नेकपाका नेता माइला लामाले भेटे आस्थाका बन्दीलाई

नेकपाका नेता माइला लामाले भेटे आस्थाका बन्दीलाई

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला इन्चार्ज माइला लामालगायत पार्टी नेता–कार्यकर्ताले सोमबार ललितपुर र काठमाडौँको जेलमा रहेका आस्थाका बन्दीहरूसँग भेटघाट र छलफल गरेका छन् ।
प्राप्त समाचारअनुसार नेकपा नेता लामाले काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार र ललितपुरको नख्खुस्थित नख्खु कारागारका आस्थाका बन्दीहरूसँग भेट गरी बन्दीहरूको स्वास्थ्य अवस्था र जेल प्रशासनले आस्थाका बन्दीमाथि गरेको व्यवहार बुझ्नुका साथै मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीका निर्णय र कार्यक्रमहरूका बारेमा जानकारी गराएका थिए ।
नेकपा नेता लामाले नख्खु कारागारमा रहेका बिन्तोष तामाङ, सूर्य भुजेललगायत आस्थाका बन्दीहरूको टोली र केन्द्रीय कारागारमा रहेका रामप्रसाद शर्मालगायत आस्थाका बन्दीसँग भेट गरी बन्दीको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
नेकपा नेता लामाले बन्दीहरूसँग पार्टीनेताहरू र वर्तमान प्रधानमन्त्रीका बीचमा तीनबुँदे सहमति कार्यान्वयनलगायत विषयमा भएको छलफलका बारेमा पनि जानकारी गराएका थिए ।
आस्थाका बन्दीहरूले आफूहरूले जेल मोर्चाको सफल नेतृत्व गर्न पाएकोमा खुसी व्यक्त गर्दै पार्टी नेताहरूलाई दृढतापूर्वक अघि बढ्न सुझाव दिएका थिए । उनीहरूले सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन हुनेमा आफूहरू आशावादी रहेको र मुलुकमा एकीकृत जनक्रान्ति सफल भई वैज्ञानिक समाजवाद स्थापना हुनेमा विश्वस्त रहेको बताएका थिए ।
भेटका क्रममा नेकपा काठमाडौँले नख्खु र केन्द्रीय कारागारमा रहेका आस्थाका बन्दीहरूलाई केही आर्थिक सहयोगसमेत गरेको बताइएको छ ।
नेकपा नेता लामासँगै आस्थाका बन्दीहरूलाई भेट्न कारागारहरूमा पुगेका रातो खबर साप्ताहिकका व्यवस्थापक धनराज शाही र कार्यालय सहायक धीरेन्द्र बोहोराले बन्दीहरूलाई रातो खबर साप्ताहिकका साथै पार्टीको केन्द्रीय प्रकाशनबाट प्रकाशित दृष्टिकोणलगायत वैचारिक पत्रिका र पुस्तकहरू प्रदान गरेका थिए ।
आस्थाका बन्दीहरूलाई भेट्न माइला लामासँगै नख्खु र केन्द्रीय कारागार पुगेकी अखिल नेपाल जनसांस्कृतिक महासङ्घकी केन्द्रीय उपाध्यक्ष एवम् अखिल नेपाल लेखक सङ्घकी अध्यक्ष शोभा दुलालले राजनीतिक बन्दीहरूले उच्च मनोबलका साथ जेल मोर्चामा महत्वपूर्ण भूमिका निर्वाह गरेर नयाँ संस्कृति निर्माण गरेको बताएकी थिइन् ।
स्मरणीय छ, नेकपा र सरकारबीच गत फागुन २१ गते भएको तीनबुँदे सहमतिअनुसार सरकारले अझसम्म सहमति कार्यान्वयन नगर्दा एक सयभन्दा बढी आस्थाका बन्दी विभिन्न झूट्टा मुद्दामा देशभरका जेलमा बन्दी जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :