नेकपा इलामको नगर भेला तथा प्रशिक्षण सम्पन्न

नेकपा इलामको नगर भेला तथा प्रशिक्षण सम्पन्न

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलामको इलाम नगर भेला तथा प्रशिक्षण कार्यक्रम विभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ ।

सोमबार सम्पन्न भएको भेलाले १३ सदस्यीय नगर कमिटी चयन गर्दै वडा इन्चार्ज र सेक्रेटरी तोकेको छ । इलाम नगरका इन्चार्ज अबिनाशको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथिमा पार्टीका जिल्ला इन्चार्ज सुमनसिंह तथा अतिथि जिल्ला सेक्रेटरी मौसम रहेका थिए ।

भेलामा सहभागीहरूलाई प्रशिक्षण दिँदै कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला इन्चार्ज सुमनसिंहले भने – “हामीले जनमतसङ्ग्रहबाटै व्यवस्थाको बारेमा फैसला गरौँ भनेका छौँ, यो शान्तिपूर्ण निकासको विधि हो ।” यदि यो विधिलाई संसद्वादीहरूले लत्याउँछन् भने आफ्नो पार्टी परिस्थिति अनुसार जस्तो पनि सङ्घर्ष गर्न तयार रहेको पनि उनले बताए ।

सबैले जनअपेक्षा अनुसार साँचो कम्युनिस्ट बन्न प्रयत्न गर्नुपर्ने र यसो गरेर मात्र क्रान्तिको नेतृत्व गर्न सक्ने कम्युनिस्ट सङ्गठन निर्माण गर्न सकिन्छ भन्दै सहभागीहरूलाई वैज्ञानिक समाजवादी सत्ताका विशेषता अनुसार आफूलाई ढालेर जनताको बीचमा प्रस्तुत गर्न सुमनसिंहले आग्रह गरेका छन् । जनताले यतिबेला हाम्रो गुण खोजिरहेको हुनाले कम्युनिस्ट गुणको समृद्धिमा सबैले जोड गर्नुपर्ने भन्दै सहभागीहरूलाई प्रशिक्षित गरेका थिए ।

भेलामा जिल्लाको बैठकले तय गरेका आगामी योजनाहरूको बिषयमा जिल्ला सेक्रेटरी मौसमले प्रस्ट पारेका थिए । जिल्लाका सबै जनतालाई क्रान्तिमा जोड्ने योजना बनाएको भन्दै सम्पूर्ण योजनाहरूलाई इलाम नगरपालिकामा श्रृजनशील ढङ्गले कार्यान्वयन गर्न मौसमले निर्देशन गरेका थिए ।

कार्यक्रमको सञ्चालन इलाम नगरपालिकाका सेक्रेटरी बिद्रोहीले गरेका थिए । सङ्गठन, राजनीति, सङ्घर्ष, उत्पादन र अन्य विविध विषयमा विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै भेला सम्पन्न भएको नेकपा इलामले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :