क्रान्तिलाई विजयमा पुर्याउन हामी एक ढिक्का भएर जनतामा फर्कौं : महासचिव विप्लव

चितवनमा जारी नेकपाको केन्द्रीय प्रशिक्षण आज सकिँदै

क्रान्तिलाई विजयमा पुर्याउन हामी एक ढिक्का भएर जनतामा फर्कौं : महासचिव विप्लव

पर्सा (चितवन) : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको आयोजनामा चितवनको पर्सामा सोमबारदेखि जारी प्रशिक्षण आज समापन हुँदैछ । प्रशिक्षण कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षित गर्दै पार्टी महासचिव विप्लवले पार्टीको आगामी कार्यदिशाका बारेमा व्याख्या गरिरहेका छन् । प्रशिक्षणका क्रममा उनले क्रान्तिलाई विजयमा पुर्याउन एक ढिक्का भएर जनतामा जानुपर्ने बताएका छन् । क्रान्तिकारीहरू विजयोन्मुख रहेको र प्रतिक्रियावादीहरू पराजयको डिलमा पुगेको पनि महासचिवले बताएका छन् ।

कम्युनिस्ट पार्टीको अस्तित्वका लागि असल विचार आवश्यक भएको बताउँदै महासचिव विप्लवले क्रान्तिकारी पार्टी निर्माणका लागि सहि विचार निर्माण गरेर सही कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । यसअघि नै जेठमा केन्द्रीय स्तरको प्रशिक्षण आयोजना गर्ने पार्टीको कार्यक्रम भए पनि कोरोना महामारीका कारण केही ढिलो गरेर यस्तो कार्यक्रम गर्न लागिएको भन्दै विप्लवले यहाँबाट फर्केपछि आमजनतामा पार्टीको क्रान्तिकारी विचार सम्प्रेषण गर्न पार्टीका नेता–कार्यकर्ताहरू सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

सोमबार सुरु भई बिहीबार सम्पन्न हुन लागेको प्रशिक्षणमा देशभरिबाट तीन सयभन्दा बढी नेता–कार्यकर्ता सहभागी छन् । प्रशिक्षण कार्यक्रममा देशभरिबाट एक सय १५ जना सेक्रेटरी र प्रतिनिधिले रिपोर्ट गरेका थिए । उनीहरूले पार्टीलाई अझै क्रान्तिकारी बनाउन, क्रान्ति सम्पन्न गर्न र समस्या समाधान गर्ने भन्ने विषयमा सुझाव पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :