सरकारले सहमति कार्यान्वयन नगरे सङ्घर्ष : नेकपा

सरकारले सहमति कार्यान्वयन नगरे सङ्घर्ष : नेकपा

हेटौँडा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्लाका इन्चार्ज नयनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलासुस्ती गरिरहेको प्रस्ट पार्दै सहमतिप्रति सरकार इमानदार नभएमा पार्टी सङ्घर्षमा उत्रिने बताएका छन् । सङ्घर्षको परिणामको जिम्मेवार पनि सरकार आफैँ हुनुपर्ने उनले बताएका छन् ।

नेकपा मकवानपुरको १७ औँ पूर्ण बैठकका प्रमुख अतिथि नयनले जनमतसङ्ग्रह हुँदै वैज्ञानिक समाजवादसम्म पुग्नका लागि पार्टीका सबै नेता-कार्यकर्ता पार्टीको कार्यदिशा र रणनीतिप्रति स्पष्ट भई जनतामाझ जिम्मेवारीका साथ जानुपर्ने बताएका थिए ।

जिल्ला सेक्रेटरी वाटरको अध्यक्षतामा हेटौँडामा २७ गते सुरु भएको बैठक सोमबार सकिएको नेकपा मकवानपुरले जनाएको छ । बैठकमा पूर्वजिल्ला इन्चार्ज तथा वर्तमान जिल्ला सेक्रेटरी वाटरसहित सम्पूर्ण जिल्ला सदस्यले पार्टीका जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य नयनलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

बैठकले १५ जना नयाँ जिल्ला सदस्य थप गरेको जनाइएको छ । नयाँ जिल्ला सदस्यलाई इन्चार्ज नयन, सेक्रेटरी वाटरसहित सचिवालय सदस्यहरूले स्वागत गरेका थिए । बैठकमा जिल्ला सदस्यहरुले आआफ्नो कार्यक्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :