नेकपा रुपन्देहीद्वारा बुटवलमा उप–महानगर स्तरीय स्कुलिङ सम्पन्न

नेकपा रुपन्देहीद्वारा बुटवलमा उप–महानगर स्तरीय स्कुलिङ सम्पन्न

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रुपन्देही अन्तरगत बुटवल उप–महानगरपालिका समितिको आयोजनामा सञ्चालित उप–महानगर स्तरीय स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । शनिबारदेखि सञ्चालन भएको उक्त स्कुलिङ कार्यक्रम मङ्गलबार सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले बदलिएको परिस्थितिमा पार्टीले निर्देश गरेका पार्टीको नीति, योजना, समाजवादी कार्यक्रम जनतामाँझ पुर्याउन उक्त पार्टी स्कुलले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आफ्नो पार्टी प्रतिबन्धपछि घनीभूत ढङ्गले जनताका बीचमा पार्टीका कार्यक्रम, योजनाहरू लगेको र जनतालाई प्रशिक्षित पारेको बताए । विश्वासले नेपाली कम्युनिस्ट आन्दोलन अर्थात् वर्तमान नेपाली राजनीतिमा देखा परेको संकटको निकास निर्विकल्प वैज्ञानिक समाजवाद भएको भन्दै दलाल संसदीय व्यवस्थाको निस्तेज पार्नुपर्ने बताए । उनले आफ्नो पार्टीले विकास गरेको नयाँ कार्यनीति अन्तरगत संयुक्त प्रगतिशील सरकार गठन गरेर जनमत सङ्ग्रहमा जानुपर्ने र त्यो अधिकार एकपटक नेपाली जनताले पाउनुपर्ने धारणा व्यक्त गरे ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले सबै प्रशिक्षार्थीहरूले पार्टी स्कुलमा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा रुपान्तरण गर्नुपर्ने बताए । उनले कम्युनिस्ट पार्टीका सदस्यले कम्युनिस्ट पार्टीका आधारभूत सैद्धान्तिक ज्ञान हासिल गर्नु अनिवार्य भएको बताए । यस्तै नेकपा बुटवल नगर सेक्रेटरी विरेन्द्र विकले आफ्नो पार्टीले देशव्यापी रुपमा राजनीतिक तथा वैचारिक प्रशिक्षण एवम् पार्टी स्कुल सञ्चालन गरेको र त्यसै अनुरुप बुटवलमा पनि पार्टीको निर्देश अनुसार स्कुलिङ कार्यक्रम सञ्चालन गरेको बताए । विकले वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा जनमत निर्माण गर्न उक्त पार्टी स्कुलले मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

स्कुलिङ विभागका प्रमुख श्याम सेन्चुरीले उक्त पार्टी स्कुलिङ पश्चात् सबै प्रशिक्षार्थीहरूको वैचारिक तथा राजनीतिक दृष्टिकोणमा परिवर्तन आएको बताए । यस्तै स्कुलिङ विभागका सदस्य रुपा बुढा मगरले समाज र देशको रुपान्तरणका लागि कम्युनिस्ट स्कुलिङ आवश्यक र अपरिहार्य भएको बताइन् । त्यसैगरी स्कुलिङ विभागका सदस्य पारस राहादी मगरले वर्तमान पूँजीवादी संसदीय व्यवस्थाको अन्त्य र समाजवादी व्यवस्था निर्माणमा उक्त स्कुलिङले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा व्यक्त गरे ।

कार्यक्रममा सहभागी सबै प्रशिक्षार्थीहरूले आ–आफ्ना अनुभूति राखेका थिए । स्कुलिङ कार्यक्रममा सबै जिल्ला पार्टी सदस्य, नगर सदस्य, सहिद परिवार, सबै जबस/मोर्चाका सदस्यहरूको उपस्थिति रहेको बताइएको छ । उक्त स्कुलिङमा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, पार्टीको कार्यदिशा, पार्टीले विकास गरेको नयाँ कार्यनीति लगायतको विषयमा प्रशिक्षण दिइएको प्राप्त समाचारमा जनाइएको छ ।

समापन कार्यक्रम नेकपाका बुटवल नगर सेक्रेटरी विरेन्द्र विकको अध्यक्षता र अखिल नेपाल जनसांस्कृतिक महासङ्घका रुपन्देही जिल्ला अध्यक्ष बिहानी मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :