एकीकृत जनक्रान्तिको जगका कुरा

एकीकृत जनक्रान्तिको जगका कुरा

नेपालमा अहिले दर्जनौँ कम्युनिस्ट नामका पार्टीहरू रहेका छन् । अझ मजाको कुरा त के भने सरकार र प्रमुख प्रतिपक्षमा पनि नामधारी कम्युनिस्ट छन् । यी कम्युनिस्टहरू विभाजित छन् । यसरी विभाजित हुनुको उनीहरूको तर्क विचारमा असमानता हो । विचार भन्नाले नेपालको वर्तमान राज्यप्रणालीलाई कसरी हेर्ने भन्ने हो । नेपाली जनता र वर्तमान राज्यप्रणालीको मुख्य अन्तर्विरोधको पहिचान गरेर क्रान्तिको कार्यदिशा तय गरी क्रान्तिलाई अघि बढाउनु हो र साम्यवादसम्म पुग्ने मार्गचित्र तय गर्नु हो । त्यसैले सही कार्यदिशा निर्माण गर्न सक्नु र नसक्नुले कुनै कम्युनिस्ट पार्टी क्रान्तिकारी छ कि गैरक्रान्तिकारी भन्ने सप्ष्ट बुझ्न सकिन्छ । यही गुदी कुरामा नेपालका अधिकांश कम्युनिस्ट पार्टीहरू स्पष्ट हुनसकेका छैनन् । त्यसैले उनीहरू घोषित वा अघोषित पुँजीवाद वा प्रतिक्रियावादमा पतन भएका छन् वा गोटी बन्न पुगेका छन् । सबैले देख्ने गरी उनीहरूको वर्गउत्थान भएको छ । उनीहरू सांस्कृतिक रूपमा विद्रुप भएका छन् र वैचारिक रूपमा भ्रष्टीकृत भएका छन् ।

केन्द्रीय सत्ता कब्जाको अन्तिम युद्धमोर्चामा पुगेको महान् जनयुद्धलाई टेबुलमा पराजित गरेपछि खण्डहर बनेको नेपाली क्रान्तिकारी आन्दोलनलाई सही बाटोमा ल्याउन र जनवादका बाँकी कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने ध्येयका साथ कमरेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिको कार्यदिशा ठोस गरिएको हो । यो कार्यदिशा नै नेपाली क्रान्तिको सही र स्पष्ट मार्गचित्र हो । यो कार्यदिशामा नेपाल कम्युनिस्ट पार्टी विगत ७ वर्षदेखि जनता र राष्ट्रको मुक्ति अभियानमा होमिएको छ । यही क्रममा कुमार पौडेल, नीरकुमार राई, महान, सनराईज, प्रज्वल, रामकुमार श्रेष्ठजस्ता १२ जना होनहार कमरेडहरूले सहादत प्राप्त गर्नुभएको छ । राज्यद्वारा पार्टी र सबै जनवर्गीय सङ्गठनमाथि दुई वर्षसम्म प्रतिबन्ध लगाइयो । उत्पीडित र श्रमजीवी जनताले नेपाल कम्युनिस्ट पार्टी यो संसदीय व्यवस्थाका विरुद्ध लडेर वैज्ञानिक समाजवाद स्थापना गर्न सक्ने एक मात्र शक्ति हो भन्ने गहिरो छाप परेको छ । प्रारम्भिक चरणका यी तथ्यहरूले वर्तमान नेपाली क्रान्तिको सही र एक मात्र कार्यदिशा भनेको एकीकृत जनक्रान्ति हो ।

एकीकृत जनक्रान्तिको कार्यदिशा कसरी र किन आवश्यक भयो ? कसरी आयो ? के यसको कुनै जग छ ? केका आधारमा यो कार्यदिशा तयार भयो ? यस्ता प्रश्नहरू उठ्ने गरेका छन् । त्यसैले यी प्रश्नहरूका उत्तर पनि तथ्यमा आधारित हुनु पर्दछ । माक्र्सवादको वस्तुलाई हेर्ने दृष्टिकोण भौतिकवादी हुन्छ भने विधि द्वन्द्वात्मक हुन्छ । इतिहासलाई भौतिकवादको अवधारणामा हेर्ने भएकाले ऐतिहासिक भनिएको हो । यसैलाई आधार मानेर कम्युनिस्ट घोषणापत्रमा मार्क्स र एङ्गेल्सले पहिलो च्याप्टरको ‘बुर्जुवा र सर्वहारा’ शीर्षकको सुरुमा नै ‘अहिलेसम्म सबै समाजको इतिहास, वर्गसङ्घर्षको इतिहास हो ।’ लेखिएको छ । हुनत थोमस पिकेटीले उनको चर्चित पुस्तक क्यापिटल एन्ड आइडिओलोजीको हिस्टोरी एस ए स्ट्रगल आइडिओलोजिज एन्ड क्वेस्ट फर जस्टिसमा उक्त कुराको खण्डन गर्दै ‘ उनीहरूको भनाइ सान्दर्भिक रहन्छ अब यो पुस्तक सकिएको छ, म यो निम्नानुसार सच्याउँछ कि अहिलेसम्मको समाजको इतिहास विचारधारात्मक सङ्घर्ष र न्यायको खोजीको सङ्घर्ष हो । अर्को शब्दमा, विचार र सिद्धान्त इतिहासमा गणना हुन्छन् ।’

एकतर्फी मात्र हुने हो भने उनको भनाइमा सत्यता रहेको छ । तर उनले छाडेको कुरा के हो भने वैचारिक सङ्घर्ष भनेको नै वर्गसङ्घर्षको अभिव्यक्ति हो । त्यसैले त माओले सही विचार कहाँबाट आउँछ भन्ने लेखमा ‘सही विचार व्यवहारबाट आउँछ, एकै ठाउँमा राखेर हेर्दा; तिनीहरू, उत्पादनका लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट तीन किसिमका सामाजिक व्यवहारबाट आउँछ ।’ यति भनिसकेपछि पिकेटीको तर्कमा अरू माथापच्ची गर्नुपर्ने देखिन्न ।

यी माथिका प्रसङ्ग यहाँ उल्लेख गर्नुको कारण के हो भने कम्युनिस्ट घोषणापत्र व्यवहारबाट पैदा भएको सही विचारको परिणति हो । व्यवहार भनेको अर्को अर्थमा सङ्घर्ष हो ।

नेपाली क्रान्तिको नेतृत्व गर्न, क्रान्तिलाई अघि बढाई वैज्ञानिक समाजवाद स्थापना गर्न जनयुद्धले खडा गरेका वैचारिक आधार, त्याग, बलिदान समर्पणको संस्कृति, दुखकष्टको जीवन पद्दति, हत्कडीबाहेक सबै चीज गुमाउन तयार सर्वहारा वर्गीय पक्षधरतासँग सामीप्य कायम गर्नु पर्दछ । फेरि पनि एकपटक दोहोर्याऊँ, दीर्घकालीन जनयुद्धको कार्यदिशा कार्यान्वयन हुँदै जाँदा नयाँ कार्यदिशाको विकासको आवश्यकता भैसकेको थियो । त्यो आवश्यकता केवल २०७० पछि मात्र एकीकृत जनक्रान्तिमा संश्लेषित भएको थियो ।

मार्क्सवाद सही व्यावहारिक प्रयोग सशस्त्र विद्रोह र दीर्घकालीन जनयुद्ध नै अहिलेसम्मका क्रान्तिका राजनीतिक कार्यदिशा हुन् । माओपछि पनि तेस्रो मुलुकहरूमा दीर्घकालीन जनयुद्धको कार्यदिशा नै प्रयोगमा आएका थिए । यसै कार्यदिशालाई प्रयोग गरेर नेपाल, पेरूजस्ता देशमा सुरु गरिएका जनयुद्धले रणनीतिक रक्षा, सन्तुलन र रणनीतिक आक्रमणको चरणमा पुगेका थिए । तर नेपाली जनवादी क्रान्तिले जनयुद्धकै क्रममा नयाँ कार्यदिशाको माग गरेको परिवेशमा मुख्य नेतृत्वले त्यसको विकास गर्न नसकेपछि यहाँको क्रान्तिले धक्का मात्र बेहोर्नु परेको होइन, निस्सासिलो प्रतिक्रान्ति हुन पुगेको तीतो यथार्थ विश्वसामु छ । यही सन्दर्भमा नेपालमा पहिलो कार्यदिशा अर्थात् जनयुद्ध पूरा नहुँदै एकीकृत जनक्रान्तिको कार्यदिशा कसरी आइपुग्यो ? भन्ने तर्क गर्ने क्रान्तिकारी यहाँ छन् । यसका लागि जनयुद्धको कार्यदिशा, त्यसको कार्यान्वयन, विकास र सत्तामा पारेको प्रभावलाई बुझ्न जरुरी छ ।

२०४८ सालको एकता महाधिवेशनमा प्रचण्डद्वारा प्रस्तावित दस्ताबेजको बुँदा ८ को राजनीतिक कार्यदिशा एवम् क्रान्तिका तीन साधनको महत्व उपशीर्षकमा रहेको ‘…यसका लागि गाउँबाट सहर घेर्ने दीर्घकालीन जनयुद्धको कार्यदिशा अपनाउनु अनिवार्य छ ।’ उक्त दस्ताबेजको विकल्पमा कमरेड निर्मल लामाले सशस्त्र विद्रोहको कार्यदिशा पेस गरेका थिए । बहुमतले जनयुद्धको कार्यदिशा पारित गरेको भए पनि अल्पमत पक्षले बहुमतको निर्णयको अधीनस्थ अल्पमत भन्ने लेनिनको सङ्गठन परिचालनसम्बन्धी नियमका बर्खिलाप बन्दुके भन्दै अमर्यादित, अराजनीतिक र गैरमार्क्सवादी तरिकाले अन्तर्विरोधको सिर्जना त गरियो नै साथै पार्टीभित्रका सबैजसो सूचनाहरू पत्रिकाका माध्यमबाट सार्वजनिक गर्दै सत्ताधारीहरूलाई उत्तेजित पार्ने काम भएको थियो । त्यसैले दीघकालीन जनयुद्धको कार्यदिशाले सुरुमा नै अन्तरपार्टी अन्तर्विरोधको सामना गर्नुपरेको थियो ।

२०४८ सालदेखि नै पार्टीभित्रको अन्तर्विरोध र बाहिर ग्रामीण वर्गसङ्घर्षका कारण कार्यदिशाअन्तर्गतका कार्यनीति, कार्ययोजना र कार्यक्रमहरू झनै परिमार्जित हुँदै गएका थिए । त्यसैले जनयुद्धले ५ वर्ष पूरा गर्दै गर्दा नै स्थानीय सामन्त, जमिनदार, जालीफटाहा, गुन्डाहरूलाई सफाइ गरिसकेको थियो । स्थानीय तहमा सामन्तवादको जरा काटिसकेको थियो । सामन्ती राजतन्त्र र परम्परागत संसदीय व्यवस्था माथि मात्र दोलित थियो । जनयुद्धको तीव्र विकासले देशी–विदेशी प्रतिक्रियावादीहरूका बीचमा भीषण अन्तरसङ्घर्ष सुरु भएको थियो । अन्तर्राष्ट्रिय स्तरमा अमेरिकामा ९÷११ र देशभित्रको राजपरिवारको वशं नै नाश हुने गरी भएको दरबार हत्याकाण्डले नेपालमा दीर्घकालीन जनयुद्धको कार्यदिशाको कार्यभार नयाँ जनवादी सत्ता केन्द्रमा स्थापना नभएको भए पनि सफल भएको थियो ।

दरबार हत्याकाण्डसँगै परम्परागत राजतन्त्रको अन्त्य हुनु, उत्पादनका साधनहरू दलाल पुँजीवादीको हातमा पुग्नु, नयाँ उत्पादक शक्तिको विकास हुँदै जानु, पुरानो सत्ताको सुरक्षा शक्ति दिनानुदिन पराजित हुनु र २०५९ जेठ ८ गते परम्परागत संसद्लाई पनि शेरबहादुर देउवाले विघटन गने अवस्थासम्म पुग्दा नेपाली जनयुद्धले नयाँ कार्यदिशाको माग गरेको थियो । यसलाई बुझेर वा नबुझेर प्रचण्डले दोस्रो राष्ट्रिय सम्मेलनमा ‘महान् अग्रगामी छलङ; इतिहासको अपरिहार्य आवश्यकता’ शीर्षकको दस्ताबेजमा ‘ दीर्घकालीन जनयुद्ध र सशस्त्र विद्रोहको कार्यदिशाको फ्युजन’ उल्लेख गरेर नयाँ कार्यदिशाको आवश्यकता बोध गरिएको थियो । तर नोम चोम्स्कीको प्रोफिट ओभर पिपल पढेसँगै नेतृत्वले विचार निर्माणको क्रान्तिकारी काममा पूर्ण विराम भएको थियो । विचार निर्माताको ट्याग लागेका प्रचण्ड—बाबुरामको दिमाग खियाइमा पूर्णविराम लागेको थियो । फलस्वरूप, प्रचण्ड—बाबुरामबाट ‘ इतिहासका अनुभव र एक्काईसौँ शताब्दीको विकासबारे’ हुँदै चुनबाङ बैठकमा पुगेर संसद्‌वादको यात्रा तय भएको थियो ।

नयाँ कार्यदिशा निर्माणको आवश्यकता कसरी तयार भयो त ? एउटा क्रान्तिकारी कार्यदिशालाई कार्यान्वयन हुँदै जाँदा नै नयाँ कार्यदिशा विकास गर्नु पर्ने आवश्यकताको महसुस उच्च वैचारिक, सर्वहाराप्रति निष्ठावान, क्रान्तिप्रति दृढ नेतृत्वले मात्र गर्न सक्छ । विश्वक्रान्तिमा मार्क्स—एङ्गेल्स, लेनिन र माओले मात्र क्रान्तिभित्रै कार्यदिशाको विकास गर्न सकेका छन् । नेपालका सन्दर्भमा जनयुद्धको विकाससँगै पुरानो सत्ताको स्थानीय तहमा विस्थापन र नयाँ सत्ताको स्थापना, जनतामा तीव्र विद्रोहको चेत, साहस र विवेकले परिपूर्ण जनमुक्ति सेनाको निर्माण, जातीय, क्षेत्रीय, लैङ्गिक भेदमा न्यूनीकरण, वैचारिक र राजनीतिक रूपमा सुदृढ नेता र कार्यकर्ताको ठूलो पङ्क्ति भएको पार्टी र सङ्गठन, जनवादी संस्कार र संस्कृतिको विकास नै नयाँ कार्यदिशा निर्माणका बलिया खम्बाहरू थिए ।

नेता/कार्यकर्ता, जनताले त्याग, बलिदान र समर्पणको शिखर नै खडा गरेका थिए । जनयुद्धको प्रवृत्ति भनेको जीवनभन्दा क्रान्तिकारी विचार मुख्य, व्यक्तिगत सम्पत्तिभन्दा सामूहिक सम्पत्ति प्रिय, ऐस, आराम, मनोरञ्जनमा भन्दा दुःख, कष्ट र अभावमा रमाउने प्रतिलोमात्मक संस्कृति खडा गर्नु थियो । त्यसैले जनयुद्धको मूल्यमान्यतालाई अस्वीकार गर्नु, खारेज गर्नुपर्छ भन्नु भनेको एकीकृत जनक्रान्तिको भुइँमा नटेक्नु हो । हाँसीहाँसी जीवन आहुति गर्ने हजारौँ सहिद, जनक्रान्तिका क्रममा राज्यद्वारा बेपत्ता पारिएका योद्धा र शरीर अङ्गभङ्ग भएका, शरीरभरि गोली र छर्रा बोकेका ज्युँदा सहिदहरूको अवमूल्यन हो । जनयुद्ध नभएको भए ठोस रूपमा परम्परागत राजतन्त्रको अन्त्य हुने थिएन । गाउँ र सहरबीचको भेद न्यून हुने थिएन । प्रविधि, सूचनाप्रविधि, यातायात र शिक्षामा पहुँच बढ्ने थिएन । अद्र्धसामन्ती संरचना यथावत् रहने थियो जसका कारण हामीले दीर्घकालीन जनयुद्धको कार्यदिशालाई नै अबलम्वन गर्नुपथ्र्याे । त्यसैले जसले जनयुद्धलाई बुझ्दैन, आत्मसात गर्दैन, त्यसका मूल्यमान्यतालाई स्वीकार गर्दैन, यति मात्र होइन, जनयुद्धमा टेक्दैन ऊ सच्चा एकीकृत जनक्रान्तिको अनुयायी हुन सक्दैन ।

त्यसैले नेपाली क्रान्तिको नेतृत्व गर्न, क्रान्तिलाई अघि बढाई वैज्ञानिक समाजवाद स्थापना गर्न जनयुद्धले खडा गरेका वैचारिक आधार, त्याग, बलिदान समर्पणको संस्कृति, दुखकष्टको जीवन पद्दति, हत्कडीबाहेक सबै चीज गुमाउन तयार सर्वहारा वर्गीय पक्षधरतासँग सामीप्य कायम गर्नु पर्दछ । फेरि पनि एकपटक दोहोर्याऊँ, दीर्घकालीन जनयुद्धको कार्यदिशा कार्यान्वयन हुँदै जाँदा नयाँ कार्यदिशाको विकासको आवश्यकता भैसकेको थियो । त्यो आवश्यकता केवल २०७० पछि मात्र एकीकृत जनक्रान्तिमा संश्लेषित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :