दलितमाथि दुर्व्यवहार गर्नेलाई गरिएको जनकारबाहीप्रति समर्थन : नेकपा

दलितमाथि दुर्व्यवहार गर्नेलाई गरिएको जनकारबाहीप्रति समर्थन : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले २०७८ बैशाख १ गते मध्यबिन्दु नगरपालिका वडा नं. ९, बसन्तपुरमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

नवलपुर जिल्ला सेक्रेटरी शीतलले शनिबार प्रेस विज्ञप्ति मार्फत् नयाँ वर्ष २०७८ बैशाख १ गते स्थानीयले गरेको वनभोज कार्यक्रममा सोही गाउँ निवासी बिष्णुप्रसाद भण्डारीले दीपक विश्वकर्मालाई दलित भएको भन्दै कथित जातको नाममा छुवाछूत र भेदभाव गरी अपमानजनक गाली, बेइज्जती र दुर्व्यवहार गर्दै सामूहिक भोजबाटै बहिस्कार गरेको घटना अत्यन्तै निन्दनीय र खेदजनक रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘२१ औँ शताब्दीमा पनि कथित जातीय छुवाछूतको नाममा गरिएको यसप्रकारको दुर्व्यवहार र घृणित कार्यप्रति पार्टी घोर निन्दा एवम् भत्र्सना गर्दछ । उक्त घटनापछि आक्रोशित स्थानीय जनताले निजमाथि सार्वजनिक रूपमा गरेको कारबाहीप्रति पार्टीले हार्दिकतापूर्वक समर्थन गर्दछ । उल्टो निज भण्डारीले प्रहरी प्रशासनमा झुटो उजुरी गरेको र प्रहरी प्रशासनबाट स्थानीय जनतालाई त्रसित पार्ने, वारेन्ट जारी गर्ने, झुठा मुद्दा लगाउने, पार्टी कार्यकर्ताको घरमा प्रहरी जाने र आतंकित पार्ने कार्य गरिरहेको हुँदा उक्त कार्य तत्काल बन्द गरियोस् र जातको आधारमा भेदभाव, छुवाछूत र दुर्व्यवहार गर्नेमाथि सम्बन्धित निकायबाट कडा कारबाही गरियोस् । उक्त घटनालाई राजनीतिक कारण बनाएर निर्दोष जनतालाई दुःख दिने कार्य गरिए जनताले अझ थप प्रतिरोध गर्न बाध्य हुनेछन् । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने कुरा जानकारी गराउँदछौ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :