जयसिंह धामीको हत्या विरोधमा नेकपाद्वारा देशभर विरोध सभा (फोटोसिहत)

जयसिंह धामीको हत्या विरोधमा नेकपाद्वारा देशभर विरोध सभा (फोटोसिहत)

काठमाडौँः  नेपाल कम्युनिष्ट पार्टीले दार्जुलाका नागरिक जयसिंह धामीलाई भारतीय एसएसबीले तुइन काटेर हत्या गरेको विरोधमा सोमबार देशव्यापी विरोध सभा गरेको छ ।
दार्चुलाका जयसिंह धामीलाई भारतीय एसएसबीले तुइन काटेर हत्या गरेको विरोधमा काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढा मगर ‘विषम’ले संसदीय व्यवस्था असफलताका कारण पटक पटक नेपाली नागरिकको हत्या भैरहेको बताएका छन् ।

नेता विषमले भने, –‘भारतीय साम्राज्यवादले नेपाली नागरिकको हत्या गर्दा पनि राज्यले केही बोल्न सक्दैन, एउटा वक्तव्य पनि निकाल्न सक्दैन, खै राज्य भएको अनुभूति कहाँ छ ? जयसिंहलाई तुइन काटेर हत्या गर्ने घोर अपराधीलाई राज्यले टुलुटुलु हेरिरह्यो, कारबाही गरेन भने हामीले कारबाही गर्नेछौँ तपाईहरु साथ दिनुपर्छ ।’
यो घटना चानचुने छैन भन्दै उनले जयसिंह धामीलाई शहिद घोषणा गर्न र परिवारलाई क्षेतीपूर्ति दिन माग गरे । भारतीय साम्राज्यवादको मात्र होइन अमेरिकी साम्राज्यवादको पनि नेपालमाथि गिद्येदृष्टि रहेको उनले बताए । एमसीसीको प्रसंगमा बोल्दै नेता विषमले एमसीसी खारेज गर्न माग गरे । यदी एमसीसी खारेज नगरिए एमसीसीमा हस्ताक्षर गर्ने औँला काटिने अवस्था आउने चेतावनी दिए । देशका लागि, देश र जनताको सुरुक्षाका लागि आफूहरु मर्न पनि तयार हुने बरु देशको एक इन्च पनि भूमि मिच्न नदिने प्रतिबद्धता जनाए ।

अहिले राष्ट्रियताका लागि एक हुने बेला आएको भन्दै उनले राष्ट्रियता, देश र जनताको स्वाधिनता, वास्तविक शान्ति र समृद्धिका लागि जनमत संग्रहमार्फत जनतालाई नयाँ व्यवस्था चुन्ने अधिकार दिनुपर्ने बताए । शान्तिपूर्ण ढंगले नेपाललाई परिवर्तन गर्ने भनेर आफूहरुले जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको माग राखेको भन्दै यसलाई कमजोर नठान्न आग्रह गरे ।
३ बुँदे सहमति केपी ओलीसँग मात्र होइन यो राज्यसँग गरिएकोले सबै सहमतिका बुँदा अक्षरंश कार्यान्वयन गर्न माग गरे । विगत जनयुद्ध सुरु हुनुअघि आफूहरुले शान्तिपूर्ण रुपले ४० बुँदे माग राखेको र त्यसलाई अहिलेकै प्रधानमन्त्री देउवाले कमजोर ठान्दा देशले जनयुद्ध भोग्नु परेको भन्दै अहिले त्यही इतिहास नदोहोरिओस् भनी चेतावनी दिए ।


उक्त विरोध सभाको सञ्चालन अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाहीले गरेका थिए । सभा सुरु हुनुअघि जयसिंह धामी हत्याको विरोधमा सुन्धाराबाट सुरु भएको नाराजुलुससहितको प्रदर्शन बजार परिक्रमा गरेर रत्नपार्कस्थित शान्तिबाटिकामा विरोधसभामा परिणत भएको थियो ।

यस्तै भारतीय एसएसबीद्वारा दार्चुलामा जयसिंह धामी हत्याको विरोधमा नेपाल कम्युनिष्ट पार्टी दाङले सोमबार तुलसीपुरको विपी चोकमा विरोध सभा सम्पन्न गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले जनताको मतलाई निर्णायक मान्ने भए जनमतसंग्रह घोषणा गर्न संसदीय दलहरुलाई चुनौती दिए ।


इन्चार्ज शितलले केही प्रतिक्रियावादी, दक्षिणपन्थी, अवसरवादी र संसदवादीहरुले कम्युनिस्टलाई जनताको मत लिन तयार नहुने भन्ने हल्ला गर्ने गरेको प्रति आपत्ति प्रकट गरे । उनले भने, –‘आउनुहोस विदेशीको हस्तक्षेप नहुने गरि संयुक्त प्रगतिशील सरकार बनाएर जनमतसंग्रहमार्फत व्यवस्था छान्ने चुनाव गरौँ, जनमत कसले प्राप्त गर्छ थाहा हुन्छ ।’
नेकपा जिल्ला इन्चार्ज समेत रहेका नेता शितलले दार्चुलामा भएको अमानवीय, घोर निन्दनीय घटनाका दोषीलाई कार्वाही गर्न,उचित क्षतिपूर्ति सहित बेपत्ताको तत्काल अवस्था सार्वजनिक गर्न माग गरे । उनले बारम्बार भारतिय साम्राज्यवादले नेपाली नागरिक र नेपालको राष्ट्रियता माथी धावा बोलिरहेको भन्दै अब निर्णायक लडाइ लड्न सबै राष्ट्रवादी, देशभक्त नेपालीहरु एकजुट हुन अपिल समेत गरे । नेता शितलले यो दलालहरुको व्यवस्थाबाट राष्ट्र र राष्ट्रियताको रक्षा नहुने भन्दै वास्तविक शान्ति, समृद्धि, स्वाधीनता, जनताको अधिकार प्राप्तिका लागि वैज्ञानिक समाजवाद स्थापनाको विकल्प नरहेको जिकिर गरे ।

उनले वैज्ञानिक समाजवाद प्राप्तिका लागि पार्टीले जनमतसंग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिने राजनीतिक कार्यनीति लिएको स्पष्ट पारे ।
विरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपले देश, जनताको पक्षमा संघर्ष गरेकै कारणले दलालहरुले प्रतिबन्ध लगाएको बताए ।सेक्रेटरी प्रदिपले प्रतिबन्ध लगाएर आफुहरुलाई समुल नष्ट गर्ने नीति राज्यले अख्तियार गरेको पनि बताए । उनले भने, –‘हामीलाई सिध्याउने प्रयास गरेकै हुन् तर हामीसंग पनि आफ्नै मौलिक क्रान्तिको कार्यदिशा थियो ।’
उनले आफुहरुले वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गरि नेपाली जनतालाई समृद्धिको बाटोमा लैजान चाहेको बताए । सेक्रेटरी प्रदिपले यो व्यवस्थालाई समुल नष्ट नगरेसम्म गोबिन्द गौतम र जयसिंह धामीहरु जस्ता युवाहरु मारिनुपर्ने अवस्था जारी रहने भन्दै यो व्यवस्थाको विकल्पमा जनताको वैज्ञानिक समाजवाद स्थापना अपरिहार्य आवश्यक्ता रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रिय संयोजक पाटनले भारतीय साम्राज्यवादका विरुद्धको लडाइमा खरानी हुने तर साम्राज्यवादिहरुसंग नझुक्ने बताए ।नेपाली नागरिकलाई बेपत्ता पार्ने, हत्या गर्ने जस्ता जघन्य अपराध हुदा समेत यो राज्य चुइक्क बोल्न नसकेको प्रति घोर आपत्ति प्रकट गर्दै संसदवादी दलहरु जनतालाई शोषण, दमन मात्रै गर्न जानेको बताए ।
संयोजक पाटनले एमसीसी पास गर्ने धृष्टता नगर्न राज्यलाई चेतावनी दिए । एमसीसी सम्झौता राष्ट्रको हितमा नभएको, नेपाली जनताहरु यसको विरुद्धमा भएकाले सम्झौता खारेज गर्नुपर्ने संयोजक पाटनको भनाइ थियो । विरोध सभा कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर इन्चार्ज विकासले गरेका थिए ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले हेटौँडामा भारतीय सुरक्षा बल एसएसबीले तुईन काटी गरेको जयसिंह धामीको हत्या गरेको विरुद्धमा विरोध सभा कार्यक्रम सम्पन्न गरेको छ ।


वन विज्ञान संस्थान हेटौँडाको प्राङ्गणबाट सुरु भएको विशाल र्याली सीमाचोक हुँदै बुद्धचोकमा विरोध सभामा परिणत भएको हो । पश्चिम नेपाल दार्चुला जिल्लाको व्यास नगरपालिका स्थित बसोबास भएको एक नेपाली नागरिक जयसिंह धामी तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले शुक्रबार तुइन काटी अमानवीय हत्या गरेको थियो । विरोध सभा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले जयसिंह धामीको अमानवीय हत्याको घोर निन्दा सहित भर्त्सना गरेका छन् । आफ्नो देशको नागरिक जयसिंह धामीले आफ्नै आँगनमा विदेशीको हातबाट ज्यान गुमाइरहँदा पनि नेपाल सरकार नतमस्तक भएर बसिरहेकोप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । अब नेपाल सरकारले सीमा सुरक्षामा कडाइ गर्नुका साथै आम नेपाली जनता र स्वाधीन राष्ट्रको स्वतन्त्रता बचाइराख्न आवश्यक कदम चाल्नुपर्ने र विदेशीको इसारामा नाच्न बन्द गर्नुपर्ने पनि बताए । यो दलाल संसदीय व्यवस्था र यसका पूजारीजनले देश र जनताको माग, मुद्धा र एजेण्डाको सम्बोधन नगर्ने भएकाले नेपाल कम्युनिस्ट पार्टीले यसको विकल्प वैज्ञानिक समाजवाद अघि सारेको बताए । चौतर्फी दृष्टिकोणले असफल सिद्ध भएको संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न आम नेपाली जनता एकचोटी भए जनमतसंग्रहमा जानुपर्ने बताए ।
त्यस्तै कार्यक्रमको सम्बोधनकै क्रममा नेकपा मकवानपुरका सेक्रेटरी वाटरले उक्त घटनाको न्यायोचित छानविन गरी पीडित पक्षलाई न्याय दिनुका साथै ज्यान गुमाएका जयसिंह धामीलाई सहिद घोषणा गर्न र पीडक पक्ष अपराधीलाई कडा कारबाही गर्न सरकार समक्ष दमदार माग गरेका छन् । यदि उक्त मागको समयमै उचित सम्बोधन नगरे आम नागरिक र राष्ट्रिय स्वाधीनताको रक्षाका निमित्त सडक संघर्षलाई अझ सशक्त ढंगले अघि बढाउने उद्घोष पनि गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देहीको आयोजनामा भारतीय एसएसबीद्वारा दार्चुलामा भएको जयसिंह धामीको हत्याको विरुद्धमा बुटवलमा विरोध सभा सम्पन्न भएको छ ।
सभालाई सम्बोधन गर्दै नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले जयसिंहको हत्या निर्मम तरिकाले भएको भन्दै भारतीय साम्राज्यवादी हस्तक्षेप विरुद्ध प्रतिकारमा उत्रिन आग्रह गरे । उनले जयसिंहको हत्या प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर्न र उनको परिवारलाई उचित प्रकारको राहत प्रदान गर्न माग गरे । उनले बारम्बार भइरहने विदेशी साम्राज्यवादी हस्तक्षेपको अन्त्यका लागि नेपालका दलाल संसदीय व्यवस्थाका मतियारहरूलाई निमित्यान्न पारी वैज्ञानिक समाजवादी राज्य सत्ताको स्थापना अपरिहार्य भएको बताए । उनले देशको हित विपरीत हुने कुनै पनि राष्ट्रघाती सम्झौता आफूहरूलाई स्वीकार्य नरहेको भन्दै राष्ट्रिय स्वाधीनता र रक्षाका लागि आफ्नो पार्टीले हरेक प्रकारका सङघर्ष र आन्दोलन गरिरहेको बताए ।
विश्वासले वर्तमान संसदवादी दलका नेताकार्यकर्ताहरू कुर्सीको लागि विदेशीको आडमा लम्पसार परेको बताए । भारतीय साम्राज्यवादी हस्तक्षेपका विरुद्ध देशव्यापी आन्दोलनको आँधीहुरी सिर्जना गर्नुपर्ने बताउँदै विश्वासले दलाल सत्तालाई बदल्नुपर्ने बताए । उनले वैज्ञानिक समाजवादी व्यवस्थामा शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात राज्यको दायित्व हुने बताए । उनले एकपटक नेपाली जनतालाई व्यवस्था बदल्ने अधिकार दिनुपर्ने बताए । उनले आफ्नो पार्टीले अगाडि सारेको पार्टीको नयाँ कार्यनीति अर्थात् प्रगतिशील संयुक्त सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवादको कार्यक्रममा साथ दिन आम नेपाली जनसमुदायलाई अपिल गरे ।
कार्यक्रममा भारतीय साम्राज्यवाद मुर्दावाद !, सिमानामा भारतीय ज्यादती बन्द गर !, लिपुलेक कालापानी हाम्रो हो !, नेपाल र नेपाली माथिको हत्या हिंसा बन्द गर !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !, एकीकृत जनक्रान्ति जिन्दावाद !, वैज्ञानिक समाजवजाद स्थापना गरौँ !, दलालहरू होसियार !, जयसिंहको परिवारलाई उचित क्षतिपुर्ति दे ! लगायतका नाराहरू लगाइएको थियो ।
विरोध सभा कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृति लगायत जिल्ला स्तरीय नेता कार्यकर्ता, विद्यार्थी, पत्रकार, बुद्धिजिवी, व्यापार–व्यवसायी, सुरक्षाकर्मी लगायतको ठूलो मात्रामा उपस्थिति रहेको बताइएको छ ।
कार्यक्रम नेकपाका जिल्ला सदस्य तथा बुटवल नगर सेक्रेटरी विरेन्द्रको संचालनमा सम्पन्न भएको थियो ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले दार्चुला घटनाको विरोधमा झलारीमा सोमबार विरोध सभा गरेको छ ।
सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला इञ्चार्ज ओम प्रकाश पुनले जयसिंह धामीको रहस्यमय हत्या भारतीय साम्राज्यवादको उपज बताएका छन् । पुनले धामीको हत्याले देशको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, सार्वभौम स्वतन्त्रता, राष्ट्रिय अस्मितामाथि नाङ्गो हस्तक्षेप भएको भन्दै यसको सशक्त प्रतिरोधमा उत्रने चेतावनी दिएका छन् । उनले अहिलेकै यहि पूँजीवादी दलाल संसदीय व्यवस्थाले नागरिकको सुरक्षा, जिउधनको रक्षा हुन नसक्ने र यसको दीर्घायु, अपरिहार्य निकास भनेको वैज्ञानिक समाजवाद भएको बताएका छन् । जसको स्थापनाका लागि पार्टीले लोकतन्त्रको सर्वोत्तम अधिकार प्रयोग गर्दै जनमत संग्रहमा जाने वातावरण सिर्जना गर्न आम नागरिक तथा पार्टी पंक्तिलाई अपिल पनि गरेका छन् । प्रमुख अतिथि पुन रहेको उक्त सभामा अध्यक्षता जिल्ला सचिव रमेश परियार ले गरेका थिए भने कार्यक्रम सञ्चालन युवा संगठन नेपालका केन्द्रीय सदस्य भुवन कुंवरले गरेका थिए ।

 

यसैगरी नेपाल कम्युनिस्ट पार्टी पोखराले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी) ले तुइन काट्दा भएको जयसिंह धामी मृत्यु प्रकरणमा भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत आयोजनामा गरेको उक्त विरोध प्रदर्शन कार्यक्रम मानबअधिकार चोकबाट शुरू भएर महेन्द्रपुल हुँदै बजार परिक्रमा गरेर चिप्लेढुङ्गा स्थित बिपि चोकमा सभामा परिणत भएको थियो । यस्तै विरोध र्‍यालिमा जयसिंहलाई न्याय दे, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर , वैज्ञानिक समाजवाद जिन्दावाद, राष्ट्रघाती एमसिसी सम्झौता मुर्दावाद लगायतका नारा लगाइएको थियो ।

विरोधसभालाई नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्ला सदस्य काजी गुरुङले सम्बोधन गरेका थिए भने कार्यक्रम सञ्चालन कास्की जिल्ला सदस्य तथा पोखरा महानगर सेक्रेटरी बद्रीले गरेका थिए । सभालाई सम्बोधन गर्दै जिल्ला सदस्य गुरुङले संसदिय व्यवस्था कायम रहुन्जेल जनताले दुख पाइरहने र जयसिह धामीको जस्तै घटना नघट्ला भन्न नसकिने भन्दै अबको नेपाली जनताको भाग्य र भविष्यको बाटो वैज्ञानिक समाजवादको बाटो रहेको ठोकुवा गरे । भारतीय हस्तक्षेप र दादागिरी कुनै पनि हालतमा सह्य नहुने भन्दै सबै नेपाली जनताले यसको विरोधमा उत्रिन आह्वान गरे ।

बाँकेमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य उदय चलाउने दिपकले सिमा क्षेत्रमा पर्खाल लगाउने समाजवाद चाहिएको बताए ।
भारतीय सुरक्षा बल एसएसबीले जयसिंह धामीलाई तुईन तर्दा तुईन चुडाएर वेपत्ता पारेको घटनाको विरोधमा सोमबार नेपालगंजमा भएको सभालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य दिपकले वर्क प्रमिड भिसाको लागु गर्ने देखि सिमा क्षेत्रमा पर्खाल लगाउने समाजवाद नेपालमा आवश्यक भएको बताए ।

 

जयसिंह धामीलाई अमानविय तवरले वेपत्ता पारेको घटनाको कडा विरोध गर्दैे उनले भारतीय पक्षको अत्याचारका विरुद्ध नेपालीहरु एक हुनु पर्ने धारणा राखे ।
जयसिंह धामीको घटनामा सहभागी अपराधीलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्ने भन्दै पीडित परिवारलाई उचित क्षेतिपुर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।
वाँके वर्दिया जिल्ला ईन्चार्ज समेत रहेका दिपकले आफ्नो पार्टीले उठाउदै आएको वैज्ञानिक समाजवाद भनेको शिक्षा, स्वास्थ्य, रोजगार र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्ने व्यवस्था भएको बताए । वार्ता टोलीका सदस्य पनि रहेका दिपकले सरकार जुनसुकै भएपनि तीन बुँदे सहमति कार्यन्वयन गर्नु पर्ने बताए ।

त्यसैगरी भारतीय एसएसबीद्वारा दार्चुलामा जयसिंंह धामीको हत्याको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले विरोधसभा गरेको छ । सिन्धुपाल्चोकको खाडीचौर बजारमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोका जिल्ला सचिव युगीनले अहिलेको दलाल संसदीय सत्ताका मतियारहरुले घटनाको दोषीलाई सत्यतथ्यसहित बाहिर ल्याउन डराएको र जयसिंह धामीको हत्यारा पन्छ्यान विभिन्न वक्तव्यबाजी गरि ढाकछोप गर्न खोजेको बताएका छन् । युगीनले नेपाल र नेपाली माथिको भारतीय दादागिरी एउटा स्वाभिमान नेपाली, नेपाल कम्युनिस्ट पार्टीलाई कहिल्यै पनि सह्य नहुने भन्दै यसको प्रतिरोधको लागि एकीकृत जनक्रान्ति बाटोमा लामबद हुन पनि अपिल गरे । यो संसदीय दलाल पुजीवादी व्यवस्थाबाट जनताको रक्षा र मुक्ति सम्भव नभएकोले अब नेपाली जनताले जनमतसंग्रहमार्फत वैज्ञानिक समाजवादी व्यवस्था चुन्न पाउनु पर्ने माग गरे ।
विरोध सभा हुनुअघि नाराजुलुससहित खाडीचौर बजारको परिक्रमा गरिएको थियो । कार्यक्रमको संचालन युवा संगठन नेपालका जिल्ला संयोजक सुमनले गरेका थिए । कार्यक्रममा सहभागीहरुले एकीकृत जनक्रान्ति जिन्दावाद, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपालीमाथि हत्या, हिंसा बन्द गर, लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो, भारतीय सिमाना ज्यादती बन्द गर, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद जस्ता नारा लगाएका थिए ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला संगठन समितिले भारतीय एसएसबीले तुइन काटेर जयसिंह धामीको हत्याको विरोधमा २ ठाउँमा विरोध सभा गरेको छ । शैलुङ गाउँपालिका वडा नम्बर ७ मा भएको सभालाई जिल्ला सदस्य सोम पाख्रिनले सम्बोधन गरेका थिए भने कार्यक्रम युवा संगठनका जिल्ला संयोजक भरत घिसिङले सञ्चालन गरेका थिए । सभालाई सम्बोधन गर्दै यहि संसदीय व्यवस्थाका कारण जय सिह धामीले जस्ता भारतीय सिमामा दैनिक कयौं नेपालीले ज्यान गुमाएका छन् । त्यसैले भारतीय साम्राज्यवादका हैकमका विरुद्ध सबै एक हुनुपर्ने बताए । विरोध कार्यक्रम कालिन्चोकमा पनि भएको थियो ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी नवलपुरद्वारा देवचुली नगरको सिजीमा भारतीय सिमा सुरक्षाबल (एसएसबी) द्वारा महाकाली नदी तर्ने क्रममा तुइन काटेर जयसिंह धामीको हत्या गरेको विरुद्धमा विरोध सभा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेकपा नवलपु जिल्ला सेक्रेटरी शितलले जबसम्म देशमा पुँजीवादी दलाल संसदीय व्यवस्था रहन्छ तबसम्म राष्ट्रियता खतरामा रहिरहने बताए । उनले यसको समाधान वैज्ञानिक समाजवादले मात्र हल गर्ने बताए । उनले संसदीय व्यवस्था अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना अनिवार्य भएको बताए । उनले वैदेशिक हस्तक्षेप आफूहरूलाई स्वीकार्य नरहेको भन्दै भारतीय ज्यादती विरुद्ध डटेर प्रतिरोध गर्न अपिल गरे ।
विरोध सभामा भारतीय साम्राज्यवाद मुर्दावाद !, जयसिंह धामिलाई न्याय दे !, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ !, दलाल संसदीय व्यवस्था मुर्दावाद !, एकीकृत जनक्रान्ति जिन्दावाद !, वैज्ञानिक समाजवाद जिन्दावाद ! लगायतका नाराहरू लगाइएको थियो । कार्यक्रमको संचालन युवा संगठन नेपाल नवलपुर जिल्ला अध्यक्ष अविनाशले गरेका थिए ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी झापाले दार्चुलाका ३२ वर्षिय युवा जयसिंह धामीको न्यायको माग गर्दै अमानवीय हत्याको विरूद्ध विरोध प्रदर्शन गरेको छ । भारतीय एसएसबीले नेपाली युवा जयसिंह धामीको अमानवीय हत्या गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले साउन १६ गते र आज १८ गते देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको थियो ।


दमकमा भएको उक्त विरोध र्‍यालीमा पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बू, पार्टी केन्द्रीय सदस्य एवम् इलाम जिल्ला इन्चार्ज सुमनसिंह पौडेल, जिल्ला सचिव प्रशान्त थापा, जिल्ला कार्यालय सचिव संजय राई लगायतका जिल्ला नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कोणसभालाई नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कार्यालय सचिव संजय राईले सञ्चालन गरेका थिए भने सभालाई केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुमन लिम्बूले सम्बोधन गरेका थिए । कार्यक्रम सञ्चालनका क्रममा भारतीय एसएसबीले अमानवीय तरिकाले हत्या गरिएका जयसिंहलाई सहिद घोषणा गर्न माग गरेका छन् । आफुहरूले देश र जनताको हितका लागि कुरा उठाउँदै गर्दा, जनताको जीवन रक्षाका निमित्त आवाज उठाउँदै गर्दै, साम्राज्यवादीहरूको विरोध गर्दैगर्दा सत्ता सञ्चालक दलालहरूले प्रतिबन्ध समेत लगाएको स्मरण गर्दै वैज्ञानिक समाजवाद प्राप्तिका निमित्त कटिबद्ध भएर लड्ने उद्घोष गरेका थिए ।
त्यस्तै कोणसभालाई सम्बोधन गर्ने क्रममा पार्टी केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले जयसिंह धामीको हत्याको सत्यतथ्य छानबिन गरी हत्यारा एसएसबीलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपाल र नेपालीमाथि पटकपटक भारतीयहरू हस्तक्षेप हुँदा समेत भारत र अमेरिकी साम्राज्यवादका दलाल नेताहरूले चुँइक्क नबोलि बसेको बताए । यो सत्ता र यसका सञ्चालक आफ्नो ढंगबाट नभएर विदेशी दलालहरूको इशारामा चलिरहेको बताउँदै यो संसदीय व्यवस्था पूर्ण रूपमा असफल भएको जिकिर गरे ।
भारतले आफ्नो नागरिकको हत्या गर्दा समेत सरकारले घटनाको छानबिन गर्न र सत्यतथ्य सार्वजनिक गर्न आलटाल गरेको भन्दै लिम्बूले आफ्नो नागरिक प्रति जिम्मेवारी बोध गर्न नसक्ने शेरबहादुर देउवा नेतृत्वको सरकारको राजिनामा माग गरेका छन् ।
हिजो विदेशीको इशारामा चलेको दलाल सरकारको संरक्षण गर्दै सडकमा प्रदर्शन गर्ने र केपी ओली “आइ लभ यु” भन्ने एमालेका कार्यकर्ताहरू आज आफ्नो देशको नागरिकको अमानवीय हत्या हुँदा कहाँ गए भन्दै उनले यो सत्ताको एकमात्र विकल्प वैज्ञानिक समाजवाद रहेको बताएका छन् । नेता लिम्बूले हिजो सुकुम्बासी जनताको भोटबाट जनप्रतिनिधि बनेकाहरू नै आज सुकुम्बासी बस्तिमा डोजर चलाउन लागिपरेको, गरिब, मजदुरहरूमाथि शोषण गरेको र दलालहरूको विरूद्व अब मजदुर सुकुम्बासीले विद्रोह गर्नुपर्ने र त्यसको नेतृत्व पार्टीले गर्ने बताएका छन् ।

भारतीय एसएसबीका कारण दार्चुलाका जयसिंह धामीको हत्या भएको भन्दै त्यसको विरोधमा नेकपाले सोमबार रुकुम पश्चिममा पनि प्रदर्शन गरेको छ ।

विरोध कार्यक्रममा बोल्दै नेकपाका जिल्ला इन्चार्ज डिल्लीराज शर्मा विश्वले जयसिंह धामीको हत्याको दोषीलाई कारबाहीको माग गरे । साथै भारतीय दादागिरी रोक्न नेपाल र नेपाली जनताको रक्षा गर्न वर्तमान राज्यसत्ताले नसकेको भन्दै नयाँ राज्यव्यवस्था बैज्ञानिक समाजवादको स्थापनाको लागि आफ्नो पार्टीले संघर्ष गरिरहेको बताए । त्यस्तै राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति सबै नेपाली एकजुट हुनुपर्ने पनि बताए ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यक्रम अनुसार मुसिकोट खलंगामा सम्पन्न विरोध सभाको अध्यक्षता सेक्रेटरी चन्द्रबहादुर बुढाले गरेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला सचिवालय सदस्य मोतीराम खड्काले गरेका थिए ।

यसैबिच उक्त दार्चुला घटनाको बिषयमा नेपाल कम्युनिस्ट पार्टी आठबिसकोट नगरसमितिले पनि राडी बजार विरोध सभा सम्पन्न गरेको छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी बर्दियाले दार्चुलामा तुईन मार्फत महाकाली नदि पार गर्ने क्रममा भारतिय सिमा सुरक्षा बल एसएसबीले तुईन काटिदिएपछि महाकाली नदिमा खसेर जयसिंह धामीको मृत्यु भएको घटनाको विरोधमा र्यालीसहित विरोध सभा सम्पन्न गरेको छ । गुलरिया बस पार्कदेखि सहिद चोकसम्म निस्किएको विरोध र्याली राधाकृष्ण चोक पुगेर सभामा परिणत भएको थियो । उक्त घटना नेपाली माथी भारतिय पक्षको क्रूर ज्यादती भएको बताउदै नेकपा केन्द्रिय सदस्य तथा बाँकेरबर्दिया इन्चार्ज दिपक चलाउने उदयले नेपाली माथि हुने यस्ता प्रकारका ज्यादती तत्काल बन्द गर्न चेतावनी समेत दिएका छन् । उक्त बिरोध सभा कार्यक्रमको संचालन विशेष कमिटी सदस्य विकास ले गरेका थिए भने कार्यक्रममा जिल्ला सेक्रेटरी गणेश चौधरी, अखिल (क्रान्तिकारी) बर्दिया जिल्ला इन्चार्ज लोकेश राज जोशी, गुलरिया नगर इन्चार्ज धर्ती, बासगढी नगर इन्चार्ज शक्ति, बडैयाताल गाउँपालिका इन्चार्ज राजेन्द्र, अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष हरि प्याकुरेल लगायत सयौं जनसमुदायको उपस्थिति रहेको थियो ।

त्यस्तै नेकपा कालिकोटले विरोध सभा सम्पन्न गरेको छ । सदरमुकाम मान्ममा संयुक्त जनवर्गिय संगठनहरुको आयोजनामा विरोध सभा गरिएको थियो । मान्म बजारमा गरिएको विरोध सभालाई सम्बोधन दलित मुक्ती मोर्चाका केन्द्रीय सचिवालय सदस्य पदम विक लगायतले गरेका थिए । वक्ताहरुले दार्चुलाको घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कडा कार्बाही गर्न माग गरेका छन् । यदी घटनाको ढाकछोप गरेर भारतको बचाउ गरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका
छन् ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी रोल्पाले दार्चुलाका जयसिङ धामीको हत्याको विरुद्धमा लिवाङमा बिरोध सभा सम्पन्न गरेको छ ।
अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष हरि बहादुर वलीको संचालनमा सुरु भएको विरोध सभाका प्रमुख अतिथि निवर्तमान जिल्ला सेक्रेटरी शोभाराम राना रहेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी अछामले पनि दार्चुला जिल्ला व्यास गाउँपालिकाका बस्ने जयसिंह धामीको भारतीय सिमा सुरक्षा बल (एसएसबी) द्वारा श्रावण १५ गते महाकाली नदीमा तुईन तरेर रोजगारीको सिलसिलामा भारत जाने क्रममा तुईनको तार काटेर हत्या गरेको विरोधमा विरोध सभा गरेको छ ।

सभामा प्रमुख वक्ताको रुपमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सेनाले मृतक जयसिंह धामीप्रति श्रद्धाञ्जली अर्पण गर्दै जयसिंह धामीको भारतीय सिमा सुरक्षा बल एसएसबीद्वारा गरिएको हत्या निन्दनीय भएको भन्दै नेपाल सरकारले दोषी एसएसबीलाई अन्तराष्ट्रिय कानुन अनुसार कारबाही गरि न्याय दिलाउनु पर्ने बताए । नेपाल सरकार राष्ट्र, राष्ट्रियता र स्वाधिनताको विषयमा गंभीर नरहेको, भारतसँग भएका विभिन्न असमान सन्धि, सम्झौताका कारण नेपाल र नेपालीले दुःख पाएको भन्दै तत्काल खारेज गर्न माग गरे ।

त्यसैगरी नेकपा नुवाकोटले पनि भारतीय एसएसबीद्वारा दार्चुलामा जयसिङ धामीको हत्याको विरोध र राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै विदुर बजारमा र्याली निकाल्दै विरोधणसभा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा केन्द्रिय सदस्य जिल्ला इन्चार्ज विन्दुले सम्बोधन गरेका थिए ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी) ले तुइन काट्दा भएको जयसिंह धामी मृत्यु प्रकरणमा भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन गरेको छ ।

स्याङ्जाको वालिङ नगरपालिका स्थित वालिङ बजारमा नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले जयसिंह धामी हत्या प्रकरणमा विरोध प्रदर्शन गरेको हो ।
कार्यक्रममा नेकपा स्याङ्जा जिल्ला सदस्य तथा वालिङ नगरपालिका इन्चार्ज सागरले सम्बोधन गर्दै भारतीय सेनाबाट भएको यस्तो खालको अमानवीय घटना निन्दनीय रहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरे ।

नेपाल कम्युनिस्ट पार्टी चितवनले पनि दार्चुलामा तुईनमार्फत महाकाली नदि पार गर्ने क्रममा भारतिय सिमा सुरक्षा बल एसएसबीले तुईन काटिदिए पछि महाकाली नदिमा खसेर जय सिंह धामीको मृत्यु भएको घटनाको विरोधमा विरोध र्‍यालीसहित विरोधसभा सम्पन्न गरेको छ ।

नेकपाको केन्द्रिय कार्यक्रम अनुसार भरतपुरको चौबीसकोठिबाट निस्किएको विरोध र्‍याली विरेन्द्र क्याम्पस गेटमा पुगेर सभामा परिणत भएको थियो । नेकपाले यस घटना नेपाली माथी भारतिय पक्षको क्रूर ज्यादती भएको बताएको बताउदै सिमामा नेपाली माथि हुने यस्ता प्रकारका ज्यादती तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टीले पश्चिम नवलपरासीको रामग्राममा विरोध प्रदर्शन गरेको छ ।

भारतीय बाटो हुदै दार्चुलाको सदरमुकाम जाँदै गर्दा महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल ९एसएसबि ०ले तुइनको तार काट्दा नदिमा बेपत्ता भएका जयसिङ धामीको घटना विरुद्ध नवलपरासीमा बिरोध प्रदर्शन गरेको हो ।

रामग्राममा भएको कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी पश्चिम नवलपरासीको जनसरकार प्रमुख रामप्रीतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :