कोरोना भाइरसबाट ज्यान गुमाएकाहरूको स्मरणमा अर्घाखाँचीमा दिप प्रज्वलन

कोरोना भाइरसबाट ज्यान गुमाएकाहरूको स्मरणमा अर्घाखाँचीमा दिप प्रज्वलन

नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय सङ्गठन युवा सङ्गठन नेपाल र अखिल (क्रान्तिकारी) अर्घाखाँचीले मङ्गलबार कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरुको सम्झना स्वरुप दीप प्रज्वलन गरेको छ । युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार युवा सङ्गठन नेपाल र अखिल (क्रान्तिकारी) अर्घाखाँचीको संयुक्त आयोजनामा कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकको स्मरणमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दीप  प्रज्वलन कार्यक्रम गरिएको हो । साथै सङ्गठनले कोरोना संक्रमित भई उपचार गराइरहेका नागरिकहरुप्रति सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै भूमिकास्थान तथा सन्धिखर्क नगरपालिका पार्टी इन्चार्ज नवीन खड्काले कोरोना महामारीको जटिल परिस्थितिमा दलाल सरकारले जनतालाई कोरोना भाइरस विरुद्ध खोप उपलब्ध गराउनुको सट्टा संसदीय चुनाव घोषणा गरेर आफ्नो सत्ता जोगाउन लागि परेको बताए । उनले आफूहरुले जिल्ला प्रशासन कार्यालय, शिक्षा समन्वय, ६ वटै पालिका लगायत जिल्लाका १२ वटा कार्यालयहरुमा १२ बुँदे मागपत्र बुझाएको तर मागपत्रप्रति सम्बन्धित निकाय गम्भीर नभएको बताए । उनले सम्बन्धित निकायहरुलाई मागप्रति गम्भीर हुन अपिल समेत गरेका छन् । अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष बाबुराम एसकेले जनतालाई घरमा थुनेर नेपालका चुरे क्षेत्रहरुबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरेर भारतलाई बेच्न लागेको तर जनताहरु भोकभोकै मरिरहेको बताए । सरकारको यस्तो घिनलाग्दो र फोहोरी कार्यले नेपाली जनता सङ्कटमा परेकाले दलाल पुँजीवादी संसदीय व्यवस्थालाई सधैंका लागि अन्त्य गरेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए । कार्यक्रममा नेकपा अर्घाखाँची, युवा सङ्गठन नेपाल र पार्टी निकट अन्य जनवर्गीय सङ्गठनका थुप्रै नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :