नेकपाद्वारा कान्तिपुरको समाचारको खण्डन

‘हामीसँग कुनै हतियार छैन, हामी युद्ध होइन क्रान्ति चाहन्छाैँ’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित समाचारको खण्डन गर्दै त्यसप्रति आपत्ति प्रकट गरेको छ । यही मङ्सिर ५ गते आइतबारको उक्त दैनिकमा प्रकाशित ‘१० बर्षे द्वन्द्वको अवशेष : २६ सय हतियार अझैँ बाहिर’ शिर्षकको समाचारप्रति नेपाल कम्युनिस्ट पार्टीले खण्डन गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले आफ्नो पार्टी र सरकारबीच भएको तीनबुँदे सहमति नचाहने तत्वले यस्ता खाले हल्लाहरू चलाउने गरेको भन्दै आफ्नो पार्टीसँग कुनै पनि खाले अत्याधुनिक वा घरेलु हातहतियार नरहेको प्रस्ट पारेको छ । आफ्नो पार्टीले युद्ध नभई क्रान्ति गरेको, हिंसा नभई परिवर्तन चाहेको तर, देशमा शान्ति नचाहने तत्वले आफ्नो पार्टीलाई जबरजस्त युद्धमा धकेल्ने मनसायले अनाआश्यक भ्रमहरू सिर्जना गरेको नेकपाले बताएको छ । नेकपाले आफ्नो पार्टी र सरकारसँग भएको तीनबुँदे सहमतिको मर्म अनुसार जेलमा रहेका आफ्नो पार्टीका नेताकार्यकर्ता रिहा हुनुपर्ने र नेता कार्यकर्ताहरूमाथि लगाइएका झुट्टा मुद्दा खारेज गर्नुपर्ने भएपछि उक्त सहमति मन नपराएका र देशलाई जर्बजस्त युद्धमा धकेल्न चाहनेहरूले नै अप्रसाङगीक हतियारको कुरा झिकेको बताएको छ । सरकार नेकपाबीच भएको तीनबुँदे सहमतिको मर्म अनुसार नेकपाले सबै खाले गतिविधिहरू शान्तिपूर्ण तरिका अघि बढाएको सन्दर्भमा अनावश्यक बखेडा झिक्नु यो शान्ति विरोधी तत्वहरूको कपोलकल्पीत हल्ला भएको र यो तीनबुँदे सहमतिलाई तोड्ने षड्यन्त्र भएको बताएको छ । साथै नेकपाले सरकारले तीनबुँदे सहमति अनुसार सबै नेताकार्यकर्ताहरू रिहा गर्नुपर्ने र झुट्टा मुद्दा खारेज गर्नुपर्ने बताएको छ ।

बृहद शान्ति सम्झौताका नाममा तत्कालिन नेकपा माओवादी अध्यक्ष पुष्मकमल दाहालले तत्कालिन जनमुक्ति सेना तथा हतियार बुझाएको कुरा सबैका सामू छर्लङ्ग भइसकेको र सेना समायोजन भएर यो विषय समाप्त भैसकेको अवस्थामा जनयुद्धकालिन समयका हतियारप्रति आफ्नो पार्टीको सरोकारको विषय नभएको नेकपाको भनाई छ । साथै नेकपाका नेताहरूले कान्तिपुर जस्तो पत्रिकाले कुनै तथ्य, प्रमाण र आधारविना यस्तो समाचार लेख्नु दुःखद् भएको बताएका छन् ।

नेकपाले हतियार राखेको भनेर कतिपयले आरोप लगाइरहेका छन् र प्रतिबन्धको बेला ठाउँठाउँबाट हतियार बरामद भएको भनिरहेका छन् भन्ने ई–रातो खबरको प्रश्नको जवाफमा नेकपाको केन्द्रीय कार्यालय श्रोत भन्छ, ‘वास्तवमा साँचो कुरा के हो भने जे जति हाम्रो पार्टीका नेता कार्यकर्ताहरूलाई गिरफ्तार गरियो र त्यसक्रममा जसरी पनि उनीहरूलाई बनावटी मुद्दा लगाएर ठिक गर्नुपर्दछ भन्ने भएपछि गिरफ्तार हुनेहरू जतिलाई एउटा न एउटा मुद्दा लगाउने र उनीहरूको झोलामा हतियार राख्न लगाइएको प्रस्टै छ ।’

प्रहरीद्वारा गिरफ्तार गरिएका आफ्नो पार्टीका कार्यकर्ताहरूलाई जसरी पनि मुद्दा लगाउनु पर्दछ र जेल हिरासत राख्नुपर्दछ भन्ने योजना अन्तर्गत जनयुद्धकालिन हतियार राखेको आरोप लगाइएको नेकपाको दाबी छ । नेकपाको उक्त भनाईलाई प्रस्ट्याउने गरी केही प्रहरी अधिकारीहरू अनौपचारिक कुराकानीका क्रममा भन्छन्, ‘पहिले प्रतिबन्ध हुँदा जसरी पनि मुद्दा लगाउनुपर्दछ भनेर मुद्दा बनाउन लगाईयो । झोलाहरूमा हतियार हाल्ने र मुद्दा बनाउन लगाएको कुरा तपाईहरू कै भुतपूर्व कमरेडहरूलाई कि त गृहमन्त्री र मन्त्रालयलाई थाहा होला ।’ जेल हिरासत बस्ने नेकपाका नेताकार्यकर्ताहरूको अनुभवमा पनि राष्ट्रियताको पक्षधर र इमान्दार प्रहरी अधिकारीहरू र सत्तासिनहरूको नजिकमा रहेकाहरूको व्यवहारसमेत फरक हुने गर्दछ । कतिपय ठाउँहरूमा त मुद्दाका प्रकृति पनि त्यस्तै खाले हुने गरेका छन् ।

गत फागुन २१ गते केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमति भयो । सहमति भए लगत्तै नेकपाका महासचिव विप्लव र प्रधानमन्त्री केपी ओली राष्ट्रिय सभागृहको कार्यक्रममा सँगै सम्बोधन गरे । सरकारसँग भएको तीनबुँदे सहमतिको एउटा बुँदामा उल्लेख भए अनुसार सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध तत्काल फुकुवा ग¥यो नेकपाले पनि सबै गतिविधि शान्तिपूर्ण तरिकाले गर्ने सहमति अनुसार नेकपा राजनैतिक वैचारिक कार्यक्रमहरू लिएर जनतामा गयो । तर सहमतिको अर्को महत्वपूर्ण बुँदा सबै बन्दीहरू रिहा गर्ने र झुट्टा मुद्दा खारेज गर्ने सहमति पालना गर्ने कुरामा सरकारले बिलम्ब गरिहरहेको छ । सरकारले यस्तो खाले ढिलाई गर्नुको पछाडि देशमा शान्ति नचाहने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूको दवाव रहेको कुरा नेकपाले बताउँदै आएको छ । प्रतिबन्ध पछि र प्रतिबन्ध अगाडि पनि नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियताको मुद्दा अन्य जन सरोकारका विषयहरूलाई जोडदार रुपमा उठाउँदै आएको सन्दर्भमा यो बाट झस्किएका राष्ट्रिय आत्मसमर्पणवादीहरूले नै यस्ता विभिन्न खाले कुतर्क गरेर देश गृहयुद्धमा फसोस् भन्न चाहेको कतिपय बाम बुद्धिजीवीहरूको समेत भनाई छ । राष्ट्रवादी शक्तिहरूले देशको एक मात्र असल कम्युनिस्ट पार्टी सत्ता बाहिरको नेकपा हो भनिरहेको र सो पार्टीको पक्षमा विस्तारै जनमत बढिरहेको अवस्थामा यो बाट आत्तिएकाहरूले नै विभिन्न खाले कुतर्क गरिरहेको विश्लेषण गरिँदैछ ।

तत्कालिन सशस्त्र जनयुद्ध गरेको नेकपा र तत्कालिन गिरिजाप्रसाद कोइराला सरकारबीच बिस्तृत शान्ति सम्झौता भएको १५ बर्ष पुगेको छ । यतिबेला सम्म हतियारको बिषय उठिरहनु भनेको तत्कालीन जनयुद्धका नेताहरूले धोका दिनु र देशमा जनताको मुद्दाले हार्नु भएको कतिपय पूर्व माओवादी नेताहरू बताउछन् । संविधान सभाको चुनाव वरिपरी र त्यसको केही समय पछि नै यो प्रक्रियाबाट समस्याको समाधान हुन नसक्ने भन्दै फरक मत राखेको क्रान्तिको नयाँ अभिभारा पूरा गर्ने मुद्दा उठाउँदै र यो प्रक्रियाको नेतृत्व गर्दै आएका नेकपा महासचिव विप्लव भन्छनर, ‘जनयुद्धकालिन हतियार कहाँ गयो यो हाम्रो सरोकारको विषय होइन र थाहा हुने विषय पनि होइन, यो पुष्पकमल दाहालहरूलाई थाहा हुने विषय हो हामीले क्रान्ति र परिवर्तनका कुरा गरेका छौं हतियार र युद्धको होइन स्थायी शान्ति र अग्रगमनका कुरा हामीले गरेका छौँ ।’

महासचिव विप्लव भन्छन्, ‘हामीले अग्रगमनको कुरा गर्दा जनविरोधी तत्वहरूले नाना थरीका अफवाह फैलाउछन् यो सरासर गलत छ । हाम्रो लडाइँ दलाल पुँजीवादका विरुद्धको लडाइँ हो सेना प्रहरीसँगको होइन त्यसकारण हामीले हतियार लुकाउने या राख्ने भन्ने प्रश्नै आउँदैन ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :