना साटासाट गर्ने, आफन्तसँग भेटघाट गर्ने माध्यम तीज बन्दथ्यो । त्यतिबेला कृषिमा आधारित अर्थतन्त्र थियो । महिलाहरूलाई श्रमले फुर्सद नै हँुदैनथ्यो ।

जब व्यापारमा आधारित अर्थतन्त्रको विकास भयो । बजारको प्रतिस्पर्धा हुन थाल्यो । नेपाली युवाहरू रोजगारीका लागि विदेश जान थाले । गाउँमा उत्पादक शक्तिमा ह्रास आउन थाल्यो । शिक्षा र स्वास्थ्यको सुविधाले बासस्थान सहरमा हुन थाल्यो । विज्ञान र प्रविधिको विकास भयो । त्यसप्रकारको परिवर्तनले तीजसहित सांस्कृतिक पर्वहरूमा पनि पुँजीवादी सांस्कृतिक विशेषताहरू प्रकट हुन थाले । विज्ञान र प्रविधिको सदुपयोग गर्नेको लागि वरदान बन्यो, दुरुपयोग गर्नेको लागि अभिशाप हुन पुग्यो । रूपमा हेर्दा तीज नारी स्वतन्त्रता जस्तो देखिन्छ । सारमा उत्तर–आधुनिकतावादी संस्कृतिको रमझमले तीज विकृतितिर जान थाल्यो । नेपाली महिलाहरूमा तीन वटा वर्ग देखिन थाल्यो ।

उच्च वर्ग : जसले फेसन सो गरेर एक महिनादेखि पार्टी प्यालेस र होटलहरू बुकिङ गरेर हवीस्की, वियर, वाइन, पिएर स्वातन्त्रताको नाममा अराजकतातिर गएका छन् ।

मध्यम वर्ग : यो वर्गका महिलाहरू आफ्नो कामकाजको बीचबाट पनि उच्च वर्गका महिलाहरूको प्रभावबाट अछुतो छैनन् ।

निम्न वर्ग : यो वर्गका महिलाहरू दसनङ्ग्रा खियाएर साँझबिहान हातमुख जोड्ने स्थिति हुँदैन । यिनका लागि तीजको रमझम ‘ आकाशको फल, आँखा तरी मर’ जस्तै भएको छ ।

यी तीनवटै महिलाहरूको लागि तीज पर्व रूपमा स्वतन्त्रता जस्तो देखिए पनि सारमा पितृसत्ताले लादेको उत्पीडनको रूप हो । एकजना व्यक्तिको लागि पानी नखाई व्रत बस्नुपर्ने, बिहान श्रीमान्को खुट्टा धोएर पानी खानुपर्ने, तीन दिनसम्म भोकै बस्नुपर्ने यो स्वास्थ्य विज्ञानका हिसाबले पनि राम्रो हुँदैन । फेरि पनि धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ महिलाहरूलाई दासताको जञ्जिरबाट मुक्त हुन नदिने खेल हो । यसर्थ, महिलाहरूले पनि समाजमा प्रचलित रुढीवादी अन्धविश्वास, कुरीति, कुसंस्कारका विरुद्ध धावा बोल्दै, अदृष्य र अलौकिक शक्तिको भ्रमबाट मुक्त हुँदै, प्रगतिशील संस्कार र संस्कृतिको मान्यतालाई आत्मसात गर्नुपर्ने आजको आवश्यकता बनेको छ । क्रान्तिकारी पक्षधरको दायित्व समाजमा भएको अन्याय, अत्याचार र असमानताका विरुद्ध न्याय, समानता र स्वतन्त्रता प्राप्तिका लागि नेपाली महिलाले प्राचीनकालदेखि नै त्याग तपस्या र बलिदानका असंख्य कीर्तिमानहरू कायम गर्दै आएको कुरा सर्वविदितै छ ।

विशेषतः दसबर्से जनयुद्धमा पुस्तौंदेखि जकडिएका कुरीति, कुसंस्कारका विरुद्ध धावा बोल्दै आम महिलाहरूलाई न्यायको पक्षमा उभ्याउन सफल बन्यो । देशैभरि २ हजार ५ सय महिलाहरूले बलिदान, हजारौंको संख्यामा अंगभंग–अपाङ्ग भए । जेलनेल र यातनाको कुनै पर्वाह भएन । पार्टी सेना र जनसत्तामा ४० प्रतिशत सहभागिता रह्यो । विश्वलाई नै चकित पार्ने ढंगले जनमुक्ति सेनामा महिलाको सहभागिता उल्लेख्य रह्यो । ‘वर्गीय राज्यसत्ताबाहेक सबथोक भ्रम हो’ भन्ने कुरा नेपाली आन्दोलनमा पुष्टि भयो । उत्पीडित वर्गले आफ्नो हातमा राज्यसत्ता लिन नसक्दा, नेतृत्वमा वर्गीय दृष्टिकोणमा विचलन पैदा हुँदा, क्रान्ति प्रतिक्रान्तिमा बदलिंदा जनयुद्धले जन्माएका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक उपलब्धिहरू धरापमा पर्न पुगे । यसको सबैभन्दा ठूलो मार महिलाहरूमा प¥यो । महिलाहरू फेरि चुलोचौकोमा पुनर्वहाली हुन पुगे । यो नेपाली समाजको तीतो यथार्थ हो ।

निष्कर्ष

इतिहासमा भएका क्रान्ति र प्रतिक्रान्तिबाट शिक्षा लिंदै मुक्ति र परिवर्तनका खातिर नेपाली महिला मुक्ति आन्दोलनका पक्षधर महिलाहरूले वर्गीय राज्यसत्ता प्राप्तिलाई पहिलो र मुख्य प्रश्न बनाउनुपर्छ । अन्य आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रूपमा विशेष अधिकारसहित समानता र स्वतन्त्रता प्राप्तिका लागि विद्यमान संसदीय राज्य व्यवस्थाको अन्त्य गर्दै जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापनाका लागि निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसात गर्नुपर्ने आजको आवश्यकता बनेको छ । जहाँसम्म संस्कार र संस्कृतिको कुरा छ, यो राज्यसत्ताको एउटा अंश हो । समग्रमा कुन वर्गीय दृष्टिकोणको आधारमा राज्यसत्ता संचालित छ भन्ने कुरा नै महत्वपूर्ण कुरा हो । त्यसैले राज्यसत्ताको प्रश्न हल नगरी संस्कार र संस्कृतिको प्रश्न पनि हल हुन सक्दैन । एक्काइसौं सताब्दीका क्रान्तिकारी महिलाहरूको काँधमा महत्वपूर्ण जिम्मेवारी थपिएको छ । संघर्षद्वारा राज्यसत्ता प्राप्त गर्ने, राज्यसत्ताको रक्षा गर्ने र राज्यसत्ता संचालन गर्ने साथै आम महिलाहरूलाई मुक्ति र परिवर्तनको अहम् दायित्वबोध हुने गरी अगाडि बढ्नुपर्ने आजको आवश्यकता बनेको छ ।

 

२०७४ भदौ ६ गते ११ : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :