बेपत्ता योद्धा पूर्ण पौडेलको खोजसभा कार्यक्रम पोखरामा सम्पन्न

बेपत्ता योद्धा पूर्ण पौडेलको खोजसभा कार्यक्रम पोखरामा सम्पन्न

कास्की : अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला समिति कास्कीद्वारा महान् जनयुद्धका वेपत्ता योद्धा पूर्ण पौडेलको खोजसभा कार्यक्रम सम्पन्न गरेको छ ।

पृथ्वीनारायण क्याम्पस पोखरामा आयोजित कार्यक्रममा पूर्ण पौडेलकी आमा मोतिमाया पौडेलले आजका दिनमै छोरालाई गिरफ्तार गरेर राज्यद्वारा बेपत्ता बनाइएको भन्दै हालसम्म छोराको अत्तोपत्तो नलागेको वर्षौ हुँदा पनि राज्यले कुनै पहल नगरेको भन्दै भक्कानिँदै आफ्नो छोराको खोजी गरीदिन आग्रह गर्नुभएको थियो । यस्तै उनले आफ्नो छोराले लिएको सपना अन्तिमसम्म पनि लागिरहने बताइन् ।

कार्यक्रममा कास्की जिल्ला इन्चार्ज उभारले आज १९ वर्षपछि पनि आफूहरूले पूर्ण पौडेल लगायत बेपत्ता योद्धाहरूको खोजी कार्य गरिरहेको र उहाँहरूकै सपना पूरा गर्न दृढ रुपमा लागिरहेको बताए । यस्तै उनले प्रतिक्रान्तिका बिरुद्ध हामीले क्रान्तिको झण्डा उठाउँदै सहिद बेपत्ता योद्धाहरूले देखाएकै बाटोमा रहेका कारण आफूहरूले नै पूर्ण पौडेल लगायत सम्पूर्ण बेपत्ताहरूको खोजी गर्ने जिम्मेवारी आफूहरूलाई रहेको बताए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सोम माया बिकले हजारौँ सहिद, बेपत्ताले कोरेको इतिहास र उहाँहरूको सपना पूरा नभएसम्म आफूहरू लडिरहने बताए ।

अखिल क्रान्तिकारी गण्डक व्युरो इन्चार्ज अटलले पूर्ण पौडेल अखिल क्रान्तिकारीका महासचिव हुँदा उहाँले वैज्ञानिक शिक्षा प्राप्तिका लागि गरेको योगदानको उच्च सम्मान् गर्दै उहाँले कोरेका बाटो र उहाँको सपनामा हामी निरन्तर लडिरहेको उल्लेख गरे ।

कार्यक्रमका अतिथि समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष नेत्र चापागाईंले हामी कसैले पनि जनयुद्धलाई भुल्न नहुने साथै जनयुद्धका क्रममा बेपत्ता हुनुभएका पूर्ण पौडेलकी आमा मोतीमाया पौडेल नथाकी निरन्तर लडिरहनु भएकोमा सम्मान् व्यक्त गरे ।

कास्की जिल्ला इन्चार्ज पुर्नजित पुन उभारको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा अखिल क्रान्तिकारी गण्डक संयोजक अटल, कास्की जिल्ला सेक्रेटरी विश्वास, लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रम अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश बास्तोलाको अध्यक्षतामा अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष पुरन पुनले सञ्चालन गरेका थिए भने कार्यक्रममा अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला समितिका अध्यक्ष उपेन्द्र परियारले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :