पेट्रोलियम पदार्थको मुल्यबृद्धि र सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा प्रदर्शन

पेट्रोलियम पदार्थको मुल्यबृद्धि र सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा प्रदर्शन

काठमाडौँ:  नेपाल कम्युनिष्ट पार्टी निकट संयुक्त जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थको मुल्य बृद्धि र चितवनकी युवती सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा आज काठमाडौँमा संयुक्त विरोध प्रदर्शन गरेका छन् ।

माइतीघरस्थित सडकमा भएको विरोध प्रदर्शन कार्यक्रममा सहभागीहरुले चर्को नाराबाजीसहित पेट्रोलियम पदार्थको मुल्य बृद्धि तत्काल फिर्ता गर्न र चितवनकी युवती सुजिता भण्डारीको रहस्यमय मृत्युको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग मुल्य बृद्धि फिर्ता गर, पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त कर खारेज गर, कालोबजारी नियन्त्रण गर, सुजिता भण्डारीको रहस्यमय मृत्युको अविलम्व छानबिन गर, महिला हिंसा बन्द गर, व्यापारीक सरकार मुर्दावाद, दलाल संसदीय व्यवस्थाले निकास दिदैन, वैज्ञानिक समाजवादी व्यवस्था जिन्दावाद, जनमारा सरकार खारेज गर, जनमत संग्रहमार्फत जनतालाई व्यवस्था चुन्ने अधिकार दिऔँ जस्ता चर्का नारा प्रदर्शनसहित विरोध सभा भएको छ ।

विरोध सभामा अखिल नेपाल महिला संघ क्रान्तिकारीका उपाध्यक्ष धिरेन्द्रा उपाध्याय ‘भृकुटी’, अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवि ढकाल लगायतले सम्बोधन गरेका थिए ।

विरोध सभामा बोल्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीका उपाध्यक्ष भृकुटीले कोरोना कहरले आम जनताको जनजीविका तहसनहस भएको बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर झन् जनताको ढाडमा महङ्गीको भारी थोपरिदिएको बताइन् । उनले भनिन्, –‘कोरोनाले कसैको गाँस खोसिदिएको छ, कसैको रोजगारी खोसिदिएको छ, जनताको खान पाउने नैसर्गिक अधिकार हराएको छ, जनता स्वास्थ्य उपचार पाउन सकेका छैनन् झन् सरकार र निगम कमिसन खाएर पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेका छन् यो तुरुन्त खारेज गरियोस् ।’

यो व्यवस्थाले महिलाहरुलाई सुरक्षा दिन सकेको नसकेको भन्दै नेतृ भृकुटीले भनिन्, –‘असार ११ गते चितवनकी सुजिता भण्डारी आफ्नो साथीको घर जाँदा आफू अपहरण परेको खबर गरिन् तर राज्यले सुरक्षा दिन सकेन, दिनदिनै हत्या हिंसाका घटना घटिरहदा पनि सरकार जनताको सुरक्षा दिन सक्दैन त्यसैले यो व्यवस्था असफल भएको छ, अब यो दलाल संसदीय व्यवस्था खारेज गरौँ, जनताको सुरक्षा गर्ने, गाँस, बास कपास शिक्षा स्वास्थ्य रोजगारीको ग्यारेन्टी गर्ने वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ । त्यस्तै विरोधसभामा बोल्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवि ढकालले जनताको जीवनलाई सकसपूर्ण बनाउने गरी बढाइएको पेट्रोलियम पदार्थको मूल्य तुरुन्त खारेज गर्न जोडदार माग गरे । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :