नेकपा पाल्पाद्धारा पहिरो पीडितलाई राहत वितरण

नेकपा पाल्पाद्धारा पहिरो पीडितलाई राहत वितरण

पाल्पा : असार १ गते देखि ६ गते सम्म लगातार परेको भिषण बर्षाका कारण घर पूर्णरुपमा क्षति भई ज्यान घुमाउने पिडित परिवारलाई नेपाल कम्युनिस्ट पार्टी पाल्पाले राहत वितरण गरेको छ । पाल्पाको रिब्दिकोट गाँउपालिका स्थित वडा नं.४ मन्छिपमा रहेकी बिष्णु भट्टराई र महेन्द्र भट्टराईका दुई छोरा मध्ये एक छोरा १९ बर्षका मदन भट्टराईको असार १ गते साँझ ६ बजे तिर आएको पहिरोले बगाएको थियो । मदनकी आमा बिष्णु भट्टराई भने छिमेकीको घरमा दुध लिन गएको कारणले बच्न सफल भएको पिडित बिष्णु भट्टराईले बताउनुभयो । त्यति नै बेला छिमेकी घर सुनिता भट्टराईको घरमा पनि पहिरोले क्षति पुर्याएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीले उक्त पिडित परिवारको घरमा पुगेर चामल, नुन, तेल, दाल, मास्क र साबुन लगायतका सामाग्रीहरु वितरण गरेको छ । राहत वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा–गुल्मी जिल्ला ईन्चार्ज अपेक्षाले दुःख परेकाहरुलाई आँफुहरुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यस दुःखद् घडीमा शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्नुपर्ने भन्दै अपेक्षाले पिडित आमा बिष्णु भट्टराई र उहाँहरुलाई सान्त्वना दिदै मृतक मदन भट्टराई प्रति हार्दिक श्रद्धाञ्जलि र परिवारप्रति समवेदना प्रकट गरिन् । बुधबार आयाजित राहत वितरण कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभातले राज्यको गैर जिम्मेवारीका कारण बाढी नागरिकहरुले बर्सेनि अनाहकमा दुःख पाउनुका साथै ज्यान गुमाउनु परेको बताए । नेकपाले रिब्दिकोट गाँउपालिका वडा नं.२ देउरालीमा ९० घर धुरीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

कार्यक्रममा दुःखमा परेका पिडित परिवारले उद्दारका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरी आएर गएपछि अरु कसैले पनि वास्ता नगरेको बताए । पिडित परिवारहरु स्थानिय सरकार, राजनीतिक दल, समाजसेवी कोही पनि नआएको भन्दै भावविह्वल बनेका थिए । त्यसक्षेत्रमा घट्ना भएको दिनदेखी नै बिद्युत अवरुद्ध भएकोले अध्यारोमा बस्न बाध्य भएको उनीहरुले बताए । उनीहरुले भने हामीले बिजुली बत्तीका लागि स्थानीय सरकार देखि जिल्लामा समेत पुग्यौँ तर वेवास्ता गरियो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य नारायण केसी, अखिल(क्रान्तिकारी)का जिल्ला उपाध्यक्ष सुदिप विश्वकर्मा, नेपाल पत्रकार महासंघका मुक्ति गैरे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :