नेकपा रुपन्देहीद्वारा जिल्ला प्रशासन कार्यालय भैरहवामा धर्ना

नेकपा रुपन्देहीद्वारा जिल्ला प्रशासन कार्यालय भैरहवामा धर्ना

भैरहवाः नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय भैरहवामा दबाबमूलक धर्ना दिएको छ । साथै नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी विश्वासको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर तीन बुँदेमा राज्य गम्भीर बन्न अर्थात् नेकपाका सम्पूर्ण बन्दी नेताकार्यकर्तामाथि लगाइएको झुटा मुद्धा खारेज गरि रिहाइको लागि ध्यानाकर्षण समेत गराइएको नेकपा रुपन्देहीले जनाएको छ ।

धर्ना कार्यक्रमपछि भएको कोणसभामा बोल्दै नेकपाका नेता शिशिरले तीन बुँदे सहमतिमा राज्य इमान्दार नभएको भन्दै दुख व्यक्त गरे । उनले नेकपा तीन बुँदेमा प्रतिबद्ध रहेको र राज्यले सहमति कार्यान्वयन नगरे देशमा आन्दोलनको आँधीबेरी सल्कने चेतावनी दिए । नेकपाका नेताकार्यकर्तामाथि लगाइएको झुटा मुद्धा तत्काल खारेज गरि सबै राजबन्दीलाई यथाशिघ्र रिहाई गर्नुपर्ने शिशिरको माग थियो ।

शिशिरले जनताको चाहना अनुरुप जनमत संग्रहद्वारा वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्नु नै अहिलेको सहि विकल्प रहेको बताए । उनले संसदीय व्यवस्था सबै हिसाबले पतन भइसकेको धारणा व्यक्त गरेका थिए । उनले भने– ‘दलाल संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादको स्थापना गर्नु नै नेपाली श्रमिक जनताको चाहना हो ।’

नेकपाका जिल्ला स्तरीय नेताकार्यकर्ता, बुद्धिजीवी, व्यापार, व्यवसायी, पत्रकार, सुरक्षाकर्मी लगायतको व्यापक उपस्थितिमा सम्पन्न कार्यक्रममा तीन बुँदे सहमति कार्यान्वयन गर !, झुटा मुद्धा खारेज गर !, सम्पूर्ण राजबन्दीलाई रिहाई गर !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !, एकीकृत जनक्रान्ति जिन्दावाद !, वीर सहिदहरू लाल सलाम !, एमसीसी खारेज गर !, जनमत संग्रहको घोषणा गर ! लगायतका नाराहरू समेत लगाइएको थियो ।

गत फागुन २१ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपाबीच तीन बुँदे सहमति भएको थियो । तर राज्यले ३ बुँदे सहमति कार्यान्वयन गरेको छैन । नेकपाका थुप्रै नेताकार्यकर्ता अझै पनि जेल र हिरासतको जीवन बिताइरहेका छन् । केन्द्रीय कार्यक्रम अन्तर्गत असोज २० गते देशव्यापी प्रदर्शन कार्यक्रम रहेको नेकपाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :