युद्ध मैदानमा अस्ताएको जीवनसाथीको स्मृतिमा

युद्ध मैदानमा अस्ताएको जीवनसाथीको स्मृतिमा

आज दिलकुमार पुन कमरेड ‘ज्वार’को शहादत भएको दिन हो । उहाँले २०६२ असार ११ गते आजकै दिन अर्घाखाँचीको खनदहमा तत्कालिन शाही सेनासँगको भिडन्तमा विरगति प्राप्त गर्नुभएको थियो । आज ठिक १६ वर्ष पुग्यो । हरेक स्मृतिमा केही त केही लेख्ने कोशिस गर्दछु । हातमा कलम समातेर बस्छु तर पनि शब्द फुट्दैन र लेख्नै सक्दिन ।

ज्वार सहिद हुनेबेला हाम्रो विवाह भएको पाँच वर्ष पुगेको थियो । उहाँको नासो छोरी विजया ज्योति पुन ३८ महिनाको थिइन् । हामी दुबैले विद्यार्थी संगठनबाट राजनीतिक जिवन शुरु गरेका थियौँ । संगठनमा आवद्धताका हिसाबले उहाँ म भन्दा जुनियर हुनुहुन्थ्यो । मेरो जिवनको सहयात्री बन्नुभयो । वर्ग संघर्ष र महान जनयुद्धको आवश्यकता तथा क्षमताले उहाँ जनमुक्ति सेनाको ब्रिगेड भिसि (विग्रेड सहायक कमाण्डर)को जिम्मेवारीमा पुग्नुभयो ।

हामीले युद्धको मैदानमा २०५६ चैत ४ गते पार्टी र अभिभावक साँक्षी राखेर रोल्पा जेलबाङको माझिबाङमा जनवादी विवाह गरयौँ । पार्टी र क्रान्तिका आवश्यकताले हाम्रा क्षेत्र फरक भए । म संगठनमै क्रियाशिल रहेँ भने उहाँ जनमुक्ति सेनामा । त्यसैले हाम्रो भौतिक भेटघाट पातलो हुन्थ्यो । हाम्रो पाँच वर्षे सहयात्रामा बढिमा एक सयदिन जति भेट भयो । त्यो पनि निकै छोटो समय मिल्थ्यो । क्रान्ति, पार्टी, आन्दोलन र जिम्मेवारीका कुरा मात्रै गर्ने । निकै कम बोल्ने गर्नुहुन्थ्यो । छोरी जन्मेपछि भने अलि छिटो-छिटो चिठीहरु पठाउने गर्नुहुन्थ्यो । ति पत्रहरु अझै सुरक्षित राखेकी छु । ति चिठीका भाषाले क ज्वार असल क्रान्तिकारी सँगै परिवारको जिम्मेवार सदस्य पनि हुनुहुन्थ्यो भन्ने बुझाउँछन् । उहाँको परिवारप्रतिको स्नेहका कारण आमा (असौजी पुन) को प्यारो छोरा बन्नुभएको थियो । अहिले आमा ९० बर्ष वरपरको हुनुहुन्छ । हामीसँग भेट्दा छोराको यादले आँखा रसाउनुहुन्छ । मैले कैयौँ पटक आमाको आँशु पुच्छदा खेरी नातिनी छ भनेर ठुलो मन गराउने प्रयास गर्छु ।

हामी आफ्नो विचार र उदेश्यमा निरन्तर अघि बढ्यौँ । हामीलाई क्रान्ति बाहेक अरु कुनै चिन्ता थिएन । उहाँले मलाई कहिल्यै दबाव र प्रभाव पार्न चाहानु भएन । जोडिहरुको कार्यक्षेत्र एउटै बनाउनुपर्छ भन्ने थियो । त्यसलाई इन्कार गरेर हामीले स्वतन्त्र ढंगले अघि बढ्यौँ । त्यसमा पनि उहाँले खुशीले साथ दिनुभयो र म अघि बढेँ । सधैँका भेटमा पार्टी, क्रान्ति, घरपरिवार र बच्चाका विषयमा छलफल गर्दथ्यौँ । परिवारलाई सुरक्षित गर्नुपर्छ, सबै परिवारलाई क्रान्तिमा सहभागी गराउनुहुन्न भन्ने थियो । तर उहाँले त्यसो गर्नुहुँदैन सबै होमिनुपर्छ भन्नुहुन्थ्यो । सबै सम्पती पार्टीको भन्ने भावना थियो । सबै सम्पती पार्टीकरण गर्ने भन्ने नीति थियो । त्यही अनुसार मैले सबै गहना पार्टीको महिला संगठनलाई बुझाएँ । सबै सम्पती पार्टीकरण गर्ने हाम्रो सहमति भएको थियो । त्यो सपना पुरा नहुँदै उहाँको शहादत भयो । आज १६ वर्ष पुग्दा परिस्थिति झन् कल्पनै नगरेको ठाउँमा पुगेको छ ।

कमरेड ज्वारसँगका सबै भेटहरु अविस्मरणीय छन् । एउटा भेटले अझ बढि मलाई छुने गरेको छ । रुकुम खारा कार्बाहीको तयारीमा रोल्पाको हान्डीङमा भेट्न गएँ । सहिद सुनिलले बोलाउनुभयो । म पहिल्यै खाना खाएर कोठामा पुगेकी थिएँ । उहाँले, ‘मायाले बोलायो मलाई, मायाले बोलायो’ गाउँदै आउनुभयो । अरु भन्दा त्यो भेट खास लाग्छ । अहिले त्यो गित कतै सुने भने पनि उहाँको याद आउँछ र भावुक हुन्छु । यो गीत बजेको सुन्दा कैयौँ पटक रोएकी छु । यो लेखिरहँदा पनि मन थाम्न सरिहेको छैन । त्यसैदिन हो, तपाई कतिवटा लडाईमा सहभागी हुनुभयो भनेर मैले सोधे, उहाँले लिस्ट बनाउनुभयो जम्मा जम्मी ३३ वटा रहेछ । अरुबेला मैले यसरी सोधेको थिइन । त्यसपछि खारा र खनदहमा लड्नुभयो । सायद त्यसदिन न सोधेको भए यति पनि थाहा पाउने थिएन । पछि त्यो लिस्ट साथीहरुले समाचारका लागि मागेपछि मैले फिर्ता गर्ने सर्तमा दिएँ तर अहिले सम्म पाएको छैन । अझै कोशिस गरीरहेको छु । उहाँको जीवनी लेख्ने धोको छ । छोरीको चाहना पनि छ । उहाँको बारेमा लेखिएको  २०६२ असारको जनादेश साप्ताहिक पाउन सकेको छैन । यदि कसैको साथमा छ मलाई यसै मार्फत् उपलब्ध गराउन अनुरोध गदर्छु । यदी कसैले त्यो अंकको पत्रिका पठाइदिनुभए हाम्रो परिवार निकै आभारी हुनेछौँ ।

जनयुद्धको यात्रा कठिन भएपनि त्यसले स्थापित गरेका सुन्दरपक्ष धेरै छन् । आर्थिक, सामाजिक र सांस्कृतिक विभेदहरुको अन्त्य गर्दै आधार इलाकामा जनसत्ता सञ्चालन गरिएको थियो । त्यहाँ आफ्नै अर्थ व्यवस्था, कृषि तथा शिक्षा नीति र सामाजिक मान्यताहरु थिए । उहाँ आधार इलाकामा पुग्दा घर आएको जस्तै खुसी हुनुहुन्थ्यो । आराम गर्न आधार इलाका आइपुगेको भन्नुहुन्थ्यो । हरेक भेटमा जनसत्ता स्थापना नहुँदासम्म आफ्नो भूमिकामा कमि आउन दिनुहुन्न भन्नुहुन्थ्यो । उहाँसँगको भेट र छलफलले सधैं नयाँ उर्जा पैदा गर्दथ्यो । थप सशक्त बनेर फिल्डमा जान्थे ।

अहिले समयले कोल्टो फेरेको छ । वार्ता १२ बुँदे सहमती हुँदै पार्टी शान्तिप्रक्रियामा आएको छ । पार्टीले विस्तृत शान्ति सम्झौता गरेर हतियार बुझायो । सेना तथा जनसत्ता विघटन गरेको छ । सबैभन्दा पिडा रगतले साटेर ल्याएको हतियार बुझाउँदाको दिन भयो । त्यस राती आमाछोरी बेस्सरी रोएका थियाैँ । पार्टी सरकारमा गएपछि नेतृत्वको व्यवहार बदलिँदै गयो । अन्तरसंघर्ष चर्किदै गयो । विचार र व्यवहारमा मत भिन्नता देखिदै गएपछि क्रान्तिकारीले विद्रोह गरे । क्रान्तिकारीहरुले क्रान्तिका उपलब्धीहरुको रक्षा र सहिदका सपना पुरा गर्न नयाँ मोर्चा शुरुवात गरे । त्यो मोर्चाको विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले गरेको छ । एकीकृत जनक्रान्ति मार्फत् क्रान्तिका बाँकी कार्यभार पुरा गर्न अगाडि बढेको छ । हामी क्रान्तिकै मार्गमा छौँ । हामी सहिद परिवार र पार्टीले बाटो विराएका छैनाैँ । अहिले एकीकृत जनक्रान्तिमा पनि १२ जना सहिद बनिसक्नु भएको छ । हामीले उहाँहरुलाई ज्वार लगायतका सहिदको सपना शाकार पार्ने योद्धाका रुपमा सम्मान गरेका छौँ । सहिदका सपना पच्छ्याई रहेका छौँ । क्रान्तिको बाटोमा लागिरहने छौँ । आज १६औँ  स्मृतिमा कमरेड ज्वार प्रति श्रद्धासुमन व्यक्त गर्दै उहाँले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :